कनकाई खबर \ झापा जिल्लाका मन्टेश्वरी स्कूलहरूको छाता संगठन मन्टेश्वरी एसोसिएसन अफ झापाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
विर्तामोड स्थित टाइनी टट्स मनेटेश्वरी स्कूलको सभाहलमा सम्पन्न अधिवेशनले कनकाई —३ सुरुङ्गा स्थित हाम्रो पाठशालाका संस्थापक प्रिन्सिपल शिक्षासेवी अखिलकुमार कोइराला अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । आफ्नो जीवनको सम्पूर्ण समय शिक्षा क्षेत्रमा समर्पित गर्दै आएका कोइरालाले पछिल्लो समय वालमनोविज्ञानमा आधारित हाम्रो पाठशाला संचालनमा ल्याएका छन् ।
शिक्षाको माध्यमबाट समाज रुपान्तरणमा सक्रिय रहँदै आएका कोइराला सामाजिक क्षेत्रमा समेत त्यतिक्कै क्रियाशिल रहँदै आएका छन् । परिवर्तन आँफैबाट सुरुवात गर्नुपर्छ भन्ने यथार्थतालाई व्यवहारमा उतार्ने प्रयासमा काँचो माटोलाई आकर्षक रुपमा बदल्न अहोरात्र तल्लीन रहेका कोइरालाको नेतृत्वमा ९ सदस्यीय मन्टेश्वरी एसोसिएसन अफ झापाको जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्षमा पदम सुब्बा, सचिवमा गोपाल प्रसाद संंग्रौला, सहसचिवमा आइतराज लिम्बू र कोषाध्यक्षमा मुना पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरूमा क्रमशः मुना के.सी., रितु थापा मगर, प्रविन सिंह र पुजा राई रहेका छन् ।
मन्टेश्वरी एसोसिएसन अफ झापाका अध्यक्ष रामकुमार तामाङको अध्यक्षता एवं ज्ञानमाला स्मार्ट एकेडेमीका संस्थापक प्रिन्सिपल गोपाल प्रसाद संग्र्रौलाको सञ्चालनमा सम्पन्न अधिवेशनमा टाइनी टट्स मन्टेश्वरीका संस्थापक प्रविन सिंहले स्वागत मन्तव्य राखेका थिए ।
पहिलो कार्यकालमा संस्थाको स्थापना गरेर विद्यार्थी केन्द्रित उत्कृष्ट कार्यक्रमहरू सम्पन भएको रिपोर्टिङ्ग सहित अध्यक्ष रामकुमार तामाङले साङ्गाठनिक प्रतिवेदन र कोषाध्यक्ष मुना पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नव निर्वाचित अध्यक्ष अखिल कुमार कोइरालाले पहिलो कार्यकाल सफलता पुर्वक नेतृत्व गरेर जिल्ला अधिवेशन सुसम्पन्न गर्न सफल भएकोमा निवर्तमान अध्यक्ष रामकुमार तामाङ र जिल्ला नेतृत्वका सम्पुर्ण पदाधिकारीहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले अवको कार्यकालमा सङ्गठनलाई जिल्लाव्यापी विस्तार गर्नुपर्ने प्राथमिकतालाई प्रकाश पारेका थिए । आगामी भाद्र ९ गते शनिवार पोखरामा सम्पन्न हुन गइरहेको मन्टेश्वरी एसोसिएसन अफ नेपालको राष्ट्रिय सम्मेलनमा अध्यक्ष कोइराला र सचिव गोपाल प्रसाद संग्रौला सहभागी हुने निर्णय समेत सोही अधिवेशनमा भएको बताइएको छ ।
