कनकाई खबर \ पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई धाम धार्मिक विकास संस्था कोटीहोमको असोज १५ गते हुने निर्वाचनकालागि साझा प्यानलका तर्फबाट २० बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
निर्वाचन परिचालन कमिटिका संयोजक एवं नेकपा एमाले कनकाईका अध्यक्ष खड्ग प्रसाईँको अध्यक्षतामा स्थानीय होटल डिलाइटमा पत्रकार भेटघाटको आयोजना गरी साझा प्यानलका तर्फबाट आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा साझा प्यानलका तर्फबाट परिचालन कमिटिका सहसंयोजक एवम् नेपाली कांग्रेस जिल्ला सदस्य लीलाप्रसाद चिमरिया, नेपाली कांग्रेस कनकाई नगर सचिव आर.पी. कडेँल लगायतले साझा प्यानलका उम्मेद्वारलाई जिताउन अपिल गरेका थिए ।
कोटीहोम धार्मिक विकास संस्थामा साझा प्यानलका तर्फबाट अध्यक्ष पदकालागी मौजुदा समितिका कोषाध्यक्ष समेत रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारी नरेन्द्रप्रसाद फुयालको नेतृत्वमा उम्मेद्वारहरु खडा भएका छन् । जसमा शिक्षासेवी एवं कनकाई माविका पुर्व प्रधानाध्यापक निर्मलकुमार खतिवडा सहित सेवा निवृत्त शिक्षक साथै विभिन्न संघसंस्थाहरुको नेतृत्व तहमा रहेका समाजसेवी व्यक्तित्वहरुले साझा प्यानलका रुपमा आफ्नो टिम निर्माण गरेको निर्वाचन परिचालन कमिटीका संयोजक प्रसाईँले बताए ।
धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा थप व्यवस्थित बन्दै आएको कोटीहोम क्षेत्रमा सरकारको तीनवटै तह स्थानीय, प्रदेश र केन्द्र सरकारबाट समेत बजेट प्राप्त भएका कारण यस अघिको कार्यसमितिको पहलमा भौतिक पुर्वाधार सहित विभिन्न संरचनाहरु निर्माण भएको संयोजक प्रसाईँ बताउँछन् । संस्थाको निवर्तमान कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी पूरा गरिसकेका फुयालले कोटीहोम धार्मिक क्षेत्रको थप विकास एवं विस्तारकालागी यस अघिदेखी नै गुरुयोजना निर्माण गरेको हुनाले त्यसको कार्यान्वयनकालागी पनि कोटीहोम धार्मिक संस्थामा फुयालकै नेतृत्वमा उम्मेद्वार तय गरिएको बताइएको छ ।
पवित्र कनकाई नदिको किनारमा रहेको कोटीहोम धार्मिक क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको समेत प्रशस्त सम्भावना भएको क्षेत्र हो । मुलुकको शासन सत्ता राजनीतिक दलहरुकै नेतृत्वमा संचालन भइरहेको हुँदा कोटीहोम धार्मिक तथा पर्यटकीय क्षेत्रको समेत विकास निर्माणकालागी बजेट व्यवस्थापनमा सहजीकरण गर्न राजनीतिक दलबाटै सहज हुने भएपछि क्रियाशिल राजनीतिक दलहरुकै समर्थनमा साझा प्यानल निर्माण गरिएको निर्वाचन परिचालन कमिटीका सहसंयोजक लीलाप्रसाद चिमरीया बताउँछन् ।
यस अघि पनि कोटीहोम धार्मिक संस्थाको विभिन्न जिम्मेवारीमा रहेर पुर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास एवं विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्दै आएका फुयाल संस्थामा कोषाध्यक्षको जिम्मेवारीमा रहँदाको अवस्थामा बाँकी रहेका अधुरा योजनाहरुको पूर्णताकालागी पनि उहाँकै नेतृत्व सहज हुने सहसंयोजक चिमरीयाको ठहर छ ।
जसकालागी समाजका अग्रज शिक्षासेवी व्यक्तित्वहरुसँगको सहकार्यमा साझा प्यानल निर्माण गरी निर्वाचनको मैदानमा होमिएको बताइएको छ । फुयालको नेतृत्वमा रहेको टिमलाई क्रियाशिल पाँचवटा राजनीतिक दल नेकपा एमाले, नेपालीकाँग्रेस, नेकपा माओवादी, राप्रपा र नेकपा— एस को समर्थन प्राप्त भएको बताइएको छ ।
