लहान — विद्यालयमा एक विद्यार्थीमाथि भएको कुटपिटको घटनामा प्रहरी कारबाही सुरु भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिका-१२ को सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा कार्यालय सहयोगी पक्राउ परेका हुन् ।
आरोपित कार्यालय सहयोगी जयनारायण मण्डललाई आइतबार नियन्त्रणमा लिइएको सिरहाका एसपी टेकनन्द इवा लिम्बुले बताए । उनका अनुसार मण्डललाई अदालतबाट म्याद लिई घटनाको अनुसन्धान सुरु गरिएको छ ।कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समिर राइनलाई कार्यालय सहयोगी मण्डलसहित प्रधानाध्यापक, लेखापालले मंगलबार कोठामा थुनेर निर्घात कुटपिट गरेको आरोप छ । कक्षामा पढिरहेका राइनलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए ।
त्यसपछि कोठा बन्द गरी प्रधानाध्यापक जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी मण्डलले निर्घात कुटपिट गरेको विद्यार्थी समिरले बताएका छन् ।एसपी लिम्बुका अनुसार पीडित विद्यार्थीका बाबुले जाहेरी दिएका थिए । घटनाका अन्य आरोपीको खोजी भइरहेको उनले बताए । ‘जाहेरी आएको छ, कार्यालय सहयोगीलाई नियन्त्रणमा लिइसकेका छौं ।
अन्य आरोपीको नाममा पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाएर खोजी तीव्र पारेका छौ,’ एसपी लिम्बुले भने ।कुटपिटबाट घाइते समिर प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् ।घाइते विद्यार्थी समिरका बुवा मोहमद अकबर मियाँका अनुसार कुटाईबाट समिरको जीउमा निलडाम र चोट छ । कान्तिपुर दैनिकबाट