रुकुम पश्चिम — रुकुम पश्चिमबाट भारतमा मजदुरी गर्न गएका एकै परिवारका ३ जना नेपालीको पहिरोमा परी ज्यान गएको छ ।
त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली र भिमा ओली तथा उनका १७ वर्षीय छोरा मोहोन ओलीको सिमलाको ठेट क्यार भन्ने ठाउँमा पहिरो जाँदा ज्यान गएको हो ।मृतकका साइँला भाइका छोरा किरण ओलीले दिएको जानकारी अनुसार सोमबार बिहान ११ बजेतिर घरमै बसिरहेका बेला एक्कासि पहिरो आएपछि घरमा बसिरहेका उनीहरुको ज्यान गएको हो ।
एक वर्षअघि मजदुरी गर्न भारत गएका दिपबहादुर सँगै काममा सघाउने भनेर एक महिनाअघि मात्रै उनकी श्रीमती र दुई छोरा पनि उनी भएकै ठाउँमा गएको बताउँदै किरणले जेठो छोरा काममा गएका बेला घरमा रहेका तीन जनाको ज्यान गएको बताए । ‘ठूला बुबाका जम्मा ४ सन्तानमध्ये दुई छोरी गाउँमै बिहे गरेर बस्नुभएको छ,’ उनले भने, ‘बाँकी अन्य सबै परिवार भारतमै हुनुहुन्थ्यो ।
आज यो दुःखद् खबर सुन्नुपर्यो ।’जेठो छोरा लोकेन्द्र ओली २०७८ फागुनमा वैदेशिक रोजगारीका लागी मलेसिया गएको र त्यहाँ बिरामी परेपछि दुई महिनामामै फर्किएको बताउँदै किरणले छोराको उपचारका लागि कमाउन भनेर दीपबहादुर भारत गएको जनाए ।उनीहरुको शव घर ल्याउने तयारी भइरहेको भए पनि घटनास्थलमा पहिरोका कारण बाटो नभएकाले गाह्रो परेको परिवारको भनाइ छ ।
