नत मरेको भनेर काजकिरिया गर्न सकिन्छ, न त जिउँदो भनेर देख्न सकिन्छ..
कनकाई खबर \ ‘सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगरेर हामीलाई तड्पाउने काम गरेको छ, नत मरेको भनेर काजकिरिया गर्न सकिन्छ, न त जिउँदो भनेर देख्न सकिन्छ । लाश नदेख्दासम्म जिउँदै होकी भन्ने आशा हुने रहेछ’, झापा गौरादहकी टंका काफ्ले भट्टराई आफ्नो पीडा सुनाउँछिन्।
आज भन्दा २० वर्ष अघि २०६० मंसिर ५ गते श्रीमान शान्तीराम भट्टराईलाई काठमाण्डौको भैरवनाथ गणका नेपाली सेनाले जोरपाटीबाट नियन्त्रणमा लिएको स्मरण गर्दै टंकाले त्यो कहाली लाग्दो अवस्थाको पिडा सुनाइन् । श्रीमानको अवस्थाका बारेमा परिवारलाई जानकारी नै गराइएन । केही दिनपछि मात्र जानकारी भयो भैरवनाथ गणले शान्तीरामसहित एकैपटक ४९ जनालाई नियन्त्रणमा लिएको रहेछ ।
तत्कालिन अवस्थामा सुत्केरी हुने समय एक महिना मात्र बाँकी रहेको अवस्थाकी टंका गर्भवती थिइन् । शान्तीराम बेपत्ता भएपछि साथमा अढाई वर्षकी छोरीसँग गर्भवती अवस्थाकी टंकालाई घर परिवार चलाउन निकै मुस्किल पर्दै आयो । शान्तीरामले गार्भेन्टमा काम गरेर परिवारको जिविकोपार्जन गर्दै आएका थिए ।
श्रीमानलाई सेनाले नियन्त्रणमा लिएको एक महिनापछि सुत्केरी भएकी टंकाको स्वास्थ्यमा केही सहज भएसँगै केही महिनापछि काठमाण्डौबाट झापाको बैगुनधुरामा रहेका आफन्तसँग बस्दै आएकी उनी हाल गौरादहको वडा नं.१मा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । गर्भमै बाबु बिहिन बनेकी कान्छी छोरी स्वस्तीका हाल २० वर्षकी भएकी छन् । उनी दमकस्थित एक क्याम्पसमा अध्ययनरत छिन् भने दिदी सोनीका भट्टराई विवाहित भइसकेकी छन् । सरकारले बेपत्ताको अवस्था हाल सम्म पनि सार्वजनिक नगर्दा अत्यन्तै पिडा भएको टंका काफ्लेको भोगाइ छ ।

काफ्ले त प्रतिनिधि पात्र मात्रै हुन् । सशस्त्र द्वन्दका क्रममा बेपत्ता भएका परिवारको पीडा योभन्दा अझै दर्दनाक छन् । झापाको कनकाईबाट मात्र ९ जना व्यक्तिको अवस्था अझै पनि अज्ञात रहेको बेपत्ता परिवारका झापा जिल्ला संयोजक एवं प्रदेश कमिटि सचिव गोपाल पोखरेलले जानकारी दिए। जिल्ला संयोजक पोखरेलका अनुसार शसस्त्र द्वन्दका समयमा बेपत्ता भएका कनकाई– १का ईन्द्रलाल ढकाल, वडा नं.–४ का उदयकुमार श्रेष्ठ, वडा नं.–३ का रमेशकुमार ढुङ्गेल, वडा नं.–१का सुरेशकुमार पोखरेल, वडा नं.३–की संगीता बस्नेत, वडा नं.–३ कै संझना तिवारी लगायतको अवस्था अझै पनि अज्ञात रहेको हो ।
नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्दका क्रममा युद्धरत माओवादी पक्ष र सरकारी पक्षबीचको दोहोरो भिडन्तमा धेरै मानिसको ज्यान गएको पोखरेलको बुझाई छ । जिल्ला संयोजक पोखरेलका सहोदर भाइ कनकाई– १निवासी सुरेशकुमार पोखरेल समेत २०५९ को पौष १३ गतेका दिनदेखी बेपत्ता भएका हुन् । बेपत्ता परिवारले सशस्त्र द्वन्दका क्रममा द्वन्दरत पक्षबाट विभिन्न बहानामा ठूलो मात्रामा बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गर्न पटक पटक सरकारसँग माग गर्दै आएका छन् ।
