कनकाई खबर \ खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाउँदै आएको छ ।
“खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढेको खेलकुद प्रतिष्ठानले समाज रुपान्तरणकालागि पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ \
यसै अवसरमा प्रतिष्ठानले वडा दशंै २०८० को फुलपातीका दिन कनकाई माविको खेलमैदानमा वृहत प्रतियोगितात्मक कनकाई सन्थाल मेलाको आयोजना गरेको छ । प्रतिष्ठानले सन्थाल संस्कृतिको समेत संरक्षण गर्ने उद्येश्यका साथ आफ्नो वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष वडादशैंको फुलपातीका दिन कनकाई सन्थाल मेलालाई निरन्तरता दिने जनाएको छ ।
सुरुङ्गामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराउँदै प्रतिष्ठानका तर्फबाट अध्यक्ष छवि थपलियाले प्रतिष्ठानले खेलकुदका गतिविधिहरु मात्रै नभएर अतिरिक्त क्रियाकलापका कार्यक्रम समेत संचालन गर्दै जाने योजना बनाएको बताए । यसै सन्दर्भमा लोप हँुदै गएको सन्थाल समुदायको संस्कृति संरक्षण एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ वडादशैको अवसर पारेर बृहत सन्थाल नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थपलियाले जानकारी दिए ।
खेलकुद प्रतिष्ठानको मुख्य उद्येश्य खेलकुदका गतिविधिसँग जोडिएको भएता पनि संस्था स्थापनाकालदेखि नै खेलका गतिविधि मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानका अध्यक्ष थपलिया बताउँछन् । यसै सन्दर्भमा लोपोन्मुख सन्थाल संस्कृतिको जगेर्ना गर्दै वडा दशैंको अवसरमा देशविदेशबाट चाडपर्व मान्न घरमा आएका स्थानीयवासीका लागि मनोरञ्जन समेत हुनेगरी कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
मेलाको संरक्षकका रुपमा रहेका कनकाई नगरपालिकाका प्रमुख तथा पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रकुमार पोखरेलले देशमा व्यापक रुपमा चर्चामा आएको पहिचानको विषयले प्राथमिकता पाइरहेको वर्तमान अवस्थामा सन्थाल जातीको उत्थान साथै संस्कृति संरक्षणमा समग्र कनकाई नगरबासीले देखाएको सक्रियतालाई निकै महत्वका साथ हेर्न सकिने बताएका छन् ।
हरेक जातजातिको आ—आफ्नै संस्कृति, परम्परा रहेको र त्यसको जगेर्ना गर्ने कुरामा नगरपालिकाले यस अघिदेखि नै सहयोग गर्दै आएको बताउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कुनैपनि जातजातिको भाषा लोप नहोस् भनेर नगरपालिकाले सोही अनुरुपको पाठ्यक्रम निर्माण गरी विद्यालय स्तरमा लागु गरेको जानकारी दिए । हाल नगर भित्र रहेका १५ जातजातिको आ—आफ्नै भाषाको कम्तिमा पनि २५/२५ शब्दावलीसहितको पाठ्यक्रम तयार गरेर यस बर्षदेखि साना कक्षाहरुमा पठनपाठन गराउन थालिएको समेत नगर प्रमुख पोखरेलले बताए ।
संघीयताको मर्मअनुसार कनकाई नगरपालिकाले विभिन्न जातजातीहरुलाई एकै साथ राखेर संरक्षण र विकास गर्ने प्रतिवद्धता जनाउँदै नगर प्रमुख पोखरेलले एउटा संस्कृति र परम्परा मान्दै आएको मानिसले अर्को संस्कृति एवं संस्कार भएको मानिसलाई सम्मान गर्ने परम्पराको विकास गर्न सकेमा मुलुक समृद्धिको बाटो तर्फ अघि बढ्ने जनाएका छन् ।
प्रतियोगितात्मक सन्थाल मेलाकालागि हाल झापासहित मोरङ र सुनसरीका समेत विभिन्न स्थानमा बसोबास गर्दै आएका सन्थालहरुले समूह दर्ता गरिरहेको बताइएको छ । प्रतियोतिामा २५ वटा सम्म सन्थाल समूहको सहभागिता रहन सक्ने अनुमान गरिएको मेला संयोजक भुवन खतिवडाले जानकारी दिए । प्रतियोगितात्मक सन्थाल मेलामा निर्णायकको भुमिकामा सन्थाल समूहबाटै दुई जना र अन्य तीन जना गरी पाँच सदस्यीय निर्णायक समिति रहने बताइएको छ ।
प्रतियोगितामा पुरस्कार स्वरुप प्रथमले नगद ३२ हजार, द्वितीयले नगद २७ हजार, तृतीयले नगद २३ हजार , चौथोले नगद २० हजार र पाचौंले १८ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार समेत प्रदान गरिने पत्रकार भेटघाटमा संयोजक खतिवडाले बताए ।
मेला सम्पन्न गर्नका लागि ३ लाख ७५ हजार रुपैंया खर्च लाग्ने अनुमान गरिएको प्रतिष्ठानकी कोषाध्यक्ष चित्रा श्रेष्ठले जनाएकी छन् । जसका लागि कनकाई नगरपालिकाबाट २ लाख , संघीय सांसद एल.पी.साँवाबाट प्रथम पुरस्कार प्राप्त हुने जनाइएको छ । त्यस्तै तेस्रो पुरस्कार झापा गाउँपालिकाबाट, पाँचौ पुरस्कार कोटीहोम धार्मिक संस्थाका अध्यक्ष समेत रहेका स्वतन्त्र नागरिक समूह कनकाईका संयोजक शेरवहादुर थापाबाट प्राप्त हुने कोषाध्यक्ष श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा सहभागीहरुको भेषभुषा, नृत्य प्रस्तुती, सहभागी संख्या लगायतको मुल्यांकन हुने जनाइएको छ ।
अन्य पुरस्कार साथै आर्थिक स्रोत व्यवस्थापनकालागी दाताहरुको खोजी भइरहकोले नगरका सबै वडाहरुबाट समेत सहयोग प्राप्त हुने आयोजक समितिले अपेक्षा राखेको बताइएको छ । कार्यक्रम सम्पन्न गर्न अन्य सहयोगी मनहरुबाट समेत अपेक्षा राखिएको साथै अपेक्षा गरे अनुरुप सहयोग प्राप्त हुने विश्वास गरिएको प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका खरेलले जानकारी दिएकी छन् । चाडपर्व विशेष मनोरञ्जनात्मक रुपमा सम्पन्न हुने गरी आयोजना गरिएको कार्यक्रमका लागि सबै क्षेत्रबाट भरपुर सहयोग प्राप्त हुने विश्वास गरिएको प्रतिष्ठानकी उपाध्यक्ष खरेलले बताइन् ।
प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको सभापतित्व एवं सचिव मान्ता खरेलले सहजीकरण गरेको पत्रकार भेटघाटमा संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती, निवर्तमान अध्यक्ष दिनानाथ खतिवडा, सल्लाहकारद्वय लीलाप्रसाद चिमरीया र रामप्रसाद निरौला, सन्थाल समुदायका सुनील मुर्मु लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
