अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीले पाउँदैछन् नयाँ खुराक
कनकाई खबर / सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै बालबालिकाहरूमा बढ्नसक्ने अल्छीपन र स्क्रिन टाइम (मोबाइल, टिभी) को लतलाई रोक्दै कनकाई नगरपालिका क्षेत्रका केही निजी विद्यालयहरूले आइतबारको दिनलाई रचनात्मक रूपमा सदुपयोग गरिरहेका छन्।
स्थानीय सरकार कनकाई नगरपालिकाको बिदा सम्बन्धी निर्देशन रहेको भएपनि विद्यार्थीहरूको चौतर्फी विकास र मानसिक तन्दुरुस्तीलाई ध्यानमा राख्दै यहाँका केही विद्यालयहरूले आइतबारको दिनलाई ‘विशेष रचनात्मक दिन’ को रूपमा सञ्चालन गर्दै आएको बताइएको छ । यस कार्यले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिरको संसार बुझ्न र नयाँ उर्जा प्राप्त गर्न ठूलो मद्दत पुगेको अभिभावकहरु बताउँछन् ।
यसरी आइतबारको दिनलाई विद्यार्थीको वृत्तिविकासमा उपयोग गर्ने विद्यालयहरूमा कनकाई–१ दुर्गापुरस्थित नवयुग शिक्षा निकेतन, कनकाई–७ दुर्गापुरको फक्ताङलुङ एजुकेशन फाउण्डेसन र कनकाई–६ मा रहेको पारिजात शिक्षा निकेतन रहेका छन्।
यी विद्यालयहरूले आफ्नो स्थापना कालदेखि नै गुणस्तरीय शिक्षासँगै विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटनमा जोड दिँदै आएका छन्। नियमित दिनहरूमा कोर्षका किताब र परीक्षाको तयारीमा मात्र व्यस्त रहने विद्यार्थीहरूका लागि यी विद्यालयहरूले आइतबारको बिदालाई अतिरिक्त क्रियाकलाप (इसिए) मार्फत नयाँ खुराक पस्कने सुनौलो अवसरको रूपमा रूपान्तरण गरेको पाइन्छ ।
हरेक हप्ताको आइतबार यी विद्यालयहरूमा पुग्दा छुट्टै उल्लासमय वातावरण देख्न सकिन्छ। विद्यार्थीहरू कापी–किताबको गह्रौँ झोलाका साथमा होइन, आफ्नो रुचि अनुसारका खेलकुदका सामग्री, चित्रकलाका ब्रस र सङ्गीतका बाद्यबादन, नृत्यका साथमा रमाइरहेको पाइन्छ ।
आइतबारका दिन विद्यालयहरूमा नृत्य, गायन, वक्तृत्वकला, वादविवाद, हाजिरी जवाफ साथै प्रयोगात्मक विज्ञानका गतिविधिहरू सञ्चालन हुने गरेका छन्। यसका साथै स्काउट, पीटी र शारीरिक व्यायाम मार्फत विद्यार्थीहरूलाई शारीरिक रूपमा तन्दुरुस्त राख्ने प्रयास समेत गरिदै आएको ती विद्यालयका शिक्षकहरु बताउँछन् । जसले उनीहरूलाई भोलिपल्टदेखि सुरु हुने नियमित कक्षाका लागि पूर्ण रूपमा पुनर्ताजगी (रिफ्रेस) बनाउने गरेको कनकाई ६ स्थित पारिजात शिक्षा निकेतनका निर्देशक सूर्यप्रसाद पौडेल बताउँछन् ।
सरकारी साथै प्याब्सनको समेत शैक्षिक क्यालेण्डरलाई लक्षित गरेर विद्यालयमा अतिरिक्त क्रियाकलापका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको निर्देशक पौडेल बताउँछन् । संस्कार सहितको व्यवहारिक शिक्षा आजको टड्कारो आवश्यक्ता भएकाले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनकालागि विद्यालयका तर्फबाट प्रयास भइरहेको पारिजात शिक्षा निकेतनका निर्देशक पौडेल बताउँछन् । आइतबारको कक्षाबाट थप अतिरिक्त क्रियाकलापसँगै भएका विभिन्न गतिविधिका कारण विद्यार्थीको चौतर्फी विकासमा परिवर्तनको महसुश भएकाले यसलाई निरन्तरता दिँदै आएको विद्यालयको संचालक समेत रहेका पौडेल बताउँछन् ।
नियमित पठनपाठनको बोझिलो तालिकाबाट टाढा रहेर हप्ताको एक दिन यसरी आफ्नो रुचिका विषयहरू सिक्न पाउँदा विद्यार्थीहरू आफैँ पनि निकै उत्साहित देखिने गरेको यता नवयुग शिक्षा निकेतनका प्रिन्सिपल फ्रफुल्ल पोखरेल बताउँछन्।
कुनै पनि विद्यार्थीलाई सैद्धान्तिक मात्र नभएर व्यवहारिक बन्ने बाटोमा थप सहजीकरण गर्ने प्रयास विद्यालयको तर्फबाट भइरहेको जानकारी दिँदै नवयुग शिक्षा निकेतनका प्रिन्सिपल पोखरेलले विद्यालयको यो प्रयास हरेक दिन सफलता तर्फ अघि बढिरहेको बताए ।आइतबार विशेष विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलाप हुनेभएपछि अरु दिन भन्दा पनि अझै धेरै विद्यार्थीको संख्या बढ्ने गरेको प्रिन्सिपल पोखरेल बताउँछन ।
