कनकाई खबर \ झापाको कनकाईमा रोटरी क्लव अफ सुरुङ्गाले इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धाञ्जली सहित दिप प्रज्वलन गरेको छ ।

राज्यले नै राष्ट्रिय शोक मनाइरहेको अवस्थामा सम्पूर्ण कनकाई नगरबासीका तर्फबाट दशजना कन्याको हातबाट दिप प्रज्वलनका साथमा रोटरी क्लवले विश्व शान्तीको कामना सहित श्रद्धाञ्जली सभा गरिएको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।
क्लवकी सचिव विनिता मैनाली बिमलीले सहजीकरण गरेको कार्यक्रममा क्लवका सदस्य शिक्षासेवी अखिलकुमार कोइरालाले इजरायलमा भएको १० नेपाली विद्यार्थीको दुःखद् निधन प्रति श्रद्धाञ्जली व्यक्त गरे ।कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष कुमारमणी पोखरेल, टिकाप्रसाद कट्टेल, ख्यामप्रसाद प्रसाईँ लगायत क्लवका अन्य पदाधिकारी, स्थानीय क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समेत १० नेपाली विद्यार्थीको दुःखद् निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको थियो । यसका साथै राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रिपरिषदले निर्णय गरेको थियो । सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने ।’ यही असोज २० गते प्यालेस्टाइनको हमास लडाकु समूहले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा आक्रमण गर्दा उनीहरुको मृत्यु भएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका ४९ विद्यार्थीमध्ये १० जनाको आक्रमणमा परी निधन भएको हो । मंगलबार सुदूरपश्चिम विश्वविद्यालयले पनि शोक बिदा दिएको छ ।
इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले ग¥यो ११ निर्णय
यी हुन् मन्त्रिपरिषद्ले गरेका ११ निर्णय ः
१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने ।
३. परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने ।
४. यस घटनामा निधन भएका नेपालीहरुको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने ।
५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।
७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने ।
८. इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
१०. इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने ।
११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।
