दाङमा नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा सुत्केरी आमा पक्राउ परेकी छिन् । लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने चक्कुले नवजात शिशुको घाँटीमा प्रहार गरेको पाइएको छ ।
आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।घाइते शिशुलाई उपचारको लागि लमही अस्पतालमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।
सुत्केरी आमाले आफैले जन्मदिएको शिशुको हत्या प्रयास किन गरिन् भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आमामा केही दिनदेखि झोक्रिने, टोलाउने जस्ता समस्या देखिएको थियो ।
