कनकाई खबर \ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारण सभाको अवसरमा विभिन्न सेवा केन्द्रको इकाईगत साधारण सभा सम्पन्न गरेको छ ।

झापाको दमकमा मुख्य कार्यालय रहेको संस्थाले सुरुङ्गा सेवा केन्द्रको ईकाइगत साधारण सभामा अध्यक्ष बुद्धि सागर बरालले संस्थाको भावी योजनासहितको प्रगतिप्रतिवेदन प्रस्तुत गरेका थिए ।
सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न साधारण सभामा अध्यक्ष बरालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७९ \ ०८० मा १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय ६७ रुपैयाँको कुल कारोवार भएको बताए । संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी २ करोड ५४ लाख ६२ हजार ६ सय गरेकोमा कर कटाएर २ करोड ४२ लाख २९ हजार १ सय ८ खुद बचत गरेको जानकारी गराएका थिए । शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय रहेको संस्थामा जगेडा कोष ७ करोड ६ लाख ९४ हजार ३४ रहेको बताइएको छ ।

बरालद्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सेयर सदस्यहरुकालागि स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यवसायीक साकोस बिकास कार्यक्रम, एकीकृत ब्यवस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहत, दीर्घरोग राहत, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका विभिन्न कार्यक्रमहरुको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराइएको छ ।
सहकारीताको मूल्य , मान्यता , सिद्धान्तलाई आत्मासाथ गर्दै आफ्ना सदस्यहरु माझ गुणस्तरीय , भरपर्दो , विश्वसनीय , बित्तिय तथा गैरबित्तिय सेवा प्रवाह मार्फत जीवनस्तरमा सकारात्मक परिवर्तन गरी अब्बल दर्जाको सहकारी संस्थाको रुपमा स्थापित हुने लक्ष्यका साथ संस्था अघि बढेको संस्थाका अध्यक्ष बरालले जानकारी दिए ।
कोरोना संक्रमण साथै आर्थिक मन्दीको यो अवस्थामा समेत संस्थाले सदस्यहरु माझ सेवा प्रवाह गरिरहेको बताउँदै अध्यक्ष बरालले संस्थाले गरेको वित्तिय कारोबारका आधारमा राष्ट्रिय सहकारी बंैकले उत्कृष्ट कारोवार गर्ने संस्थाको रुपमा स्वर्णलक्ष्मी साकोसलाई सम्मान समेत गरेको सभामा जानकारी गराइएको थियो। सम्मानबाट संचालक थप जिम्मेवार बन्नुका साथै सदस्य केन्द्रीत कार्यक्रममा हौसला समेत मिलेको पनि अध्यक्ष वरालले बताए । संस्थाले हाल सम्म झिलझिले, गौरादह, उर्लाबारी , सुरुङगामा सेवा केन्द्र संचालन गरी सेवा दिइरहेको र पथरीमा सेवा केन्द्र संचालनकालागि प्रस्ताव गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईंले सहकारीको माध्यमबाट नागरिकको जीवन स्तर वृद्धि हुन सक्ने तर्फ जोड दिँदै सहकारी सबैको साझा संस्था भएकाले शेयर सदस्यहरुले ईमान्दार भएर सहयोग गर्नु पर्ने धारणा राखेका थिए । सहकारी संस्थाहरुलाई सक्रिय बनाउँन शेयर सदस्यहरुकै ठूलो भुमिका रहने भएकाले आफू आवद्ध सहकारी संस्थाप्रति हरेक सदस्यले चासो राख्नु पर्नेमा वडाअध्यक्ष चम्लागाईँको जोड थियो ।
कार्यक्रममा कनकाई नगरपालिकाका सहकारी विभाग प्रमुख हरीप्रसाद पौडेलले सहकारी संस्थाहरुले आफ्नो काम,कर्तव्य र अधिकार क्षेत्रभित्र रहेर ईमान्दारीताका साथ कार्य सम्पादन गर्ने हो भने टाट पल्टिनु नपर्ने सुझाव दिए । कनकाई नगर क्षेत्रमा ५० बढीको संख्यामा रहेका सहकारी संस्थाहरुको नियमनकारी निकाय भनेको स्थानीय सरकार नै भएकाले बाटो बिराउँने सहकारी संस्थाहरुले नियमअनुसार जवाफदेही बन्नु पर्नेमा पौडेलले सुझाव दिए ।
त्यस्तै पृथ्वी सहकारी संस्थाका अध्यक्ष कुमारमणी पोखरेलले एउटा सहकारीले बदमासी गरेर संचार माध्यममा खबर आइरहँदा व्यवस्थित ढंगले चलेका अन्य सहकारीहरुलाई समेत नैतिक संकट पर्ने तितो यथार्थलाई मध्यनजर गर्दै सहकारीका संचालकहरुले समयमै सचेत हुनु पर्नेमा जोड दिए । यो संकटको घडीमा पनि स्वर्णलक्ष्मी साकोसले गरेको प्रगतिप्रति पृथ्वी सहकारीका अध्यक्ष पोखरेलले शुभकामना व्यक्त गरे ।
संस्थाका सल्लाहकार एवं संस्थापक अध्यक्ष बासुदेव काफ्लेले२०६६को मंसिर÷पौषको समयमा २५ जना सदस्यबाट सुरु भएको संस्थामा हाल करिव ९ हजार सदस्य भइसकेको स्वर्णलक्ष्मी साकोसले यो छोटो समयमा गरेको प्रगतिप्रति खुशी व्यक्त गरे ।
संस्थाको सुरुङ्गा सेवा केन्द्रका संचालक समिति सदस्य भरतकुमार ढकालले स्वागत गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले संचालन गरेका थिए ।

