कनकाई खबर \ रोटरी क्लवअफ सुरुङ्गाले संचालनमा ल्याएको विभूति इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.को कार्यालय उद्घाटन गरिएको छ ।

विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका यस क्षेत्रका सामाजिक व्यक्तित्वहरु रहेको रोटरी क्लव मार्फत संचालनमा आएको कम्पनीले कनकाई–३,सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । दुई वर्ष अघि मात्र स्थापना भएको यो कम्पनीका शेयर सदस्यहरु सबै रोटरी क्लवअफ सुरुङगाका पदाधिकारी एवं सदस्यहरु मात्र रहेको बताइएको छ ।
आय–आर्जनका विभिन्न क्षेत्रमा लगानी गर्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गामा आवद्ध पदाधिकारी एवं सदस्यहरुबाट कम्पनी स्थापना भएको संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले जनाएका छन् । सदस्यहरुबाट एक लाखदेखी १० लाख सम्मको शेयर खरिद भएको यो कम्पनीले प्रारम्भिक चरणमै आयआर्जनका क्षेत्रहरुको पहिचान गरी अन्य विभिन्न क्षेत्रमा गरेको लगानीले सफलताको संकेत देखाएको अध्यक्ष पोखरेल बताउँछन्। कम्पनीको शेयर सदस्य बन्नकालागी रोटरी क्लव अफ सुरुङ्गाको सदस्य नै हुनु पर्ने संस्थाले नियम बनाएको छ ।
तत्कालीन अवस्थामा ३०जना शेयर सदस्य रहेको कम्पनीको संचालक समिति अध्यक्षमा कुमारमणि पोखरेल, प्रवन्ध निर्देशकमा लुवराज उप्रेती रहेका छन् भने सदस्यहरुमा क्रमशः एल.पी.उप्रेती, डिल्लीराम मैनाली, खेमप्रसाद प्रसाई, शिवकुमार गिरी र विनिता मैनाली रहेको बताइएको छ । कम्पनीमा केही शेयर सदस्य थप हुन सक्नेगरी प्रस्ताव समेत आएको बताइएको छ ।
आर्थिक व्यवस्थापनलाई सदस्यहरुका विचमा पारदर्शी बनाउँने उद्येश्यले कार्यालय स्थापनाको अवसरमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक लुवराज उप्रेतीले हाल सम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए । दुई करोड सम्मको अधिकृत पुँजी रहन सक्ने यस कम्पनीले आयआर्जनका क्षेत्रमा अत्यन्तै धेरै काम गर्न सक्ने गरीको उद्येश्य राखेको प्रवन्ध निर्देशक उप्रेती बताउँछन् ।
कम्पनीका अध्यक्ष कुमारमणी पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज शिक्षासेवी एवं रोटरीयन अखिलकुमार कोइरालाले कम्पनीको कार्यालय समुद्घाटन गरेका हुन् । कार्यक्रममा शिक्षासेवी कोइरालासहित रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष एलपी उप्रेती, रोटरीका वर्तमान अध्यक्ष शिवकुमार कँडेल, चार्टर एकाउन्टेन्ट एन्जीला मैनाली, पत्रकार एवं रोटरीयन रामप्रसाद निरौला लगायतले कम्पनीको सफलताको शुभकामना दिएका थिए ।