यसै क्रममा बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा कनकाई –४,कोटीहोमटोल स्थित झापाली बेपत्ता स्मृत्ति स्तम्भ पार्कमा आयोजित एक विशेष कार्यक्रममा बेपत्ता परिवारका विषयमा हाल सम्म पनि राज्य बेखबर रहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ । करिब ३ कठ्ठामा रहेको झापाली बेपत्ता स्मृत्ति स्तम्भ पार्कमा रहेको स्तम्भले बेपत्ता पारिएका व्यक्तिहरु कहाँ छन् ?भनेर राज्यलाई प्रश्न गरेको संकेत देख्न सकिन्छ ।

पार्क परिसरमा २ तले भवन साथै अन्य बाँकी ठाउँमा उद्यान्न बनाउँने योजना रहेको भएपनि आर्थिक अभावका कारण योजना अलपत्र रहेको निर्माण समितिका सचिव नरेन्द्रप्रसाद मैनाली बताउँछन् । अघिल्लो आर्थिक वर्षमा कनकाई नगरपालिकाबाट प्राप्त भएको केही बजेटले सामान्य घेराबाराको काम भएको सचिव मैनाली बताउँछन् ।
बेपत्ता परिवारका केन्द्रिय सदस्य रत्नवहादुर घिमिरेको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले बेपत्ता पारिएका व्यक्तिको अवस्थाका बारेमा तीन तहकै सरकार बेखबर रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटीले बेपत्ता परिवारका सदस्यहरुलाई भावनमा डुबेर धेरै चिन्तित नभई न्यायकालागी एकताका साथ अघि बढ्न अनुरोध गरेकी छन् । कनकाई नगर क्षेत्रका बेपत्ता परिवारका सदस्यहरुलाई नगरपालिकासँग समन्वय गर्न अनुरोध गर्दै उपप्रमुख शिवाकोटीले त्यस्ता परिवारका बालबालिकाहरुको अवस्था हेरेर उचित शिक्षा, स्वास्थ्य साथै रोजगारकालागी नगरपालिकाले पहल गर्ने आश्वासन दिएकी छन् ।
नेपालमा एक दशक लामो अर्थात २०५२ फागुन १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द थालेको थियो । सोही अवस्थामा तत्कालिन भुमिगत रुपमा रहेको माओवादी र सरकार पक्षबाट एकआपसमा भएको दश वर्षे द्वन्दका कारण कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने १४ सय व्यक्ति बेपत्ता भएको गौरादह निवासी बेपत्ता परिवारका सदस्य डिल्ली रिजाल बताउँछन् ।
हिजोको सशस्त्र द्वन्दरत पक्षका तर्फबाट पटक पटक राज्यको नेतृत्व गर्दै वर्तमानमा समेत सरकारमा रहेको अवस्थामा आँफूहरुबाटै बेपत्ता पारिएका परिवारलाई बेवास्ता गर्नु उचित नभएको भन्दै बेपत्ता परिवारका सदस्य रिजालले सरकारको ध्यानाकर्षण गराएक छन्। पिडितहरु सधैं पिडामै बस्नु परेको अवस्थाप्रति सरकार गम्भीर नभएको भन्दै कानुन व्यवसायी समेत रहेकी बेपत्ता परिवार कोशी प्रदेश संयोजक रुक्मीणा दहालले२०६३ मङ्सिर ५ गते विस्तृत शान्ती सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको अवस्था ६० दिनभित्र परिवारजनलाई जानकारी गराउने भनी प्रतिबद्धता गरिए पनि आज १७ वर्ष बित्दा समेत अवस्था सार्वजनिक हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।
न्याय प्रक्रिया आएको १७ वर्ष बितिसक्दा पनि राज्यको ६० दिन कहिले नआएको भन्दै संयोजक दहालले राज्यले कम्तिमा बेपत्ता तथा बेपत्ताका परिवारको अवस्थाका बारेमा तथ्य कुरा सार्वजनिक नगर्नु जनताप्रतिको धोका भएको बताएकी छन् ।
