कनकाई खबर \ गजलकार कृष्णदेव रिमाल ‘शब्दसेना’ को शब्दरचनामा रहेको ‘झेली गर्यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ। प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले सङ्गीत दिएका छन् ।
सुगम सङ्गीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको युगल आवाजमा स्वराङ्कन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गजलमा वियोगान्त प्रेम कथालाई मूल कथ्य बनाइएको छ। मनैदेखि मन पराएको र हृदयमा हरपल सजाएको मान्छेसँग पनि दुई किनार झैँ भएर बाँच्नु पर्दाका पीडाहरू गजलमा पोखिएका छन् ।
भिडियो निर्देशक बिक्रम चौहानको छायाङ्कनले सो गजललाई थप मनोहर तुल्याएको छ। गजल सार्वजनिक भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै रिमालले सो गजलले सङ्गीत प्रेमीहरूको मन जित्न सक्ने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गरेका थिए। गजलकार कृष्णदेव रिमाल सबैजसो साहित्यिक विधामा कलम चलाउने कुशल शब्द शिल्पी हुन् । उनी विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष समेत रहँदै आएका छन् ।