झापा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।झापा गाउँपालिका–६ निवासी अन्दाजी ४८ वर्षीय विनोद दाहाल सानो कनकाई माई खोलामा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
झापा–७ भएर बग्ने सो खोलामा बुधबार बिहान अन्दाजी ८ बजे दाहाललाई पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।प्रहरीका अनुसार मृत दाहाल तीन दिन अघि घरबाट हिँडेका थिए । मदरगाछ पूर्व सानो माईको पुलनेर उनको साइकल र टोपी फेला परेको थियो ।
मृतक दाहालको शव पोस्टमार्टमका लागि पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उता झापाको बुद्धशान्तिमा पनि पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–२ निवासी १९ वर्षीय मनोज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुद्धशान्ति–१स्थित कुलोमा डुबिरहेका उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।