मेचीनगर, १० साउन । लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधान चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मेचीनगर–७ स्थित प्यारिभिट्टामा गाडी रोकेर जाँच गर्दा तीन जना चालकले लागूपदार्थ सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएको हो ।ती चालकहरुको पिसावबाट लागूपदार्थ सेवन गरे–नगरेको परीक्षण गर्दा लागूपदार्थ सेवन गरेको पाइएकोले कारवाहीका लागि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशीले बताए । उनीहरुलाई कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको उनले बताए ।
जिल्ला ट्राफिक, इप्रका, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले यातायात व्यवसायी, स्थानीयबासी र सञ्चारकर्मीहरुकोे रोहवरमा किट मार्फत लागूपदार्थ सेवन जाँचका क्रममा तीन जना चालकको नतिजा पोजिटिभ आएको थियो ।लागूपदार्थ सेवन गरेर गाडी कुदाउँनेलाई प्रहरीले कडाई गर्न थालेको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान नगरिएका प्रेस हर्नका सामग्रीहरु हटाउँन थालेको छ । ट्राफिक प्रहरीले १५ दिन अघिदेखि कोशी प्रदेशभरी यो अभियान सुरु गरेको छ । मेचीनगर अनलाइन बाट
