कनकाई खबर \ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक हरिप्रसाद तिम्सिना निष्कासनको बिषयलाई लिएर दुई महिनादेखी क्याम्पसमा कार्यरत प्राध्यापक साथै विद्यार्थीहरुको आन्दोलनले निकास पाउँने भएको छ ।
प्राध्यापक तिम्सिनाको पुनर्वहालीको माग गर्दै कार्यरत प्राध्यापक र विद्यार्थी आन्दोलनको चौतर्फी विरोध आउँन थालेपछि समाधानका विषयमा स्थानीय स्तरमा भएको प्रयास सफल नभएपछि शुक्रवार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगरको संयोजकत्वमा भएको सर्वपक्षीय छलफलवाट समाधानका विषयमा केही महत्वपूर्ण निर्णय भएको वताइएको छ । भेलामा भएका निर्णयहरुमा क्याम्पसका उपप्राध्यापक हरिप्रसाद तिम्सिनाका विषयमा उत्पन्न विवादको विषय समाधानकालागि पौष १० गते हुने क्याम्पस सभामा लैजान अनुरोध गर्ने साथै क्याम्पसको सर्वोच्च निकायका रुपमा रहेको क्याम्पस सभामा भएको निर्णय बमोजीम कार्यान्वयन हुने भएको छ । क्याम्पसले हालै खुलाएको विज्ञापनहरु मध्ये अंग्रेजी विषयको एउटा पद बाहेकका लागि क्याम्पस सभाको निर्णय सार्वजनिक नहुन्जेल सम्म स्थगन गर्ने समेत निर्णय भएको वताइएको छ । क्याम्पसको पठनपाठन पूर्णरुपले आइतवारदेखी सुचारु गर्दै जाने साथै क्याम्पस व्यवस्थापन समितिका अध्यक्षमाथि विद्यार्थीहरुवाट भएको दुरव्यवहारका विषयमा विद्यार्थीहरुलाई माफि दिने लगायतका निर्णयमा सर्वपक्षीय सहमति भएको वताइएको छ । क्याम्पस सभाको निर्णय सार्वजनिक नहुन्जेल सम्म प्राध्यापक तिम्सिनाको स्थानमा वैकल्पीक व्यवस्था हुन सक्ने बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न भएको सर्वपक्षीय भेलामा झापाका प्रहरी प्रमुख दिनेशराज मैनाली, झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ, पुर्व सांसद प्रेम गिरी, नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपाका जिल्ला सचिव बिजय साम्पाङ्ग राई, कनकाई नगरका प्रवक्ता एवम् कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेल, क्याम्पस संचालक समितिका अध्यक्ष प्रकाश चुडाल, सदस्य विष्णुप्रसाद ओली, कांग्रेसका स्थानीय नेता टेकनारायण संग्रौला , गोपाल उप्रेती, नेकपा कनकाई नगर इन्चार्ज गोपाल प्रसाई, शिव ढुङ्गेल, राजकुमार फुयाल, रत्न श्रेष्ठ लगायातको उपस्थितीमा व्यापक छलफल भई क्याम्पस संचालनको सहमति बनेको वताइएको छ ।
क्याम्पसमा भएको समस्याको दिर्घकालिन समाधानकालागि जिल्ला प्रशासन कार्यालय झापामा भएको निर्णयलाई औपचारिक्ता दिँदै पठनपाठन सुचारु गर्नकालागि प्रमुख जिल्ला अधिकारी आइतवार सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा आउँने भएका छन् । समाचार स्रोतका अनुसार क्याम्पसको पठनपाठनको निरन्तरताकालागि सर्वपक्षीय भेलामा भएको निर्णयलाई प्रमुख जिल्ला अधिकारीले सम्वोधन गर्ने वताइएको छ । समस्या समाधानकालागि दुवै पक्षका विच वार्ता समिति गठन भएपनि संवाद हुन नसकेपछि अन्तिम निर्णयकालागि प्रमुख जिल्ला अधिकारी समक्ष जानुपरेको हो ।