कनकाई खबर \ झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र श्री कनकाई धाम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनकालागि थापा नेतृत्वको प्यानलबाट प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
कनकाई ४ कोटीहोम स्थित धार्मिक संस्थाको निर्वाचनमा स्वतन्त्र समुहका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार शेरबहादुर थापा नेतृत्वको प्यानलले चुनावी प्रचारप्रसारलाई तिब्र पार्दै समुहका तर्फबाट १५ बँुदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो ।

.थापा नेतृत्वको प्यानल निर्वाचित भएमा ३ वर्षे कार्यकाल भित्रमा योगी नरहरीनाथको स्मृतीमा महायज्ञ संचालन गर्ने, ॐकार परिवारको धार्मिक तथा सांस्कृतिक पहिचान झल्कने गरी योगी नरहरीनाथ स्मृति संग्राहलय स्थापना गर्ने, हाल सञ्चालनमा रहेको संस्कृत पाठशालाको स्तर उन्नती गरी ५० भन्दा बढी विद्यार्थीहरुलाई वैद्धिक शिक्षा प्रदान गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै लेखा प्रणालीलाई चुस्तदुरुस्त बनाउने, नरहरीनाथको स्मृतिमा सन्तमहन्त, धार्मिक तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थित गराएर धार्मिक महोत्सव गर्ने, आधुनिक पद्धति अपनाई व्यवस्थित रुपमा गौ पालनको शुरुवात गर्ने जनाइएको छ ।
त्यस्तै निर्माण कार्य अधुरो रहेको मेची महाकाली भवन लगायत अन्य अधुरा रहेका निर्माण कार्यलाई पूरा गर्ने, देश विदेशबाट आउने धार्मिक पर्यटकहरुलाई बास स्थानको लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गर्न पहल गर्ने, साधुसन्त निवासको निर्माण सम्पन्न गरी भण्डाराको व्यवस्था गर्ने प्रतिवद्धतामा उल्लेख छ । त्यस्तै अक्षय कोष स्थापनाको पहल गर्ने, धामको सौन्दर्य विकासकालागि फूलवगंैचा निर्माण गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी कोटीहवन परिसर भित्र मध्यपान, धूम्रपान सेवन कार्यलाई निरुत्साहित गर्ने बताइएको छ । महत्वपूर्ण धार्मिक स्थल भएकाले स्तरउन्नतिकालागि स्थानिय, प्रदेश र संघीय सरकार तथाअन्य संघ संस्था र दाताहरुसँग वजेटका लागिपहल गर्ने, सवैसँग समन्वयगर्दै नीतिगत निर्णय गरि समन्वयात्मक रुपमा एकीकृत कार्यक्रमहरु संचालन गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ । धर्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको कोटीहोम संस्थालाई थप व्यवस्थित गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्षका उम्मेद्वार थापाले संस्थालाई अगाडी बढाउने योजना आफु नेतृत्वको प्यानलसँग भएको दावी गरे ।
स्वतन्त्र प्यानलका तर्फबाट अध्यक्षमा थापासहित , बरिष्ठ उपाध्यक्षमा डिल्ली राम बाह्रकोटी, पर्यटन उपाध्यक्षमा रामकुमार अधिकारी र धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेट्वालले उम्मेद्वारी दिएका छन् । त्यस्तै महासचिवमा दिननाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका सुवेदीचापागाईले उम्मेद्वारी दिएका छन् ।

सदस्यपदमा सोमनाथ गौतम, लक्ष्मीप्रसाद निरौला, मोहन राजवंशी, बिन्दुराज दाहाल, हरिप्रसाद तिम्सिना, चेतप्रसाद भट्टराई, दधीराम न्यौपाने, बासुदेव रिजाल, माधव पोखरेल, लीलाप्रसाद अधिकारी, भिष्मप्रसाद पौडेल र बासुदेव निरौलाले उम्मेद्वारका रुपमा खडा भएका छन् । संस्थामा २३ जनाको कार्यसमिति रहने प्रावधान रहेपनि स्वतन्त्र समुहबाट १९ जनाले मात्र उम्मेद्वारी दिएको बताइएको छ ।
