कनकाई खबर \ झापाको कनकाई नगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा प्रयोगमा गरेको प्रतिबन्धप्रति स्थानीय व्यवसायीहरुबाट भएको साथ र सहयोगकालागी कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले धन्यवाद ज्ञापन गरेका छन् ।

साउन १ गतेका दिनदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गरेको कनकाई नगरपालिकाले ९औं दिनका दिन मंगलबार सुरुङ्गा बजार अनुगमन गरेको छ । प्रतिबन्ध लगाएकै दिनबाट अप्रत्यक्ष रुपमा अनुगमन भइरहेको भएपनि सुरुङ्गा बजार क्षेत्रमा नगर प्रमुख पोखरेल सहितको नेतृत्वमा मंगलबार प्रत्यक्ष रुपमा अनुमगन भएको हो ।

कनकाई नगरपालिकाका प्रमुख पोखरेल सहित वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाई, वडाका जनप्रतिनिधि, वडासदस्य गोविन्द सुवेदीको संयोजकत्वमा बनेको वडास्तरीय अनुगमन समितिले बजार परिक्रमा गरेको हो । अनुगमनका क्रममा अन्य वडाका जनप्रतिनिधि सहित विभिन्न टोल समितिका पदाधिकारी, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै व्यवसायीहरुको समेत सहभागीता रहेको अनुगमन टोलीले व्यवसायीहरुप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको हो । अभियानलाई निरन्तरता दिनकालागी नगर प्रमुख पोखरेल, कनकाई—३ का वडाअध्यक्ष चम्लागाई लगायतले सम्पूर्ण व्यवसायी एवं सचेत नागरिकलाई हार्दिक अनुरोध गरेका छन्।

कनकाईं नगरपालिकाले केहीदिन अघिदेखि नै विभिन्न माध्यमबाट सूचना जारी गर्दै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्री —वितरण तथा सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने जानकारी गराउँदै आएको थियो । सोही अनुरुप अभियानले निरन्तरता पाएको जनाइएको छ । अभियान संचालन भएसँगै नगर क्षेत्रका चोकबजार साथै प्रमुख सरकारी कार्यालय आसपासमा समेत सुर्तीजन्य पदार्थका खोल साथै चुरोटका ठुटा समेत देखिन छोडेका छन् । नगरको निर्णयलाई अहिले धेरै सर्वसाधारण र व्यापारीले समर्थन गरेको पाइन्छ । उनीहरुले खुलेर समर्थन गर्दै अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएकाछन् ।
