कनकाई खबर \ तराईकै पहिलो सामुदायिक वनका रुपमा स्थापित कनकाई सामुदायिक वनमा फोहोर फाल्नेलाई अब १० हजार जरिवाना गरिने भएको छ ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं’भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा कनकाई सामुदायिक वन परिसरमा आयोजना गरिएको सरोकारवाला सहितको एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वन क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने बताए ।
सामुदायिक वन क्षेत्र दिनप्रतिदिन अधिक्रमण हुँदै गएको साथै फोहोरको चपेटामा समेत परेर वातावरणमा नै समस्या आउँन थालेको भन्दै सामुदायिक वन क्षेत्रमा जथाभावी फोहोर फाल्ने जोकोहीलाई पनि रु.१० हजार सम्म जरिवाना गरिने नगर प्रमुख पोखरेलले बताए । विश्व वातावरण दिवसको अवसरमा कनकाई सामुदायिक वन सहित दुई दर्जन बढी क्रियाशिल सामाजिक संघसंस्थाको उपस्थिती रहेको सरसफाई सहितको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले सरसफाई सम्बन्धीको कार्यविधि हेरेर जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिने प्रतिवद्धता जनाए ।

कनकाईलाई सफा र हरियाली नगर बनाउँने कार्यमा यस अघिदेखि नै कनकाई नगरपालिकासहित केही संघसंस्थाहरुले अभियान संचालन गरिसकेको भएपनि यस कार्यमा सरोकारवाला थप गम्भिर हुनु पर्ने भन्दै नगर प्रमुख पोखरेलले अब कडाईका साथ नियम बनाएर जरिवाना साथै पुरस्कारको व्यवस्था गरिएको बताएका छन् । कनकाई नगरपालिकाको गाडीले नियमित रुपमा फोहोर संकलन गरिरहेको भएपनि विशेष गरी बजार क्षेत्रबाट फोहोरलाई सार्वजनिक स्थलमा साथै वन क्षेत्रमा समेत फ्याँक्ने गरेको भन्दै यस तर्फ सचेत हुन सर्वसाधारणलाई नगर प्रमुख पोखरेलले अनुरोध गरे ।
स्थानीयबासीको समेत पहलमा संचालनमा आउँन लागेको कनकाई, विर्ता , अर्जुन नविकरणीय उर्जा कम्पनीकालागी फोहोरको आवश्यक परेका कारण अब सम्बन्धित सबैले जथाभावी फोहोर नफाली फोहोरको वर्गिकरण गरेर सहयोग गरिदिन समेत नगर प्रमुख पोखरेलले सबैलाई अनुरोध गरे । कनकाई सामुदायिक वन समूहको आयोजना एवं स्थानीय दुई दर्जन बढी विभिन्न सामाजिक संघसंस्थाहरु सह–आयोजक रहेको सरसफाई विशेष कार्यक्रममा कनकाई नगरपालिका संरक्षक रहेको वन समूहका उपाध्यक्ष ललितबहादुर कार्कीले जानकारी दिए ।

वन समूहका अध्यक्ष ख्याम ओलीले २६७.०६ हेक्टर क्षेत्रफलमा रहेको वन क्षेत्रमा हुने चोरी तस्करी साथै फोहोर मैला समेतको नियन्त्रणकालागी नगरपालिकासँगको समन्वयमा सिसि क्यामेरा जडान गरिने बताए । सुरुङ्गा बजार पश्चिम÷उत्तर तर्फको कनकाई सामुदायिक वन क्षेत्रमा लोकमार्ग (हाइवे) बाट उत्तर ५ वटा र दक्षिण तर्फ २ वटा ब्लकमा वन क्षेत्र विभाजन गरिएको वन समूहका अध्यक्ष ओली बताउँछन् । वन क्षेत्रको दक्षिण तर्फ देखिएका विभिन्न शाखा बाटाहरुलाई बन्द गरेर अब ४ वटा फायरलाइन (बाटाहरु)लाई व्यवस्थित गर्ने सामुदायिक वनले योजना बनाएको अध्यक्ष ओलीले बताए । बन क्षेत्र भित्र अनाधिकृत रुपमा निर्माण गरिएका बाटाहरुलाई बन्द गरी अतिक्रमण हटाउँन सामुदायिक वनले अभियान संचालन गरिसकेको वन समूहका अध्यक्ष ओलीले जानकारी दिए ।
विश्व वातावरण दिवसको अवसर पारेर कनकाई सामुदायिक वनले आफ्नो क्षेत्रभित्र फोहोर फ्याँक्ने जोकोहीलाई जरिवाना गर्ने साथै फोहोर फ्याँकेको देख्ने र भेट्ने जोसुकैले पनि फोटो र भिडियोसहित कार्यालयमा उपलव्ध गराइदिएमा त्यस्तो व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गर्ने अध्यक्ष ओलीले बताएका छन् । कनकाई सामुदायिक वन, कनकाई सब डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालय झापा, कनकाई नगरपालिका सहित सरोकारवालाहरुको सहयोगमा अभियान संचालन गर्दै बन्द गरिएका बिच बिचका स—साना बाटाहरुमा विभिन्न जातका विरुवा रोपण गरिने अध्यक्ष ओलीले जानकारी दिए ।

उता वन समूहका उपभोक्ता समेत रहेका वडा नं.४ का स्थानीयबासीले भने पुरानो गोसखानबाट पश्चिम वडा नं.४ तर्फ जाने वन क्षेत्रकै सबै भन्दा पुरानो बाटो मर्मत सम्भारको अभावमा दिनप्रतिदिन जिर्ण बन्दै गएको भन्दै वन समूहको ध्यानाकर्ष गराएका छन् । बन क्षेत्रका अन्य बाटाहरु मर्मत सम्भार भइरहे पनि दैनिक रुपमा सयौं उपभोक्ता ओहोरदोहोर हुने यो बाटो ओझेलमा परेको भन्दै बाटो स्तर उन्नती गरेर थप व्यवस्थित गर्न उपभोक्ताले जोडदार माग गरेका छन् ।
सामुदायिक वनको स्वच्छ वातावरणका कारण यसको आसपासमा बसोबास गर्ने स्थानीयबासी प्रत्यक्ष लाभान्वीत हुँदै आएको बताउँदै कनकाई– ३ का वडाअध्यक्ष युवराज चम्लागाईँले बन क्षेत्रमा हुने फोहोरमैलाले वातावरण समेत दुषित हुने बताए । आफू स्वस्थ रहनकालागी पनि फोहोरको वर्गिकरण गरेर नगरपालिकाबाट फोहोर संकलन गर्न आउँने गाडीमा व्यवस्थापन गरिदिन वडाअध्यक्ष चम्लागार्इँले सम्बन्धित सबैलाई अनुरोध गरे ।कार्यक्रममा कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख याम राना, सल्लाहकार सदस्य हरिभक्त सिटौला लगायतले सम्बोधन गर्दै वातावरण संरक्षण एवं प्रवद्र्धनकालागी फोहोरमैला व्यवस्थापन प्रमुख विषय भएको भन्दै अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
वन समूहका अध्यक्ष ओलीको सभापतित्व रहेको औपचारिक कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य एवं फोहोर व्यवस्थापन संयोजक गणेश पोखरेलले औचित्य सहित स्वागत गरेको कार्यक्रममा कनकाई वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदीसहित वडा नं.३, ४ र वडा नं.२ का जनप्रतिनिधिहरु, सहआयोजकका रुपमा रहेका सबै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, वन समूहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन वन समूहकी सचिव मान्ता खरेलले गरेकी थिइन् ।

