फेरि अर्को ‘दासढुंगा काण्ड’ नहोला भन्न सकिँदैन-सीपी मैनाली

सामुहिक बलिमा आफ्ना दशौं हजार, बीसौं हजार राँगा साथीहरुलाई मारेको तमासा एउटा लिखुरे पाडाले उभिएर हेरिरहेको दृश्य एउटा पेपरमा मैले देखें । त्यो लिखुरे पाडाको मनमा कस्तो चिन्ता थियो होला ? मलाई ०२८/०२९ सालमा त्यस्तै भएको थियो । वरिपरिका सारा मान्छेहरु सखाप भएका थिए । धेरै साथीहरू समातिए । मारिए । आतंकले भागे । तर, पनि मैले हिम्मत हारिनँ । म उभिएँ ।

मैले साथीभाइ जम्मा पारें । झापा विद्रोहपछि ०३१ सालमा फेरि साथीहरूलाई अपील गरें । ०३२ सालमा कोअर्डिनेसन बनाइयो । फेरि समातिएँ । जेल ब्रेक गरें । फेरि बाहिर आएँ । र, फेरि काम गरें । ०३५ सालमा नेकपा माले पार्टी बनाइयो । तर, त्यसक्रमा पार्टीभित्र धेरै धमिराहरू पसेछन् ।

०२८/०२९ सालतिर मलाई पनि धेरै आफन्तले भाग सीपी भाग भनेका थिए । तर, मैले जुन बाटो लिएको थिएँ, त्यसमा गद्दारी गर्नुहुँदैन भनें । यत्रो साथीहरू मरिसके, म किन भाग्ने भनेर भागिनँ । म पनि भागें भने यत्रो सन्देश कसले प्रवाह गर्ने भन्ने लागेर उभिएँ । मैले कसैलाई गुन लगाएको थिइनँ, मैले जुन निर्णय गरें, त्यसप्रति मलाई गर्व छ ।

सबै काम मेरै जीवनकालमा हुनुपर्छ भन्ने छैन । म जति सक्छु, म गर्छु । भोलि मेरो लाइनलाई अगाडि बढाउन अरु पनि आउन सक्छन् । सोभियत संघमा देशै भताभुङ्ग नभएसम्म त्यहाँका कम्युनिस्टको चेतै खुलेन । तर, नेपालमा कम्युनिस्ट पार्टी नसकिँदै नयाँ पालुवा पलाउँछ । किनकि, यहाँ हामी छौं ।

‘ऐरावत हात्ती’ सँग चुनावी वार्ता !

म ११ असोज ०७४ मा केपी ओलीको निवासमा गएर चुनावी सहकार्यको कुरा गर्दा उनले मलाई ठाडै ‘तपाई नेकपा माले विघटन गरेर आउनुस्’ भने । मैले भनें- यो सम्भव छैन । किनभने, माले देश र जनताको पक्षमा, मार्क्सवादी बाटोमा छ । त्यसैले विघटन गर्नुको कुनै औचित्य छैन ।
स्थानीय चुनावमा एमाले र माओवादीले हामीलाई झुक्याए । तलतल सहकार्य गर्ने भने पनि स्थानीय तहमा कतै सहकार्य गरेनन् । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा तालमेल गर्नका लागि मैले नै पहल गरेको थिएँ ।

त्यो भेटमा मैले ओलीलाई भनें- जहाँसम्म तपाईको पार्टीसँग एकताको कुरा छ, त्यसमा संवाद नै भएको छैन । अब असोजमा आएर घुँडा धसेर बहस गर्ने कि चुनावको तयारीमा लाग्ने ? तत्कालै एकीकरणको घोषणा गर्न पनि सकिँदैन किनभने समय पनि छैन । त्यसैले अहिलेलाई चुनावी तालमेल गरेर जाउँ, पछि पर्याप्त बहस गरेर जाउँला मूलभूत कुरा मिले पार्टी एकता पनि होला । मूल कुरा नमिलेर खुद्रा कुरा मिले सहकार्यसम्म हुन्छ । मैले भनेको यो कुरा ओलीले मानेनन् ।

