झापा । झापाको दोमुखा जङ्गलमा निगुरो टिप्न जाँदा हराएकी एक वृद्धा तीन दिनपछि फेला परेको छ ।
शिवसताक्षी नगरपालिका १० स्थित दोमुखा बस्ने ७५ वर्षीया वृद्धा महिला जमुनाकुमारी लिम्बु र उनका ३८ वर्षीय ज्योति कुमार लिम्बु भदौ ३ गते बिहान साढे ५ बजे निगुरो टिप्न दोमुखा जङ्गलतर्फ गएका थिए ।
आमा छोरा दुवै सुस्त मनस्थिति हुन् ।आमासँगै जङ्गलमा गएका छोरा ज्योतिकुमार दिउँसो २ बजे घर फर्किएको र आमा जमुनाकुमारी जङ्गलभित्रै हराएका थिए । त्यसपछि परिवारजनले राती साढे ८ बजे अस्थायी प्रहरी चौकी माईधारमा सो घटनाको बारेमा जानकारी गराएका थिए ।
लगतै प्रहरी टोलीले उनको खोजीमा परिचालन भएको थियो । तीन दिनसम्म हराएकी जमुनाकुमारी बुधवार साँझ ६ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई फेला पारी स्थानीय क्लिनिकमा उपचार गराई माइती पक्षका दाइ लक्ष्मीकुमार राईलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
उनलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोडमा पठाइएको जनाइएको छ ।