बेपत्ता परिवारले हरेक वर्ष अगष्ट ३० तारिखमा बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउँदै आएको छ । देशभर हरेक वर्षको अगष्ट ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एमनेष्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउने गरेको छ ।
युद्ध, आन्दोलनमा मानवहरुलाई हतियार अनि औजारको रुपमा प्रयोग गरियो जसले गर्दा युद्धमा मानवहरुको दर्दका कथाहरु अनि बेपत्ता हुने चरणवद्ध घटनाहरू एकमाथी अर्को गरी थपिदैं गएका छन् ।
नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक समेत परिवर्तनका बिषयबस्तुलाई लिएर सुरु भएको सशस्त्र द्वन्दबाट ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भयो । द्वन्दबाट हजारौ मानिस बेपत्ता पारिए भने लाखौं मानिसहरु प्रत्यक्ष परोक्ष रुपमा प्रभावित भएका थिए । १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धका बेला राज्यपक्ष र तत्कालिन विद्रोही पक्षबाट बेपत्ता पारिएका कयौँ नागरिक अझै बेखबर छन् । बेपत्ता नागरिकका परिवारले सरकार समक्ष जति नै हारगुहार गरे पनि कुनै उपलब्धि हुन सकेको छैन ।
अहिले पनि पीडित परिवार आफ्ना परिवारका सदस्यको वास्तविक अवस्था सार्वजनिक गर्न, दोषीलाई कारवाही गर्न माग गर्दै आन्दोलनमै छन् ।
२०७१ माघ २८ गते दुई छुट्टा छुट्टै आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको गठन भए । व्यक्ति बेपत्ता पार्ने सम्बन्धी घटनाहरुको छानबिन गरी वास्तविक सत्य, तथ्य जनसमक्ष ल्याउन, घटनाबाट पीडित ब्यक्तिलाई परिचय पत्र प्रदान गरी परिपूर्णको व्यवस्था गर्न र त्यस्तो कार्यमा संलग्न ब्यक्तिलाई कानूनी कारवाहीको लागी सिफारिस गर्ने उद्देश्यले आयोग गठन भएपनि त्यसले काम गर्नै सकेको छैन । जसका कारण बेपत्ता पारिएका नागरिकको परिवार वर्षौँदेखि पीडामा छन् ।
घरको मुख्य कमाउने व्यक्ति बेपत्ता हुँदा आश्रित परिवारको विचल्ली छ । कमाउने छोराछोरी मारिएपछि राज्यले उनीहरूको संरक्षण, रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्ने बेपत्ता परिवारको माग छ ।
आयोगले विभिन्न समयमा गरी तीन पटकसम्म उजुरी आह्वान गर्दा जम्मा पक्षबाट तीनहजार एक सय १४ जना बेपत्ता पारिएको तथ्याङ्क आएको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका अनुसार कोशी प्रदेशका चार सय पाँच, मधेस प्रदेशका दुई सय १५, बाग्मती प्रदेशका पाँच सय ४४, गण्डकी प्रदेशका तीन सय सात, लुम्बिनी प्रदेशका आठ सय ८१ कर्णाली प्रदेशका चार सय २५, सुदूर पश्चिम प्रदेशका पाँच सय ११ उजुरी दर्ता भएका छन् ।तर ति उजुरीमाथि आयोगले छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।
संयुक्त राष्ट्र संघले सन् २०१० मा बेपत्ता विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउने निर्णय गरेको सन्दर्भमा नेपालमा भएको सशस्त्र द्वन्दको अविधमा बेपत्ता पारिएका व्यक्तिहरुको स्मरण गर्दै सन्२०१५ देखि अगस्ट ३० लाई यो दिवसको रुपमा मनाउंदै आएको बताइएको छ ।