मैले हाम्रो पार्टीको अडान राखेपछि ओलीले दशैंपछि कुरा गरौंला भने । दशैं असोज १५ गते थियो । १७ गते फोन गर्दा सम्पर्क हुन सकेन । दिउँसो थाहा भयो, उनीहरु माओवादीसँग सहकार्यको घोषणा गर्ने तयारीमा लागेका रहेछन् ।

मैले उनीहरुको घोषणा सुनें । त्यसमा साना दललाई पनि सीट दिएर बाँकीमा एमाले र माओवादीले ६०/४० गर्ने भनिएको थियो । यिनीहरूले सबैलाई समेट्न लागेका रहेछन् भन्ने लाग्यो । असोज १८ गते बिहानै केपी ओलीको निवासमा गएँ । तपाईले साना वाम दल र राष्ट्रवादी दललाई सिट दिएर बाँकीमा ६०/४० गर्न खोज्नुभएको रहेछ । हामीलाई पनि अटाउने ठाउँमा राखिदिनु भएको रहेछ, धन्यवाद भनेँ ।

मैले तपाईको घोषणाअनुसार सहकार्य गर्न हामी तयार छौं भन्दा उनले ‘त्यसो गर्ने हो भने तपाई सूर्यचिह्नबाट चुनाव लड्नुपर्छ’ भन्न थाले । १७ गते सूर्य चिह्नबाट लड्छु भनेका प्रचण्डले १८ गते बिहानसम्म त्यो चिह्नबाट नलड्ने निश्चित भइसकेको थियो । मैले भनीदिएँ- हामीसँग त पार्टी एकीकरणको कुरै भएको छैन । कसरी लड्न मिल्छ सूर्य चिह्नबाट ? कुराकानी भएर चुनावपछि एकीकरण गर्ने टुङ्गो लागेको भए त हुन्थ्यो ।’

ओलीसँग हाम्रो प्रस्ताव के थियो भने प्रतिनिधिसभामा चार/पाँच ठाउँ र प्रदेशमा ठूलोमा तीन सानोमा दुई सीट भए हुन्छ । त्यो पनि हाम्रो प्रस्ताव न हो, तपाईहरु कति भन्नुहुन्छ, भन्नुस् ।

ओलीले केही दिनपछि आउनू भने । एकदिन बिहान ८ बजे पुगेको थिएँ, उनले सूर्य चिह्नमा नलड्ने भए सहकार्य हुँदैन भने ।

ओलीले हुँदैन भनेकै दिन मैले प्रचण्डलाई पनि भेंटे । उनले तपाईलाई कम्तिमा प्रतिनिधिसभामा एक वा दुई र प्रदेशसभामा एक/एक सिट त दिनुपर्ने हो भने । म पनि कोशिस गर्छु पनि भनेका थिए प्रचण्डले । तर, दुबैजनाले मिलेर दिएनन् । पछि एउटा अन्तर्वार्तामा प्रचण्डले हामी दुबैजनाले मिलेर अरु पार्टीलाई नदिएको हो भनेका छन् ।

कुनै विदेशी शक्ति पसेर अरुसँग सहकार्य गरे पनि सीपी मैनालीको मालेसँग नगर्नू भनेको हुनुपर्छ । नेकपा मालेलाई राजनीतिकरुपमै ‘किल’ गर्नुपर्छ भन्ने कुनै विदेशी शक्तिको प्रभावमा दुई नेताले हामीलाई नदिएका हुन् । यसरी सहकार्य त हुन सकेन भने पार्टी एकता त झन डाँडापारिको कुरा भइहाल्यो ।

चुनाव जितेर आएपछि त झन उनीहरु ऐरावत हात्ती जस्ता भएका छन् । यस्तो बेलामा वार्ता गर्न जानु भनेको सिधै घाँटी निमोठिमाग्नु हो ।

यो ०३९ साल कात्तिक २२ गतेको घटना थियो । त्यसै दिनदेखि एमालेमा अराजनीति छिर्‍यो, षडयन्त्र पस्यो । गुटबन्दी छिर्‍यो

