कनकाई खबर \ झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले कनकाई सेवा केन्द्र अन्तर्गतको इकाई साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाको २७औं वार्षिकोत्सव तथा २९ औं साधारण सभा अन्तर्गत सुरुङ्गामा कनकाई सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको हो । संस्थाले सुरुङ्गा स्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सेवाकेन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको हो ।

दुई वर्ष अघि २०७८ को भदौ ५ गतेबाट कनकाई सेवाकेन्द्रका रुपमा सुरुङ्गाबाट सेवा विस्तार गरेको यस सेवा केन्द्रले २०८० को असार मसान्त सम्ममा ५ करोड ३५ लाखको कारोबार गरेको सेवा केन्द्रका प्रमुख चिरञ्जीवी संग्रौलाले जानकारी दिए । करिव ४ करोडको कर्जा लगानी गरेको कनकाई सेवा केन्द्रले यस वर्ष २२ लाख मुनाफा गर्न सफल भएको सेवा केन्द्रका प्रमुख संग्रौला बताउँछन् ।
सेवाकेन्द्र स्तरीय साधारणसभाका अवसरमा संस्थाको विभिन्न विधा अन्तर्गत केही सदस्यहरुलाई विशेष पुरस्कारसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा राजकुमार संग्रौला, प्रमिलाकुमारी शाह, ईश्वरा नेपाल, चुडालबन्धु आमाबुबा कोष र गुरुप्रसाद भट्टराई रहेका छन् ।
कनकाई सेवा केन्द्र कार्यालयका संयोजक डिल्ली बारकोटीको अध्यक्षता एवं कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमख अतिथ्यता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाकी सदस्य रचना संग्रौलाले स्वागत गरेकी थिइन् ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तु गर्दै अध्यक्ष भट्टराईले संस्थाले चालू आर्थिक वर्षमा सम्भव भएसम्म बाह्य कर्जा नलिने नीति लिएको बताए । प्रतिशत कबुल गरेर बैंकहरुबाट लिएको कर्जाको ब्याज १४ प्रतिशत सम्म तिर्नु परेपछि संस्थाले रचनात्मक कार्यक्रम अघि सारेर सदस्यहरुबाट नै रकमको जोहो गर्ने योजना अघि सारेको अध्यक्ष भट्टराईले बताए ।
कनकाई सेवा केन्द्र अन्तर्गतको इकाई साधारणसभामा अध्यक्ष भट्टराईले भने, संस्थाले यो वर्ष सहकारी आवास २ को सम्भाव्यता अध्ययन गर्नेछ । उर्लाबारीमा रहेको संस्थाको१ कठ्ठा १४ धुर जमिनमा संस्थाले व्यवसायिक भवन निर्माणको योजना पनि अघि सारेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
संस्थाले यो वर्षदेखि ‘रुपैयाँ एक, सेवा अनेक’ शीर्षकमा अभियान सञ्चालन गर्ने योजना प्रस्तुत गरेको बताइएको छ । संस्थाले सामाजिक गतिविधि सञ्चालन गर्न आवश्यक बजेटको जोहो गर्न यस्तो अभियान चलाउने योजना बनाएको जनाइएको छ । सदस्यहरुबाट प्रत्येक दिनको एक रुपैयाँका दरले संकलन गर्ने र संस्थाको तर्फबाट पनि एक रुपैयाँ नै थप गरी कोषको निर्माण गर्ने, तीन वर्षसम्म सदस्यहरुबाट रकम जम्मा गरी पाँचौं वर्षदेखि कार्यान्वयनमा ल्याउने संस्थाको योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
