उद्घाटन खेलहरूमा कनकाई, शिवसताक्षी र बुद्धशान्ति विजयी, १४ गते चार खेल हुने
कनकाई खबर / झापाको कनकाई नगरपालिकाको आयोजनामा ‘झापा जिल्ला अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता २०८३’ भव्य रूपमा औपचारिक समारोहका बीच सुरु भएको छ।

कनकाई माध्यमिक विद्यालयको खेल मैदानमा “स्वस्थ कर्मचारी, समृद्ध पालिका, समृद्ध समाज” भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख पोखरेलले स्थानीय तहमा कार्यरत कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा, स्वस्थ जीवनशैली र खेलकुदप्रतिको रुचिलाई प्रवर्धन गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
जिल्लाका १५ वटै पालिकाका कर्मचारीहरूकाे सहभागिता रहने प्रतियोगिताकाे उद्घाटनकै दिन कार्तिक १३ गते तीनवटा खेलहरू सम्पन्न भएका छन्। पहिलो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै आयोजक कनकाई नगरपालिकाले गौरादह नगरपालिकामाथि शानदार जित दर्ता गर्यो भने दिनको १:०० बजे भएको खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकामाथि दबदबा कायम गर्दै विजयी सुरुवात गर्यो।

त्यस्तै, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकाबीचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक भई निर्धारित समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा भाग्यमानी सावित हुँदै बुद्धशान्तिले जित हात पार्यो।
कुल १ लाख रुपैयाँ विजेता र ५० हजार रुपैयाँ उपविजेता पुरस्कार राशि रहेको यस प्रतियोगिताको दोस्रो दिन, भोलि कार्तिक १४ गते सोही मैदानमा चारवटा खेलहरू हुनेछन्, जसमा बिहान ९:३० बजे कमल विरुद्ध अर्जुनधारा, बिहान ११:०० बजे मेचिनगर विरुद्ध गौरीगञ्ज, दिनको १:३० बजे हल्दीबारी विरुद्ध दमक, र दिउँसो ३:३० बजे झापा विरुद्ध कचनकवल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने आयाेजक समितिका संयाेजक कनकाई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्माले जानकारी दिए ।कनकाई नगरपालिका लेखा शाखा प्रमुख शर्माकाे अध्यक्षतामा सम्पन्न उद्घाटन विशेष समारोहमा नगर प्रमुख पाेखरेल, उपप्रमुख आशा शिवाकोटी, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडा नं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली , गौरादह २ का वडाअध्यक्ष गोपाल कोइराला, शिवसताक्षी नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङ, भद्रपुरका भौतिक पूर्वाधार शाखा प्रमुख योगेन्द्र रञ्जीतकार, बुद्धशान्तीका देवेन्द्र कटुवाल, बार्हदशीका तेजबहादुर रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका छिए ।
लेखा शाखा प्रमुख शर्माकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे संचालन प्रशासन शाखाका अधिकृत अनुप रेग्मीले गरेका थिए ।