एमालेमा गुटबन्दी छिरेको मिति- ०३९ साल कात्तिक २२ गते

तत्कालीन राजा वीरेन्द्रले अघि सारेको शान्ति क्षेत्रको प्रस्तावलाई पूर्णरुपमा विरोध गर्नुपर्छ भन्नेहरुले त्यसबेला मलाई राजावादी भने । मैले त्यतिबेला त्यो प्रस्तावलाई पूर्णतः विरोध नगरौं भनेको थिएँ । सिधै विरोध गर्नुभन्दा पनि विश्लेषणात्मक ढंगले हेर्नुपर्छ भन्ने मेरो धारणा थियो । त्यसो भन्दा मलाई दक्षिणपन्थी, राजावादी भन्ने मान्छेहरु यिनै हुन् ।

जनमत संग्रहपछि अबको कार्यनीति भनेको पञ्चायत ढाल्ने हुनुपर्छ भनेको थिएँ । तत्काल जनवादको पनि होइन, गणतन्त्रको पनि लाइन होइन, भनेँ । त्यसोभन्दा मलाई दक्षिणपन्थी र कांग्रेस परस्त भने ।

पार्टीको केन्द्रीय कमिटीमा एक्लो भएपछि मैले महासचिवबाट राजीनामा दिएँ । केन्द्रीय कमिटीमा अल्पमतमा परेकाले महासचिव हुन नैतिकरुपले पनि उपयुक्त नभएकाले राजीनामा दिनुपर्छ भनेर दिएँ । तर, त्यो राजीनामा स्वीकृत गरेनन् । उनीहरुले मसँग हामी एक्लाएक्लै सल्लाह गर्छौं भने । त्यसो नगर्नुस, मेरै अगाडि छलफल गर्नुस् भन्नुपर्थ्यो । त्यसपछि गैरराजनीतिक तरिकाले मेरो राजीनामा च्यातेर मलाई कारवाही गरे । कारवाही गरेर मलाई महासचिवबाट हटाए ।

जबकि माथि भनेजस्तो मैले कठिन परिस्थितिमा झापा आन्दोलनको सन्देशलाई जोगाउन काम गर्दै आएँको थिए । पुष्पलालले भनेजस्तै नीतिअनुसारको नेतृत्व हुनुपर्छ भनेर मैले महासचिवबाट राजीनामा दिएको थिएँ । भोलि तपाईहरूको नीति नै ठीक भएछ भने म आत्माआलोचना गरौंला, होइन तपाईहरुको नीति गलत रहेछ भने तपाईहरुले आत्माआलोचना गर्नुहोला भनेको थिएँ । यसरी राजनीतिक ढंगले राजीनामा दिएको मलाई अराजनीतिक ढंगले करावाही गरे ।

एक समयमा पार्टीकै जानकारीबाट मैले जेलमा लेखेको पत्रलाई आधार बनाएर तैंले यस्तो चिठी लेखिस्, त्यो पक्राउ परेको भए पार्टी खत्तम हुन्थ्यो भनेर मलाई कारवाही गरे । जब कि चिठी पक्राउ परेको पनि थिएन । ब्वाँसा र पाठाको पानी धमिल्याउने कथा जस्तो गरेर मलाई उनीहरुले कारवाही गरे ।

मैले त्यसबेला महासचिवबाट हट्नैपथ्र्यो । किनकि केन्द्रीय समितिमा म एक्लो थिएँ । लक्ष्य, कार्यनीति मिल्दैनथ्यो । त्यो कुरा मैले यिनीहरूलाई छ महिना अगाडि नै भनेको थिएँ । माधव नेपाल, जीवराज आश्रति र अमृत बोहोरालाई बोलाएर सबै कुरा भनेको थिएँ । तत्कालै गणतन्त्र ल्याउनुपर्छ, जनवाद ल्याउनुपर्छ भन्ने कार्यनीति अनुचित लाग्यो भनेको थिएँ ।

यो ०३९ साल कात्तिक २२ गतेको घटना थियो । त्यसै दिनदेखि एमालेमा अराजनीति छिर्‍यो, षडयन्त्र पस्यो । गुटबन्दी छिर्‍यो । जब त्यो विन्दुसम्म पुगेर उनीहरुले आत्मआलोचना गर्दैनन् र नेता, कार्यकर्तालाई राजनीतिक रुपमा नै जाँच्ने ठाउँसम्म उनीहरू पुग्दैनन् तबसम्म एमाले र एमाले मिसिएको दलमा गुटबन्दी सकिँदैन । किनकि गुटबन्दीको जरो त्यहाँ देखियो । त्यतिबेला देखियो ।