यसैगरी मेची बहुउद्देश्यीय सहकारी संस्थाले विद्युतीय गाडीको चार्जिङ स्टेशन राख्ने, खानेपानी उद्योग सञ्चालन गर्ने र सहकारी अस्पताल वा क्लिनिक सञ्चालन गर्ने महत्वाकांक्षी कार्यक्रम अघि सार्दै सम्भाव्यता अध्ययनकालागि बजेट पनि प्रस्तुत गरेको छ ।
संस्थाको नीति तथा कार्यक्रमहरु सुनाउँदै अध्यक्ष भट्टराईले सदस्यहरुको लामो अवधिको बचतलाई प्राथमिकता दिइने, यस वर्षलाई पनि अघिल्लो बर्षझैं बचत बृद्धिको वर्षका रुपमा सञ्चालन गरिने, सामुदायिक विद्यालय, टोल विकास संस्था र अन्य गैह्र नाफामुलक संस्थाहरुलाई सदस्यता दिई बचतमा सहभागी गराउने कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले यस वर्षदेखि मेघा बचत योजना र मेची पेन्सन बचत योजना अघि सारिएको सदस्यहरुलाई जानकारी गराए ।
कार्यक्रममा संस्थाका सह–लेखापाल चन्द्रबहादुर थापाले वित्तीय अवस्थाका बारेमा जानकारी गराउँदै यो वर्ष संस्थाले १० करोड ७४ लाख ६० हजार रुपैयाँ नाफा कमाउन सफल भएको बताए । संस्थाले आगामी वर्षमा १६ करोड कमाउने लक्ष्य राखेको थापाले जानकारी दिए । चालू वर्ष संस्थामा २ हजार ७५० जना नयाँ सेयर सदस्य थप गर्ने लक्ष्य राखिएको सह–लेखापाल थापाले बताए ।
गत आर्थिक वर्षको अन्त्यमा संस्थामा १५ हजार २५८ जना सेयर सदस्यबाट ३७ करोड ४९ लाख ८३ हजार ८०० रुपैयाँ सेयर रकम संकलन भएको थापाले जानकारी दिए । उनका अनुसार संस्थामा अघिल्लो वर्ष असार मसान्तमा ३५ करोड ५५ लाख७८ हजार ८०० रुपैयाँ रहेको शेयर पुँजी गत आवको अन्त्यमा १ करोड ९४ लाख ५ हजार रुपैयाँ थप भएको थियो ।
संस्थाको अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी रहेकोमा १९ करोड १ लाख २६ हजार रुपैयाँ थप भई हाल ३ अर्ब ८ करोड ६९ लाख ६८ हजार रुपैयाँ कर्जा लगानीमा रहेको र ९९ प्रतिशत असल कर्जा रहेको बताइएको छ । उनका अनुसार १ दशमलव५ प्रतिशत भन्दा कम लगानी मात्र खराबको सूचिमा छ, आम रुपमा संस्थाको वित्तीय कारोबार सुरक्षित रहेको छ ।
४३ करोड ९५ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको सो संस्थाले गत आर्थिक वर्ष २०७९ \ ०८० मा विभिन्न शीर्षकमा सरकारलाई २ करोड २३ लाख रुपैयाँ भन्दा बढी कर राजश्व तिरेको पनि समेत सहलेखापाल थापाले बताए ।
संस्थाले साउन २८ गतेदेखि भदौ ३ गतेसम्म ७ वटा क्षेत्रमा ईकाइगत साधारणसभा सम्पन्न गरीसकेको छ भने भदौ १२ गते माइन्युट प्रमाणिकरण साधारणसभा गर्ने कार्यतालिका बनाएको कनकाई सेवा केन्द्रका प्रमुख चिरञ्जीवी संग्रौलाले जानकारी दिए । कार्यक्रममा सेवा केन्द्र अन्तर्गतका सदस्य करिष्मा पाण्डे र सीता गुरागाईँलाई उपचार कोष बापतको संस्थाको नियमअनुसारको नगद सहयोग रकम प्रदान गरिएको थियो ।
इकाई साधारणसभामा प्रमुख अतिथी कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाई, कनकाई नगरपालिकाका सामाजिक संघसंस्था तथा सहकारी विभाग प्रमुख हरिप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको संचालन सेवा केन्द्र प्रमुख संग्रौलाले गरेका थिए ।
