कनकाई खबर \ झापाको कनकाई—१ निवासी क्यान्सर पिडित तारामाया घतानीको उपचारमा सहयोग रकम जुट्न थालेको छ ।
ज्यालामजदुरी गर्दै आएका श्रीमान पुर्णवहादुर घतानीकी ३१ वर्षिय श्रीमति तारामाया गर्भवती भएकै अवस्थामा क्यान्सरबाट पिडित बनेपछि घतानी परिवारमा ठूलो चोट परेको छ । बिरामीका कारण ज्यालामजदुरी समेत गर्न नपाएपछि उपचारकालागी आर्थिक अभावले छटपटाएका घतानी परिवारका विषयमा कनकाई खबर डटकम अनलाइन सहित कनकाई खबर साप्ताहिकले बिरामी घरमै रहँदा त्यसपछि अस्पतालमै गएर पनि समाचार सार्वजनिक गरेसँगै सहयोगी मनहरु अघि बढ्न थालेको बताइएको छ ।
यसै क्रममा हाल अष्ट्रेलियामा रहेका कनकाई– ३ सुरुङ्गा निवासी दुर्गाप्रसाद र रोजीला उप्रेतीबाट रु.५ हजार नगद प्राप्त भएको छ । गरिव, दुखी र पिडामा परेका जो–कोहीलाई पनि थोरै भएपनि सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावना भएका उप्रेतीले यस अघिदेखी नै विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् । कनकाई खबरमा समाचार हेरेपछि तत्काल सम्पर्कमा आएका उप्रेतीले अरु साथीहरुसँग समेत समन्वय भइरहेको बताए ।
सहयोगकै क्रममा कनकाई –१स्थित अखिल नेपाल महिला संघको तर्फबाट नगद रु.१० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । संघकी वडाअध्यक्ष गोमा कोइराला न्यौपाने, जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज सीता अधिकारी, कनकाई वडा नं.१ का वडाअध्यक्ष सुशिल पोखरेल, नेकपा एमाले कनकाई १ का अध्यक्ष ऋषिकेश खतिवडा, नगर सदस्य सन्जीता ल्वागुन सहितको उपस्थितीमा अखिल नेपाल महिला संघ कनकाई वडा नं. १ को तर्फबाट स्वतः स्फुर्त रुपमा सहयोग गरेको बताइएको छ ।
त्यस्तै कनकाई नमुना नौमति बाजा समूहको तर्फबाट रु.६ हजार ७ सय १० नगद सहयोग हस्तान्तरण गरिएको बताइएको छ । सहयोगकै क्रममा सहजीकरण महिला समूहको तर्फबाट लिला प्याकुरेलले रु.८ हजार ३ सय नगद हस्तान्तरण गरेको बताइएको छ । त्यस्तै सर्वेश्वर किर्तन मण्डली कनकाई –२ का तर्फबाट रुपा गिरीले रु.२ हजार ६ सय सहयोग रकम परिवारजनलाई हस्तान्तरण गरेको बताइएको छ । केही दिन अघि पनि स्थानीय महिलाहरुको पहलमा २ हजार ६ सय रुपैंयाँ र एक बोरा चामल सहयोग स्वरुप हस्तान्तरण गरिएको स्थानीय अग्रज महिला सावित्रा दहाल भट्टराईले जानकारी दिएकी छन् । साथै अभियानलाई निरन्तर जारी राख्ने समेत भट्टराईले बताएकी छन् ।
आफ्नो परिवारको सुन्दर भविष्यको कल्पनागर्दै पाँचवर्ष अघि पहाडबाट मधेस झरेका घतानी परिवारमा एक पछि अर्को समस्याले अहिले पूरा परिवार पिडामा परेको छ । आँफू पनि दमको समस्याबाट ग्रसीत बनेका पुर्णवहादुरकी श्रीमति तारामाया घतानी यतिबेला किमो चढाउँदै बेड रेष्टमा घरैमा रहेकी छन् । डाक्टरको सल्लाहअनुसार नौ महिना पूरा भएपछि जेठ २९ गतेका दिन बिएण्डसी अस्पतालमा अप्रेसन गरेर बच्चा निकालेको भएपनि बच्चा आँफै जन्मजात अस्वस्थ भएका कारण घतानी दम्पतीलाई पिडा थपिएको हो । गर्भवती भएकै अवस्थामा क्यान्सरबाट पिडित बनेकी तारामायालाई अप्रेसनपछि अब तत्काल किमो चढाउँनु पर्ने समय भएकाले खर्च अभावमा घतानी परिवार यतिबेला दाताको पर्खाइमा रहेको छ ।
बिएण्डसी अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर चन्द्रशेखर भगतकाअनुसार बच्चाको देब्रे तर्फको मृगौला सुनिएको कारण थप उपचारकालागी काठमाण्डौ लानु पर्ने भएको छ । विरामीका कारण ज्यालामजदुरी समेत गर्न नपाएपछि उपचारकालागी आर्थिक अभावले छटपटाएका घतानी परिवारलाई स्थानीय छरछिमेकीको पहलमा कनकाई नगरपालिका, नगरका सबै वडा कार्यालयसहित स्थानीयवासीबाट भएको आर्थिक सहयोगले प्रारम्भिक चरणको स्वास्थ्य उपचार भएको सहयोगमा सम्लग्न स्थानीयबासी बताउँछन् ।
सहयोग गर्न चाहने सम्पुर्ण सहयोगी मनहरुलाई क्यान्सर पिडित तारामायाका श्रीमान पूर्णबहादुर घतानीको सुरूड्गा शाखामा रहेको नविल बैंकको खाता नम्बर १६११००१७५०१७५० मा सहयोग रकम जम्मा गरिदिन अपिल गरिएको छ । सम्पर्क गर्न चाहनेलाई मोबाइल नं. ९८१८५६७३०९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