हरेक आइतबार त्रैमासिक रुपमा विद्यार्थी केन्द्रित अलग अलग विधाका अतिरिक्त क्रियाकलापका कार्यक्रम हुँदै आएको नवयुग शिक्षा निकेतनमा पहिलो त्रैमासिकमा प्रतियोगितात्मक हाजिरी जवाफ, वक्तृत्वकला, वादविवाद, निबन्ध लेखन, श्रुती लेखन साथै गायन, नृत्य र योगका कक्षा संचालन हुने गरेको बताइएको छ । त्यसपछिको समयमा कराँते, मार्सलाट सहित एथलेटिक्सका विभिन्न गतिविधिहरु संचालन हुने गरेको नवयुगका भाइस प्रिन्सिपल राजन कार्की बताउँछन् । हरेक वर्ष फागुनमा हुने विद्यालयको वार्षिकोत्सवका अवसरमा हरेक विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विधागत पुरस्कार वितरण गरिदै आएको भाइस प्रिन्सिपल कार्की बताउँछन् ।
विद्यालयमा भेटिएका एक छात्रले खुसी हुँदै भने, “आइतबार घरमा बस्दा अल्छी लाग्थ्यो र मोबाइल धेरै हेरिन्थ्यो, तर अहिले विद्यालय आएर मन परेको चित्रकला र बिभिन्न किसिमका खेलहरु खेल्न पाउँदा हप्ताभरिको पढाइको थकाइ मेटिन्छ।”
स्थानीय अभिभावकहरूले समेत विद्यालयको यस कदमको खुलेर प्रशंसा गर्न थालेका छन्। एक अभिभावकले आफ्नो अनुभव सुनाउँदै भने, “आइतबार घरैमा बसेर बालबालिकाले मोबाएल चलाएर समय बर्बाद गर्नुभन्दा विद्यालयको सुरक्षित वातावरणमा पुगेर नयाँ–नयाँ प्रयोगात्मक र सिर्जनशील सीप सिक्नु उनीहरूको भविष्यका लागि निकै फलदायी भएको छ।”
औपचारिक बिदाको दिन भएतापनि विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र जीवनोपयोगी शिक्षाको नयाँ खुराक दिनुको मुख्य उद्देश्यबारे विद्यालय प्रशासनको आआफ्नै दृष्टिकोण रहेको पाइन्छ ।
यसै क्रममा कनकाई ७ स्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनका प्रिन्सिपल ओम बिक्रम नेम्माङ भन्छन्, “हाम्रो उद्देश्य परम्परागत रटान शिक्षा मात्र दिने होइन, आइतबारको यो विशेष कक्षाले विद्यार्थीहरूको लुकेको प्रतिभा बाहिर ल्याउन मद्दत गरेको छ। हामीले कुनै नियमित कक्षा चलाएका छैनौँ, केवल उनीहरूको मानसिक स्वास्थ्यलाई उर्जावान् बनाउन विभिन्न किसिमका नयाँ खुराक दिने गरेका छौं, खेलकुदका गतिविधि सहित संगीत र प्रयोगात्मक विज्ञान, हस्तकला, चित्रकला लगायत अन्य थुप्रै विधामा केन्द्रित भएका छौँ।”
विद्यालयमा योग ध्यानसँगै तेक्वान्दो, ड्रोइङ, डान्स सहित स्टुडेन्ट क्वालिटी सर्कल सम्बन्धि विभिन्न समयमा विद्यार्थीलाई प्रशिक्षण प्रदान गर्दै आएको फक्ताङलुङ एजुकेशन फाउण्डेशनले भारतको लखनउ सम्म गएर विभिन्न विधाको प्रतिस्पर्धामा दुई पटक सम्म विद्यार्थीले अवार्ड ल्याउन सफल भएको प्रिन्सिपल नेम्माङ बताउँछन् ।
विद्यालयमा थप अतिरिक्त क्रियाकलापका बारेमा जानकारी दिँदै प्रिन्सिपल नेम्माङले हरेक दिनको कक्षामा गाइडेड रिडिङ, बुक टक, पठन संस्कृतिको विकासकालागि डियर प्रोग्राम, पिएफ कलम चौतारी लगायत अरु पनि धेरै शिक्षण विधिको प्रयोग गर्दै आएको बताए ।
विद्यालयमा खेल्दै नयाँ कुरा सिक्दै आएकी फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा कक्षा ७ मा अध्ययनरत छात्रा गीतादेवी चापागाईँ शनिवारको बिदामा पनि घरमा भन्दा पनि विद्यालयमै बिताउँने ईच्छा राख्छिन् ।विद्यालयको अतिरिक्त क्रियाकलापप्रति अत्यन्तै प्रभावीत बनेकी छात्रा चापागाईँ भविष्यमा स्वदेशमै रहेर नयाँ नयाँ कुराको खोज, अनुसन्धान गर्ने साथै आफ्नै देशमा केही गर्ने ईच्छा भएको बताउँछिन् ।
बालबालिकालाई संस्कार सहितको व्यवहारिक शिक्षा दिने उद्येश्यले अन्य विद्यालयहरुले समेत आआफ्नै समयमा विभिन्न शैक्षिक गतिविधिहरु संचालन गर्दै आएका छन् । शैक्षिक संस्थाहरूबाट बालबालिकाको चौतर्फी विकास गर्नकालागि भइरहेका यी प्रयासले आधुनिक शिक्षण पद्धतिको एउटा उत्कृष्ट र उदाहरणीय नमुना प्रस्तुत गरेको पाइन्छ ।

