कनकाई खबर \ विश्व मुटु दिवस २०२३ को अवसरमा नेपाल हर्ट फाउण्डेशन झापाले सचेतनामुलक कार्यक्रम सहित अन्तरक्रिया सम्पन्न गरेको छ ।

‘मन लगाउँ आफ्नो मुटु बचाउँ ’ भन्ने मुल नाराका साथ फाउण्डेशनले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बिएण्डसी अस्पतालको सभा हलमा अन्तरक्रियामुलक कार्यक्रम सम्पन्न गरेको हो । रोटरी साथै रोट्रयाक्ट क्लव अफ सुरुङ्गा, रोट्रयाक्ट एण्ड रोटरी क्लव अफ विर्तामोड मिडटाउनको समन्वय रहेको कार्यक्रममा दुवै क्लवका तर्फबाट प्रतिनिधिहरुको सहभागीता रहेको बताइएको छ ।
रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष समेत रहेका हर्ट फाउण्डेशन झापा अध्यक्ष कुमारमणी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिएण्डसी अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा.उमेश यादव, पुर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. विरेन्द्र यादवले आ–आफ्नो विषयसँग सम्बन्धित सचेतनामुलक प्रस्तुती दिएका थिए ।

मुटु रोग विशेषज्ञ डा. यादवले मुटु रोगका कारण असर र बच्ने उपायबारे प्रकाश पारेका थिए । अहिले प्रायःयुवा अवस्थामै हृदयघात (हार्ट अट्याक) पनि देखिन थालेकोले यसबारेमा देश व्यापी सचेतना फैलाउनु पर्ने आवश्यकता महशुस गरेर कार्यक्रमको आयोजना गरिएको फाउन्डेशनका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।
कार्यक्रममा मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण, शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, खानपान र जीवन शैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटु रोगबाट बच्न सकिने डा.यादवले बताएका थिए ।
त्यस्तै कार्यक्रममा पूर्वाञ्चल क्यानसर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. बिरेन्द्रकुमार यादवले विश्वमा क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको र नेपाल जस्तो देशमा समेत क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको भन्दै बेलैमा सचेत बन्न सबैलाई आग्रह गरेका थिए । दिनप्रतिदिन क्यान्सरका रोगी बढ्नु चिन्ताको विषय भएको उनले बताए ।

शारीरिक व्यायाम र खानपानमा ध्यान नदिँदा शहरी क्षेत्रमा दिनानुदिन क्यान्सरका रोगीहरु बढ्दै गएको भन्दै त्यस प्रति सचेत बन्न डा.यादवले आग्रह गरेका थिए । साथै उनले आफुहरुले चांडै नै नेपाल हर्ट फाउण्डेशनको अगुवाइमा क्यान्सर परिक्षण घुम्ती बस सेवा सञ्चालन गर्ने गरी तयारी थालिरहेको पनि बताए ।
कार्यक्रममा फाउण्डेशनका सदस्य तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसीडेन्ट सन्तोष अग्रवाल, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कंडेल, क्लवकी उपाध्यक्ष सरला दाहाल पोखरेल, कनकाई मावि सुरुङ्गाका व्यवस्थापन समिति अध्यक्ष चन्द्र प्रसाई, प्रधानाध्यापक कर्णबहादुर डाँगी, जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष शम्भु पोखरेल, शिक्षासेवी तथा प्यारागन एकाडेमीकी अध्यक्ष चम्पा सुवेदी, सिदार्थ नबिन उप्रेती, बिएण्डसीका डा. निराजन पराजुली, डा.प्रितमकुमार गच्छादार, डा.गोपाल मिश्र लगायतका विशेषज्ञ डाक्टहरु सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
फाउण्डेशनकी उपाध्यक्ष शुभ कुमाइ पाठकले स्वागत गरेको कार्यक्रमको सञ्चालन फाउण्डेशनकी कोषाध्यक्ष उषा श्रेष्ठले गरेकी थिइन ।