यसरी कोटीहोम धार्मिक संस्थाको आगामी कार्यकालको नेतृत्व सम्हाल्न निर्वाचनमा होमिएका साझा प्यानलका उम्मेद्वारहरुमा अध्यक्षमा नरेन्द्रप्रसाद फुयालसँगै वरिष्ठ उपाध्यक्षमा निर्मलकुमार खतिवडा, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्यक्षमा अम्बिकादेवी खरेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, सचिवमा यामनाथ खतिवडा र कोषाध्यक्षमा मानवहादुर पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशःःटिकाराम निरौला, भरत संग्रौला, गायत्रा बुढाथोकी चौहान, अम्बिकादेवी रिजाल, धनपति चापागाईँ, नरपति पाठक, गंगाराम नेपाल, गणेशप्रसाद पोखरेल, गोपाल खरेल, डिल्लीराम पाठक, खगमाया चापागार्इँ(संग्रौला), अर्जुनकुमार गिरी, रत्ना खड्का, मेघराज मगर, मनोजकमार पोखरेल र सोमनाथ खतिवडा रहेका छन् ।
साझा प्यानलका तर्फबाट अध्यक्षका उम्मेद्वार फुयालले प्रस्तुत गरेका प्रतिवद्धताहरु यस्ता छन् ः
१. आफ्नो नेतृत्वको कार्यकालमा सुविधा सम्पन्न सन्त आश्रम निर्माण गरिने छ ।
२. त्यस्तै सबै धार्मिक संघसंस्था तथा बौद्धिक व्यक्तित्वहरुसंगको समन्वय र सहकार्य गरी धार्मिक यज्ञको आयोजना गरी संस्थाको अक्षयकोषलाई बलियो बनाईने छ ।
३. धार्मिक पाहुनाहरुको आवासका लागि व्यवस्थित आवास गृह निर्माण गरिने छ ।
४.पूर्वाञ्चलमा नै वृहत धार्मिक सभा सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन हेतु एउटै छाना मुनी हजार भन्दा बढी सहभागी अटाउने सभाकक्ष निर्माणका लागि पहल गरिनेछ साथै पर्यटन विकास र विस्तारका लागि सरोकारवालाहरुसँग आवश्यक समन्वय गरिने छ ।
५.गुरुकुल शिक्षालाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने छ ।
६.कोटिहोम परिसर भित्र रहेको मूल मन्दिरको पुनःनिर्माणका लागि सरोकारवाला निकायसँग विशेष पहल गरिनेछ ।
७.सनातन धर्मावलम्बी ॐ कार परिवारहरुको प्रतिनिधित्व हुने गरी परिसर भित्र उपयुक्त स्थानको चयन गरी संग्राहलयको स्थापना गरिने छ ।
८.पवित्र धार्मिक स्थल क्षेत्रमा व्यवस्थित गौ पालन गरी गौमाताको पवित्र सेवा र व्यवसायिकता प्रदान गरिने छ ।
९.संस्थाको लेखा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाई आर्थिक पारदर्शितालाई मासिक बैठकमा अनुमोदनका लागि पेश गरिने छ ।
१०.निकट भविष्यमा कोटिहोम परिसर भित्रका साधु सन्त र दीनदुःखीहरुका निम्ति निःशुल्क भोजन व्यवस्थापनका लागि दैनिक भोजनालयको व्यवस्था गरिनेछ ।
११.सनातन धर्म अनुसार मनाईने हरेक धार्मिक चाडपर्वहरुलाई विशेष महत्वका साथ मनाउनका लागि आवश्यक व्यवस्था गरिने छ ।
१२.सनातन धर्मको चौतर्फी रुपमा जागरण हेतु समय समयमा सन्त सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
१३.कोटीहोम परिसर भित्र रहेका थर गोत्रीय बन्धु संस्थाहरुसँग समन्वय गरी उपयुक्त रुपमा व्यवस्थापन गरिने छ ।
१४.सरसफाई तथा स्वच्छ वातावरणका लागि आवश्यक पहल गरिनेछ ।
१५कनकाई सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी सामुदायिक वनको नीति भित्र रही विभिन्न महत्वपूर्ण औषधीजन्य बिरुवाहरुको वृक्षारोपणमा समेत जोड दिइने छ ।
१६.कोटिहोम परिसर भित्र रहेको निर्माणाधिन मेची–महाकाली वृद्धाश्रम नेपाललाई पूर्णता दिन प्रयत्न गरिने छ ।
१७.कनकाईधाम धार्मिक विकास संस्था पूर्वाञ्चलको एक मात्र धार्मिक पर्यटकिय स्थल भएकोले यसको स्तरोन्नतिका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा अन्य संघ संस्थासँग आर्थिक व्यवस्थापनका लागि समन्वय र सहकार्य गरिने छ ।
१८.आवश्यकता अनुसार यस संस्थाको बृहत्तर विकासका लागि धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुसँग आवश्यक परामर्श लिइने छ ।
१९.यस धार्मिक संस्थालाई धार्मिक सम्पदा सूचीमा सूचिकृत गर्न प्रयत्न गरिने छ ।
२०.कनकाई घाटसँग आवश्यक सहमती र समन्वय गरी विविध कार्यक्रमहरु संचालन गरिने छ ।
