
राम निरौला
कनकाई खबर डेक्स / प्रेम सम्वन्ध गाँसेको २८ दिनपछि एक वर्ष अघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाह बन्धनमा बाँधिएका ३० वर्षिया डिल्ली गौतमको बेपत्ता भएको ११ दिन पछि शब फेला परेको छ ।
झापाको कनकाई नगरपालिका ७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागीरको सिलशिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । अघिल्लो महिनाको असार १७ गते मंगलवारका दिन विहान ८ बजे सधैं झैं अफिस जान भनि हिँडेका गौतम अचानक बेपत्ता भएका थिए । सोही दिनको मध्यान्न करिव १ बजेको समयमा विर्तामोडवाट १२ किलो मिटर पश्चिमको सुरुङ्गादेखी २ किलो मिटर उत्तर धनुषकोटी धामवाट आफ्नो अत्यन्तै मिल्ने साथी यामवहादुर रसाइलीलाई आँप लिएर आउँनकालागि फोन गरेका गौतम आफ्नो साथी धनुषकोटी पुग्नु अघि नै सम्पर्क विहिन भएका थिए । आँप लिएर धनुषकोटी पुगेका रसाइलीले साथीलाई फोन गर्दा फोन सम्पर्क हुन नसकेपछि अन्य आफन्तजनलाई खबर गरेका थिए ।
स्थानीयवासीसहित आफन्तजनको खोजी कार्य निरन्तर रुपमा चलिरहे पनि ११ दिनपछि असार २७ गते शुक्रवारका दिन कनकाई सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा गौतमको शब फेला परेको हो । मध्यान्न एक वजेको समयमा घाँस काट्न आएका स्थानीयवासीले झाडीभित्र नचिनिने अवस्थामा रहेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिन घोपामा पोष्टमार्टम गरेर शनिवारको दिन मात्र कनकाई माईमा गौतमको अन्त्यष्टी भएको हो । आर्थिक अवस्था कमजोर भएका गौतमका बाबु तुलसीप्रसाद गौतमको ३ वर्ष अघि नै निधन भएको हो भने आमा ईश्वरा गौतम माइलो छोरा बासुदेवसँग कनकाई ७, कालीमुडा स्थित आफ्नै घरमा बस्दै आएकी छन् । कान्छो भाइ युवराज वैदेशिक रोजगारीमा रहेका छन् ।
स्व. गौतमकी आमा ईश्वराले गहभरि आँसु पार्दै भनिन् “अघिल्लो दिन सोमवार बेलुकातीर घर आएको थियो , के छ आमा खबर, के गर्दै हुनुहुन्छ भनेर सोध्यो, अनि केही समय गफ्गाफ् गरेर हिँडेको छोरो, आजसम्म देख्न पाएकी छैन, हामी कसैलाई पनि केही भनेन, भाइ कान्छासँग भने फोनवाट केही कुरा भएको भन्ने सुनेकी छु , के कसो भयो, केही पनि थाहा छैन” भन्दै बरबराइरहेकी आमालाई संझाउँन सक्ने अवस्था नै थिएन । “छोरो हराएको कुरा सुनेपछि विर्तामोडस्थित सिद्धार्थ बैंकमा गएँ, उसका साथीहरुलाई सोधेँ, उनीहरुले चिन्ता नलिनु आमा हराएको छैन भनेर संझाए अनि आउँछ होला भन्ने आशा लागेको थियो , यो के को बज्र पर्यो” भन्दै चारैतिर छोराको खोजीमा आँखा डुलाइरहेकी थिइन् ईश्वरा ।
विर्तामोडस्थित कोठामा बस्दै आएका गौतम अघिल्लो दिन बेलुका आफ्नी श्रीमति कल्पना शारिरीक रुपमा केही अस्वस्थ भएपछि विर्तासिटी अस्पतालमा भर्ना गरेर रातभरी अस्पताल बसेका थिए । विहान ७ बजेतीर विरामी श्रीमतिलाई कोठामा पुर्याएको केही समयपछि, औषधी राम्ररी खाँदै गर्नु म अफिस हिँडेको भनेर ८ बजेतीर निस्कनुभएको भन्दै श्रीमति कल्पना बताउँछिन् । बेपत्ता हुनु पर्ने कारणका वारेमा जिज्ञासा राख्दा कल्पनाले त्यस्तो नराम्रो त केही थिएन , कहिलेकाँही भने सामान्य ठाक्ठुक् पर्ने गरेको प्रतिक्रिया दिइन् । बैंकको जागीरवाट पैशा कम्ती आउँने, उहाँ आँफू पनि मुटुको बिरामी, श्रीमति र आमाका लागि पनि उपचारकालागि पैशा खर्च गरिरहनु पर्ने भएपछि तनावमा परेर यस्तो निर्णय गरेको हुन सक्ने आफ्नो आशंका रहेको कल्पना बताउँछिन् । मृत्युको कारण के होला त भन्ने विषयमा सवैमा अन्यौलता नै रहेको स्थानीयवासी बताउँछन् ।
मृत्युको कारण अनुत्तरीत
घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बिर्तामोडले गौतमकको शव छेऊ सुसाइड नोट समेत भेटेको थियो । भिजेको अवस्थामा भेटिएको नोटमा परिवारसँग गुनासो पोखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
प्रहरी स्रोत भन्छ, “नोटमा श्रीमतीसँग असन्तुष्टि व्यक्त गरिएको थियो । जग्गा, जमिन र सम्पत्ति भाइको नाममा गरिदिनु भनिएको थियो ।” झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठ ले पनि शव छेऊ सुसाइड नोट भेटिए पनि के लेखिएको थियो भन्ने बारे बताएनन् । हाल अनुसन्धानमै रहेकाले पोष्टमार्टमको रिपोर्ट आएपछि धेरै कुराको जानकारी आउँन सक्ने कनकाई खबरसँगको सम्पर्कमा प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रहरी चौकी, सुरुङ्गाका एक अधिकृतका अनुसार गौतमको शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, रिपोर्ट अझैसम्म आएको छैन । त्यहाँका एक चिकित्सकले शव सडेको अवस्थामा भेटिएकाले रिपोर्ट आउन ढिलो भएको बताए । सामान्यतयाः मानिसको मृत्युको २४ घण्टापछिबाटै शव विग्रिन थाल्छ । चिसो मौसममा लामो समयसम्म शव नविग्रिने भए पनि गर्मीका कारण गौतमको शव पूर्णतः विग्रिएको अवस्थामा भेटिएको थियो ।सुसाइड नोटले आत्महत्या भएको हुनसक्ने आशंकालाई जोड दिए पनि घटनास्थल वरपर विष वा झुण्डिएको हुनसक्ने सबुत नभेटिनुले गौतमको मृत्यु रहस्यमय छ । यो रहस्यको पर्दा चिकित्सकले पोष्टमार्टम रिपोर्ट दिएपछि मात्रै खुल्नेछ । रिपोर्टमा गौतम मृत्युको प्रकृति र कारणबारे खुल्नेछ ।
यदी रिपोर्टमा उनले विष सेवन गरेको वा झुण्डिएको कुनै शंकेत देखा नपरे प्राविधिक पक्षको विश्लेषणबाट प्रहरीले थप अनुसन्धानको सुरुवात गर्न सक्नेछ । भदौ १ गतेदेखि जारी मुलुकी अपराध संहिताले आत्महत्या गर्न प्रोत्साहन गर्नेलाई पनि दोषी मानेको छ । त्यसतर्फ पनि प्रहरीले अनुसन्धान गर्नेछ ।