सवारी दुर्घटनामा सुदूरपश्चिमका आन्तिरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।मृत्यु हुनेमा मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले कान्तिपुर टेलिभिजनलाई जानकारी दिए । घाइते मन्त्री सिंह, उनका पीएसओ (प्रहरी हवल्दार) दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताए ।सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दिउँसो २ बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका १, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्याएका थिए ।
