कनकाई खबर \ पुर्वपश्चिम लोकमार्गस्थित कनकाई नगरपालिका— ७ दुर्गापुर क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जना युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह निवासी ३० वर्षिय कुमार दर्जी रहेको बताइएको छ । सडक दुर्घटनामा परी दर्जीको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरोध गरेका थिए । स्थानीयबासीको अवरोधपछि तनावग्रस्त बनेको घटनास्थलमा भिडियो खिचिरहेका पत्रकार सिएम शर्मामाथि दुव्र्यहार भएको छ ।
बिर्तामोडका एक युवा पदम श्रेष्ठले दुर्घटनापछिको दुर्गापुर सडक क्षेत्रको रिर्पोटिङको क्रममा भिडियो खिचिरहेका ठोस खबर टडकमका सम्पादक, कनकाई खबरका सहसम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सदस्य समेत रहेका पत्रकार शर्माको मोवाएल जबरजस्ती खोसेका थिए । पत्रकार शर्माको मोवाएल खोसेसँगै उपस्थित पत्रकारसहित स्थानीयको दवावपछि केहिबेरमा श्रेष्ठले मोवाएल फिर्ता दिएका छन । यसैविच भिजिलान्ते शैलीमा पत्रकार शर्माको मोवाएल खोस्ने श्रेष्ठलाई कडाभन्दा कडा कार्वाही गर्नका लागि पत्रकारजन्य संघसंस्थाले जोडदार माग गरेका छन ।
पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको चरम दुव्र्यहारको जतिनै शब्दमा निन्दा गर्दा पनि कम हुने भन्दै यस्ता खाले गलत हर्कतका विरुद्धमा पत्रकार महासंघ सदैव लागिपर्ने बताएका छन् । दोषीउपर उचित कार्वाहीको प्रक्रिया अगाडि नवढाएमा सशक्त आन्दोलन गरिने समेत झापालीले बताए । यसैगरि प्रेस सेन्टर झापा, कनकाई सुरुङ्गा प्रेस क्लव लगायतका संघ संस्थाले समेत दोसी उपर कार्वाहीको माग गरेका छन । पत्रकार शर्माको मोवाएल खोसेको केहि मिनेटमा श्रेष्ठले मोवाइल फिर्ता दिएका थिए ।
यता कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले प्रहरीकै अगाडि पत्रकारको मोवाएल खोसिनु र उनलाई प्रहरीले संरक्षणमा लिएर जानुले आशंका उत्पन्न गराएको बताएका छन् । प्रेस क्लवका अध्यक्ष निरौलाले घटनाका विषयमा प्रहरीका तर्फबाट बहस गरिरहेका उनी जोकोही भएपनि कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् । पत्रकार शर्मा कनकाई सुरुङ्गा प्रेस क्लवका कोषाध्यक्ष समेत हुन् ।
