काठमाडौँ – सामाजिक सञ्जालमार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्ने व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लिलता प्रदर्शन गर्ने अर्घाखाँची घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्दै आएका २९ वर्षीय तुफान केसीलाई पक्राउ गरेको हो।महिलालाई अपरिचित व्यक्तिको भिडियो कल आएको र चिनजानकै व्यक्तिको हो कि भनि रिसिभ गर्दा उक्त भिडियो कलमा अश्लिलता प्रदर्शन गरिरहेको पुरुष देखिएको पीडितको भनाइ रहेको ब्यूरोका प्रवक्ता पशुपति रायले बताएका छन्।
उनका अनुसार उक्त भिडियो कल अर्को मोबाइल फोनमा रेकड गरी राखेर र यस्ता गतिविधि नगर्न उक्त व्यक्तिलाई आग्रह गर्दासमेत उल्टै आफ्नै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा समेत अश्लिल र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेको भन्दै उजुरी परेको थियो।उजुरीका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषणबाट तुफान केसी रहेको खुलेको हो।
उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, अपराधअन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
