कनकाई खबर \ समाज रुपान्तरणकालागी विभिन्न सामाजिक गतिविधि गर्दै आएको कनकाई छठ सेवा समाजको नेतृत्व चयनकालागी निर्वाचन हुने भएको छ ।
यस अघि भएको साधारण सभामा सर्वसम्मत नेतृत्व चयनकालागी भएको छलफल बिफल बनेपछि आगामी कार्यकालकालागी निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको हो । समाजको कार्य समितिमा अध्यक्ष , उपाध्यक्ष र महासचिबमा सहमति नजुटे पछि निर्वाचन हुन लागेको हो । अध्यक्ष पदकालागी तीन जनाको दावेदारी भएपछि कनकाई छठसेवा समाजका अग्रजहरुबाट सर्वसम्मतकालागी विभिन्न चरणमा भएको छलफलको प्रयास विफल बनेपछि अन्तत निर्वाचन प्रक्रियामा जानु परेको बताइएको छ ।
निर्वाचनमा अध्यक्ष पदका तीन जना उम्मेद्वारहरु खगेन्द्र महतो, अमन गुप्ता र विजय शर्मा चुनावी मैदानमा छन् ।सर्वसम्मत समिति छनौट गर्न छठ सेवा समाजका अग्रजहरुबाट अनुरोध आएपछी अध्यक्ष पदका दावेदार अमन गुप्ताले उमेदवारी फिर्ता लिएका छन । गुप्ताले सर्वसम्मत कार्य समिति चयनका लागि खगेन्द्र महतोलाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिएको जनाएका छन् ।
यस अघिकै साधारण सभामा महतोलाई समाजका अग्रजहरुबाट आगामी कार्यकालमा अध्यक्षको जिम्मेवारीकालागी तयारी हुन अनुरोध गर्दै वरिष्ठ उपाध्यक्ष बनाएको हुँदा अहिले महतोलाई सर्वसम्मत हुनबाट बन्चीत गर्नु अन्याय हुने भन्दै आँफूले सर्वसम्मतकालागी बाटो खुल्ला गर्न उम्मेद्वारी फिर्ता लिएको गुप्ताको भनाई छ । समाजको जनसम्पर्क अधिकारीको जिम्मेवारीमा रहेका गुप्ता सांगितीक क्षेत्रका एक होनाहार युवा हुन् ।
गुप्ताले अध्यक्षका अर्का दावेदार खगेन्द्र महतोलाई समर्थन गर्दै उमेद्वारी फिर्ता लिए पनि अध्यक्ष पदका अर्का दावेदार विजय शर्माले महतोलाई समर्थन नगरेपछी समाज निर्वाचन प्रकृयामा गएको बताइएको छ । निर्वाचनकालागी साधारण सभाबाट समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र सल्लाहकार नवल किशोर दत्त सदस्य रहेको निर्वाचन समिति निर्माण गरिएको छ भने समितिलाई थप सहयोग गर्नकालागी पुर्व अध्यक्षहरु पवन शाह र चन्दन शाहलाई समेत आवश्यक सहयोगीको भुमिकामा चयन गरिएको छ ।
विधानत १५ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा १३ सदस्य निर्वाचित रहने छन भने २ सदस्य निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको समितिले जनाएको छ । अध्यक्ष , उपाध्यक्ष र महासचिवमा निर्वाचन हुने भए पनि अन्य पदमा भने यस अघि नै सर्वसम्मत भइसकेको बताइएको छ । सर्वसम्मत हुनेमा वरिष्ठ उपाध्यक्षमा मुन्ना शाह , सचिवमा मञ्जु प्रधान र कोषाध्यक्षमा पुष्पा पण्डित रहेका छन् । त्यस्तै आवश्यक ७ जना सदस्यहरु समेत सर्वसम्मत भइसकेको बताइएको छ ।
मतदाता संख्या २६६ रहेको समाजको निर्वाचनमा अध्यक्षका उमेदवार खगेन्द्र महतोलाई समर्थन गर्दै उपाध्यक्षमा नगेन्द्र कुमार शाह र महासचिवमा अशोक शाहको उमेदवारी रहेको छ भने अर्का अध्यक्षका प्रत्यासी विजय शर्मालाई समर्थन गर्दै उपाध्यक्षमा धर्मेन्द्र शाह र महासचिवमा रविन्द्र गुप्ताले उमेद्वारी दिएको समाजका जनसम्पर्क अधिकारी अमन गुप्ताले बताए । पदाधिकारी चयनकोलागि यही असोज ३० गते निर्वाचन तय गरिएको छ ।
