बाँके – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।जयन्दु बाल सुधार गृहमा गएराति झडप हुँदा कपिलवस्तुका सुलभ केसीको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको हो ।
यस्तै, झडपमा घाइते भएका अन्य १० जनाको अहिले नेपालगञ्ज शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका किशोरहरुलाई पनि राखिएको थियो ।कुल २ सय ५४ जना रहेकामा १८ वर्षभन्दा माथिका एक सय ६ जनालाई त्यहाँ राखिएको पाइएको छ ।
झडपको कारण खुलेको छैन । तर, उमेर बढी र कम भएकाहरुबीच विवाद भएको हुन सक्ने अनुमान छ ।यसअघि गएको भदौ ४ गते भक्तपुरको सानोठिमीमा र २६ गते वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भएको थियो ।
सानो ठिमीको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जनालाई वीरगञ्ज लगिएको थियो ।
