कनकाई खबर \ तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २२औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ ।
सामुदायिक वनको सभा हलमा वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता एवं कनकाई नगरपालिका —३ का वडाअध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष चम्लागाईँले स्वास्थ्य उपचार सेवाको पहुँचमा पुग्न नसकेका वडाबासीलाई सामुदायिक वन र वडासमितिको सहकार्यमा आवश्यक प्रक्रिया अघि बढाउँन प्रस्ताव गरे । वडाअध्यक्ष चम्लागाईँले सामुदायिक वनसँग सहकार्य गरेर वडामा ब्लड बैंक राख्न प्रस्ताव गर्दै वन क्षेत्रमा सुकेर नष्ट हुने अवस्थामा पुगेका पुराना सिसौका रुखलाई खेर जान नदिई आवश्यक प्रक्रिया पूरा गरी समुदायको हितमा काम गर्न वन समुहलाई अनुरोध गरे ।वन मार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले यसको संरक्षण र प्रवद्र्धनमा एक जुट भएर अघि बढ्नु पर्नेमा वडाअध्यक्ष चम्लागाईँले जोड दिए ।
कार्यक्रममा वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ओलीले वन संरक्षण समिति लगायत दशौं कार्यसमितिको प्रथम वर्षको कार्यक्रमको समिक्षा साथै दोस्रो वर्षको वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै अध्यक्ष ओलीले आर्थिक वर्ष २०७९ \ २०८० मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम र आगामी दिनमा समुहबाट संचालन गरिने नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्ष २०८० \ ०८१ मा विभिन्न शिर्षकबाट आम्दानी र खर्च समेतको अनुमानित आय व्यय ९० लाख २१७ रुपैयाँको वार्षिक कार्यक्रम समेटिएको प्रतिवेदन भेलामा अध्यक्षले प्रस्तुत गरे ।
त्यसैगरी वन समुहका कोषाध्यक्ष तथा बजेट एवं कार्यक्रम निर्माण समितिका संयोजक श्रीप्रसाद खरेलले समुहको २०७९ श्रावण १ गते देखि २०८० असार मसान्त सम्मको रु.९५ लाख १९ हजार १०७ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।
कार्यक्रममा विशेष अतिथि कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाका शुरेस कुमार खनाल, वन समुहका पुर्व अध्यक्ष एवं सल्लाहकार नारायण ओली, सल्लाहकार भीष्म मैनाली, पत्रकार रामप्रसाद निरौला लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको बन्द सत्रमा अध्यक्ष र कोषाध्यक्षबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरिएको थियो । छलफलमा सहभागी ओमनाथ ढकाल लगायतले नदी नियन्त्रणमा बजेट कम भएको भन्दै पुर्नविचार गर्न अनुरोध गरेका थिए । यसरी छलफलबाट दुबै प्रतिवेदन सर्वसम्मतले पारित गरिएको वन समुहका कार्यालय सचिव नेत्रप्रसाद भट्टराईले जानकारी दिए ।
कार्यक्रममा उपस्थित अतिथी साथै सम्पूर्ण वन समुहमा आवद्ध प्रतिनिधिहरुलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गरेका थिए भने संचालन समुहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।
