कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रको सामाजिक गतिविधिमा क्रियाशिल बंगाली सेवा समाजले मनसादेवीको पूजाअर्चना सहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
बंगाली भेषभुषामा सजिएका समुदायले सो विशेष पर्वको अवसरमा आज शनिवार कनकाई ३, सुरुङ्गास्थित कालिस्थान टोलमा विशेष कार्यक्रमको आयोजना गरी कनकाई माइसम्मको कलशयात्रा गरेका थिए । कनकाई माई नदीमा पुगेर ल्याएको शुद्ध जल मनसादेवीको मन्दिरमा अर्पण गरेको कार्यक्रम संयोजक जन्मजय मण्डलले जानकारी दिए ।
बंगाली सेवा समाज कनकाईका अध्यक्ष पंकज मण्डलको सभापतित्व रहेको विशेष कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । समाजका सचिव रबिन मण्डलको संचालन एवं सदस्य राजु मण्डलले स्वागत गरेको औपचारिक कार्यक्रममा कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेकपा एमाले कनकाई नगर कमिटि अध्यक्ष खड्गप्रसाद प्रसाईँ, समाजसेवी शेरवहादुर थापा लगायतले कार्यक्रमको सफलताको कामना गर्दै बंगाली समाजले आफ्नो संस्कार एवं संस्कृतिको संरक्षणमा देखाएको सक्रियताप्रति प्रशंसा गरे ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं कनकाई ईञ्चार्ज रविन्द्र लम्साल, कनकाई–३ का वडासदस्य अनिल गोयल, बंगाली समुदायका अग्रज प्रल्हाद शाह, सहदेव मण्डल, कनकाई सुरुंगा प्रेस क्लवका अध्यक्ष एवं कनकाई खबरका सम्पादक राम निरौला, कनकाई खबर डटकमका पत्रकार समिर आलम लगायत बंगाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपाल चार जात छत्तीस वर्णको साझा फुलबारी भएकाले सबैले आ–आफ्नो धर्मसंस्कृति एवं संस्कारलाई एकआपसमा जगेर्ना गर्दै अघि बढ्नु पर्ने तर्फ जोड दिए । यस क्षेत्रमा विगत लामो समयदेखी बसोबास गर्दै आएका बंगाली समाजले आफ्नो संस्कार साथै संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले अन्य समुदायलाई समेत प्रेरणा जगाएको भन्दै नगर प्रमुख पोखरेलले माता मनसादेवीबाट सम्पूर्ण नेपालीमा एकता एवं सद्भावका साथ अघि बढ्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रमकै अवसरमा नगर प्रमुख पोखरेलले आफ्नो ५० वर्ष अघिको विद्यालयस्तरीय विद्यार्थी जीवनमा कनकाई माविमा अध्ययन गर्ने क्रममा खाजाका रुपमा बंगाली समुदायबाट निर्मित मुराईका डल्ला अत्यन्तै स्वाद मानेर खाने गरेको स्मरण गर्दै सोही समयमा मुराईका डल्ला खुवाउँने बंगाली समुदायका स्थानीय सहदेव मण्डललाई अग्र भागमा ल्याएर सम्मान गरेका थिए ।
आज भन्दा ५० वर्ष अघि प्रतिडल्ला पाँच पैशामा किनेर खाने गरेको मुराईका डल्ला बनाउँने कामलाई अहिले पनि बंगाली समुदायले निरन्तरता दिँदै आएको प्रसंग जोड्दै नगर प्रमुख पोखरेलले विगतका मुर्चुङ्गा, ढोलकी, झ्याम्टा हराउँदै जानु भनेको हाम्रो सभ्यता साथै संस्कृति नै लोप हुँदै गएको भन्दै यस तर्फ सचेत हुनु पर्नेमा जोड दिए ।
बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथिलाई विशेष पर्वका रुपमा मनाउँछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथिदेखि षष्ठी तिथिसम्म तीन दिनलाई विशेष पूजाअर्चनाका साथ मनाउँदै आएका छन् । भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथिमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको बंगाली समाज सेवा कनकाईका अध्यक्ष पंकज मण्डल बताउँछन् । माता मनसा देवीको विशेष पूजाअर्चना गरी यो पर्व मनाउने गरिएको मण्डलको बुझाई छ ।
मनसा देवीको पूजाअर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमीका दिन हुने मनसा देवीको यो विशेष पूजाअर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै व्रत बस्ने चलन रहेको बताइएको छ ।
यो पर्वमा बंगाली समुदायका महिला मात्र होइन पुरुषहरूले समेत व्रत बस्ने र मनसा देवीको विशेष पूजाअर्चना गरी रातभर जाग्राम बस्ने चलन रहेको बंगाली समुदायका अगुवाहरु बताउँछन् । दिनभर व्रत बसेका व्रतालुहरूले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरू प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।
षष्ठिका दिन बिहान बलीपूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई बोलाएर प्रसाद खुवाउने परम्परा रहेको सेवा समिति कनकाईका सचिव रविन मण्डलको भनाई छ । सोहीदिन बेलुका मनसा देवीको मूर्ति नदीमा लगेर विसर्जन गरेपछि यो पर्व समाप्त हुने गरेको बताइएको छ ।

