कनकाई खबर \ नेपाल भारतको सिमा क्षेत्रमा पर्ने दिगल बैंक—लसुना नाका संचालनकालागी आवश्यक पहल सुरु भएको छ ।

नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको सक्रियतामा दिगल बैंक ग्राम पञ्चायत कार्यालयको सभा हलमा सम्पन्न एक विशेष कार्यक्रमका विच नाका खोल्ने विषयमा दुवै देशबाट उपस्थित सरकारका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । दिगल बैंक— लसुना नाका बन्द हुँदाको अवस्थामा नागरिकलाई आवतजावतमा समस्या भइरहेको भन्दै नाका सहज रुपमा खुल्ला भएमा दुवै देशलाई फाईदा हुने बताइएको छ ।
दिगल बैंक ग्राम पञ्चायतका मुखिया पुनमदेवी सिंहको अध्यक्षता एवं भारतीय लोक सभाका सदस्य डाक्टर जावेद आजातको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल एवं भारत तर्फका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको बताइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी आजातले दिगल बैंक—लसुना नाका संचालनमा ल्याउँन सकेमा दुवै देशको आर्थिक वृद्धि दरमा सुधार आउँने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथी आजातले नाका संचालनमा ल्याउँने विषयमा भारतीय सरकारका तर्फबाट आवश्यक प्रक्रिया अघि बढाउँन आँफूले सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
नेपाल साथै भारत सरकारका समेत प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा नेपालका तर्फबाट प्रदेश सभा सदस्य लखी गणेश, स्थानीय सरकार झापा गाउँपालिका वडा नंं. १ का वडाअध्यक्ष राजकुमार यादव, वडा नं.४ का वडाअध्यक्ष मोहम्मद ताहिर, नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाका अध्यक्ष अर्जुन बोहोरा, संघका सल्लाहकार संयोजक एवं नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेल, रेडक्रस कुमरखोदका सभापति सुन्दरलाल गणेश साथै भारतीय युवा परिषद जिल्ला महामन्त्री गणेशकुमार सिंह लगायतले सम्बोधन गर्दै दिगल बैंक—लसुना नाका संचालनकालागी दुवै पक्षबाट आआफ्नो सरकारसँग पहल गर्ने विषयमा सहमति भएको नेपाल—भारत मैत्री संघ सुरुङ्गा उपशाखाका अध्यक्ष अर्जुन बोहोराले जानकारी दिए । कार्यक्रममा नेपाल भारत मैत्री संघ सुरुङ्गा उपशाखाको उद्येश्यप्रति खुशी व्यक्त गर्दै दिगल बैंक ग्राम पञ्चायतका तर्फबाट प्रशंसा पत्र समेत प्रदान गरेको बताइएको छ ।
नेपाल र भारत बिचको सम्बन्धलाई सुमधुर बनाउँन पहल गरिरहेको यस उपशाखाले यस अघि पनि भारतको सिमा क्षेत्रमा रहेको झापा गाउँपालिकास्थित डिल्लीराज माविमा वृहत रुपमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको बताइएको छ । सोही कार्यक्रममा भारत तर्फ दिगल बैंक पञ्चायतका मुखियासहित भारतीय नेताहरु साथै संचारकर्मीको उपस्थिती रहेको उपशाखाकी सचिव गोमा कार्कीले बताएकी छन् ।
