शिवसताक्षी \ विश्व पर्यटन दिवसको अवसरमा झापाको पर्यटकीय क्षेत्र दोमुखमा पर्यटन प्रवद्र्धन सम्बन्धीअन्तरक्रियागरिएको छ । दोमुखा पर्यटन विकास संस्थाको आयोजना र शिवसताक्षी नगरपालिकाको सहकार्यमा एक दिवसीय अन्तरक्रिया गरिएको हो ।
पर्यटन क्षेत्रलाई चलायमान र धेरै मात्रमा पर्यटन भित्रयाउन के कस्ता योजना ल्याउँदा प्रभावकारी हुने विषयकमा स्थानीय सरोकारवाला निकाय र शिवसताक्षी नगरपालिका प्रमुखहरुसँग अन्तरक्रिया भएको दोमुखा पर्यटन विकास संस्थाले जनाएको छ ।
कार्यक्रममा विभिन्न बक्ताहरुले पर्यटक भित्र्याउनकालागि सडक, पर्यटकको सुरक्षा र पर्यटकहरुलाई बस्नका लागि राम्रो प्रबन्धमिलाउनु पर्ने कुरामा जोड दिएका छन् । उनीहरुले विभिन्न जातजातिका भेष, भुषा, लगायत सांस्कृति संग्रहालय निर्माण गर्दा पर्यटकको आकर्षक बढ्ने कुरा व्यक्त गरेका थिए । शिवसताक्षीलाई त्रिधाम मात्र नभई सतासीधाम, चिल्लागढ, दोमुखा र माइधामलाई एकमुष्ट चारधामको रुपमा विकास गर्नु पर्ने अधिकांशको भनाई थियो ।
दोमुखा पर्यटन विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले पछिल्लो समय दोमुखामा केही राम्रा कामहरु भएपनि यो पर्याप्त नभएको जानकारी दिए । उनले धेरै कामहरु गर्न बाँकी रहेको बताए ।
शिवसताक्षी नगरपालिकाले दोमुखा क्षेत्रको विकासकालागि बनाएको डिपिआरमा केही समस्या भएको जानकारी दिए । अध्यक्ष लावतीले दोमुखाको विकासकालागि केन्द्रिय सरकारमा डिपिआर लिएर जाँदा सरकारले बेवास्ता गरेको गुनासो गरे ।
उनले शिवसताक्षी नगरपालिकाले निर्माण गरेको स्वीमिङ्ग पुल र चिल्ड्रेन पार्क चाडै सञ्चालनमा ल्याउनु पर्ने बताए । चिल्ड्रेन पार्क सञ्चालन गर्न निजी क्षेत्रहरुको पनि आकर्षण बढेको कुरा सुनाउँदै त्यो सञ्चालन गर्न सके पनि पर्यटनको आगमनमा बृद्धि हुने बताए ।
त्यस्तै शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले दोमुखाको विकासकालगि यसै आवमा पनि२० लाख रकम विनियोजन भएको जानकारी दिए ।आउँदो आवमा नगरपालिकाले दोमुखाको विकासमा फड्को मार्ने गरी बजेट विनियोजन गर्ने बताए ।
दोमुखालाई चिटिक्क र सुन्दर बनाउनकालागी थोरै रकमलाई पनि अधिक्तम काम गर्न सकिने बताए । पर्यटकलाई बेलुका पनि दोमुखा आउन सक्ने वातावरण निर्माण गर्ने गरी नगरपालिकाले काम गर्ने उनको भनाई थियो । माइधारदेखि दोमुखा सडकको बाँकी केही काम मंसिरमा सकिने र आउँदो आ.व.मा बाटो दुवै तिर फुलबारी निर्माण गर्ने, रात्रीकालिन सडक बत्ती जडान गर्र्ने, दोमुखामा पर्यटककोलागि झिलिमिली बत्ती र पर्यटकका सुरक्षाकालागि नगर प्रहरी र इलाका प्रहरीको सहकार्यमा रात्रीकालिन सुरक्षा व्यवस्था मिलाउने समेत नगर प्रमुखले बताए । चिल्ड्रेनपार्क र स्वीमिङ्ग पुल पनि सञ्चालनमा आउने नगर प्रमुख थोप्राको भनाई थियो ।
त्यस्तै शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले शिवसताक्षी नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई समान ढंगले विकास गर्दै लैजानु पर्ने बताइन् । उनले धार्मिक तथा पर्यटकीय संस्थाका समितिहरुलाई जिम्मेवार बनाएर लैजानु पर्ने बताइन् ।
कार्यक्रममा स्थानीय व्यवसायीहरु लगायत नगरपालिका लेखा अधिकृत प्रकाश योङ्गहाङ्ग, कार्यक्रम अधिकृत प्रकाश चौधरी, सहकारी प्रमुख बद्री दाहाल, वडा सदस्य कोपिला चिमोरिया मैनाली लगायतले आफ्नो धारणा राखेका थिए ।
यसै बीच विश्व पर्यटन दिवसकै अवसरमा स्थानीय पशुपति एकाडेमीले शिवसताक्षीको सताक्षीधाम, दोमुखा र चिल्लागढमा मोटरसाइकल र्याली गरेको थियो । स्थानीय स्तरका पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धनकालागि मोटर साइकल र्याली गरिएको पशुपति एकाडेमीका प्रिन्सीपल चन्द्रप्रसाद खनालले जानकारी दिए । चिल्लागढ धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष शिविर तुम्बापोले स्थानीय तथा बाह्य पर्यटकलाई एक पटक चिल्लागढको भ्रमण गर्न आग्रह गरेका छन् । चिल्लागढ विकासोन्मुख अवस्थामा छ ।उनले भने, हिजोको चिल्लागढ र आजको चिल्लागढमा धेरै फरक भएको छ ।
