कनकाई खबर / विगत लामो समयदेखि प्राकृतिक विपत्ति र सामाजिक रूपान्तरणमा झापा जिल्लाभरि नै ठूला–ठूला मानवीय गतिविधि सञ्चालन गर्दै आएको अग्रणी प्रवासी संस्था अन्तर्राष्ट्रिय झापाली समाजले कनकाई नगरपालिकाको स्वास्थ्य क्षेत्रमा अर्को ठूलो गुन लगाएको छ ।
‘जहाँ आवश्यकता, त्यहाँ सहयोग’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै समाजले कनकाई नगर स्वास्थ्य अस्पतालको उपकरण अभाव टार्न करिब ३० लाख रुपैयाँ बराबरका दुई थान अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
मानवीय सेवामा समर्पित यस संस्थाका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलको कुशल, दूरदर्शी र सफल नेतृत्वका कारण स्थापनाकालदेखि नै संस्थाको गरिमा उच्च स्थानमा रहँदै आएको छ। सोही उच्च साख र विश्वासकै जगमा समाजले कनकाईबासीको प्रत्यक्ष जीवनसँग जोडिएको आवश्यकतालाई पहिचान गरी आइतबार (सेप्टेम्बर १३ मा) नगरपालिका परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त स्वास्थ्य सामाग्री स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई हस्तान्तरण गरेको हो।हस्तान्तरण गरिएका उपकरणहरूमा एक वर्षको पूर्ण वारेन्टीसहितका सामसुङ एचएस४० (अल्ट्रासाउण्ड/भिडियो एक्स–रे मेसिन) र बायो रेड डी १० -मधुमेह तथा रगतमा चिनीको मात्रा परीक्षण गर्ने मेसिन) रहेका छन्।
स्वास्थ्य उपकरण ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रवासमा रहेर पनि आफ्नो माटो, देश र स्थानीय नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्ने अन्तर्राष्ट्रिय झापाली समाजको खुलेर प्रशंसा गरे । नगर प्रमुख पोखरेलले भने— "कनकाई नगर अस्पतालमा उपकरणको अभावमा हाम्रा नागरिकले सास्ती खेप्नु परिरहेको अवस्थामा प्रवासी झापाली दाजुभाइहरू भगवान् बनेर आउनुभएको छ। ३० लाख बराबरका यी अत्याधुनिक उपकरण प्राप्त हुनु कनकाईबासीका लागि ठूलो गौरवको कुरा हो। सरकारी स्वास्थ्य संस्थाको क्षमता विस्तार गर्न निजी क्षेत्र, प्रवासी नेपाली र स्थानीय सरकारबीचको यो त्रिपक्षीय सहकार्य देशका अन्य पालिकाहरूका लागि पनि निकै उत्कृष्ट र अनुकरणीय उदाहरण बनेको छ।" नगर प्रमुख पोखरेलले यो गुन कनकाईबासीले कहिल्यै नबिर्सने भन्दै समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल लगायत सम्पूर्ण टोलीलाई विशेष धन्यवाद दिए ।अन्तर्राष्ट्रिय झापाली समाजसँग यस अघि भएका केही सम्झौता समेत अब चाँडै पूरा हुने तयारीमा रहेको नगर प्रमुख पोखरेलले विश्वास दिलाए ।
काठमाडौँको घट्टेकुलोस्थित लिमिनल हेल्थकेयर प्रा.लि. को सहकार्यमा प्राप्त यी उपकरणहरू अस्पतालमा सञ्चालनमा आएपछि सामान्य परीक्षण र भिडियो एक्स–रेका लागि महँगो शुल्क तिरेर अन्यत्र धाउनुपर्ने नागरिकहरूको बाध्यता सदाका लागि अन्त्य हुने विश्वास गरिएको छ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेल, नेपाल समन्वय समितिका संयोजक राजु थापा र सचिव सुदर्शन रोक्काले कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल तथा कनकाई ७ का वडाअध्यक्ष भीष्मभूषण सिटौला र कनकाई ३ का वडासदस्य अनिल गोयल लगायतलाई संयुक्त रूपमा उपकरणहरू हस्तान्तरण गरेका हुन । प्रवासमा रहेर पनि आफ्नो माटोको अभाव र पीडामा सधैँ सारथी बन्ने अन्तर्राष्ट्रिय झापाली समाजको यो कार्य स्थानीय स्तरमा निकै प्रशंसनीय बनेको बताइएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण विशेष कार्यक्रमको सहजीकरण कनकाई नगरपालिका प्रशासन शाखाका कर्मचारी अनुप रेग्मीले गरेका थिए ।

