कनकाई खबर \ सामाजिक क्षेत्रमा विभिन्न गतिविधि संचालन गर्दै आएको रोटरी क्लव अफ सुरुङ्गाले कनकाई घाट परिसरमा वृक्षरोपणसहित सरसफाई गरेको छ ।
रोटरी क्लवसहित स्थानीय सरकारका प्रमुख साथै प्रतिनिधिहरु, कनकाई घाट व्यवस्थापन समिति, कोटीहोम धार्मिक संस्था सहितको सहभागीतामा वृक्षरोपणसहित सरसफाई कार्यक्रम सम्पन्न भएको हो । मानविय स्वास्थ्यसँग जोडिएको वातावरणको शुद्धता साथै सरसफाईको क्षेत्रमा विशेष सचेतना जगाउँदै आएको क्लवले स्थानीय स्तरमा क्रियाशिल अन्य संघसंस्थाहरुलाई समेत कनकाई घाटको सरसफाईमा उत्प्रेरणा जगाएको बताइएको छ । वार्षिक रुपमा विशेष कार्यक्रमका साथ कनकाई घाटको सरसफाई गर्दै आएको रोटरी क्लवले यस पटक घाट परिसरमा धार्मिक महत्वका विरुवा रोपण गर्ने मात्र होइन कि विरुवाको संरक्षणमा समेत विशेष व्यवस्था मिलाएको बताइएको छ । रोटरीले विरुवाको संरक्षणकालागी आवश्यक पर्ने संख्यामा फलामे टोकरीसहितको व्यवस्थापन गरेको क्लवका अध्यक्ष खेम प्रसाईँले जानकारी दिए ।
क्लवका अध्यक्ष प्रसाईँ एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एकैसाथ विरुवा रोपण गरेर सरसफाई सहितको वृक्षरोपण कार्यक्रम प्रारम्भ गरेका थिए । घाटको विश्रामस्थल वरिपरि १८ वटा बज्रदन्ती र चितास्थल वरिपरि ६ वटा कपुरका बिरुवा रोपिएको क्लवका अध्यक्ष प्रसाईँले कनकाई खबरलाई जानकारी दिए ।
कार्यक्रममा कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, कोटीहोम धार्मिक विकास संस्थाका अध्यक्ष नवलकिशोर दत्त सहित अन्य पदाधिकारीहरु, घाट परिसरमा निर्माण भएको चितास्थलको निर्माणकर्ता एवं दाता परिवारसहित रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल, टिकाप्रसाद कट्टेल, सुशिलकुमार श्रेष्ठसहित पदाधिकारीहरुको सहभागीता रहेको रोटरी क्लव अफ सुरुङ्गाका वर्ष २०२३ \ २४ का अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।