एमाले र माओवादीभित्र मप्रति सकारात्मक भाव राख्नेहरू पनि छन् । धन्यवाद दिन्छु उहाँहरुलाई । तर, त्यहाँ नेताहरूको एउटा मण्डली सीपीविरोधी छ । उनीहरू सीपीलाई पोलिटीकल्ली हेर्ने होइन, सीपीलाई व्यक्तिगत ढंगले जसरी भए पनि सिध्याउन चाहन्छन् । राजनीतिमा सही भए त म उनीहरुलाई मानेरै जान्थेँ । तर, राजनीतिमा पनि उनीहरु त्यसबेलादेखि गलतका गलत नै छन् ।

व्यक्तिलाई राजनीतिक ढंगले मूल्यांकन गर्ने परिपाटी नआएसम्म कम्युनिष्ट पार्टीमा एकीकरण हुँदैन । यो सबै फटाहा फटाहाबीचको, लुच्चा-लुच्चाबीचको एकीकरण हो । सिद्धान्त, देशभक्ति, परिवर्तनका आधारमा विगतका सकारात्मक अनुभवका आधारमा मात्र एकता हुनुपर्छ ।

धमिरा लागि सकेको छ । तर, यसलाई सबैले चिन्न सक्दैनन् । अब यही धमिराले नेकपाको विशाल वृक्षलाई ढालिदिन्छ, यो उनीहरुले देख्दैनन्

मदन भण्डारीसँग मेरो लडाइँ र दासढुंगा काण्ड

मदन भण्डारी प्रखर वक्ता हुन् । मार्क्सवादको वर्गीय दृष्टिकोण उनले छोडे पनि राष्ट्रवादी थिए । तर, नयाँ जनवादको ठाउँमा जबज भनेर उनले मार्क्सवाद छाडेका थिए । त्यसैको विरोधमा मेरो लडाई थियो । तर, पार्टीको सत्तामा रहेकाहरुले त्यसबेला पार्टीभित्र ठूलो अनियमितता गरे । पुँजीवादी चुनावमा हुने धाँधली उनीहरुले महाधिवेशनमा गरे ।

मदन भण्डारी आफैं दरबारदेखि झुपडीसम्म बहस गर्नुपर्छ भन्थे । उनले बहस यति गरे कि पुँजीवादीहरू, अवसरवादीहरु उनको पक्षमा उभिने भए । जबकि मेरो पक्षमा मार्क्सवाद बुझ्ने थोरै मान्छे उभिए ।

दासढुंगामा मदन भण्डारीको हत्या भयो । त्यो राजनीतिक हत्या हो । राष्ट्रिय-अन्तराष्ट्रिय शक्ति लागेर उनको हत्या गरियो । मदनको नीतिले कम्युनिष्ट पार्टीलाई कहाँ पुर्‍याउँछ भन्ने म राम्ररी बुझ्थें । तर, बाहिर बुर्जुवाहरुले मैलेजसरी कम्युनिष्ट पार्टीलाई बुझ्ने अवस्था थिएन । समय लाग्थ्यो । मदनले जुन ढंगले जनमत ल्याए, पार्टीले पनि उनलाई त्यसरी नै उचाल्यो । भण्डारीप्रतिको यो जनमत देखेर प्रतिक्रियावादीहरु डराए ।

वास्तवमा मदन भण्डारीको जनमतभित्र ठूलो विष थियो । युरो कम्युनिष्टको जस्तो उनले सर्वहारा वर्ग र मार्क्सवादलाई छाडिसकेका थिए । बाँचेको भए पछि कोर्स करेक्सन पनि गर्न सक्थे होला, त्यो छुट्टै कुरा हो । तर, मदन भण्डारीले जे सुरु गरिसकेका थिए, त्यो गलतै थियो । तर त्यो कुरा गलत थियो भनेर एमालेभित्रका हामीजस्ता मान्छेले मात्रै बुझ्न सक्थ्यौं । बाहिर त कम्युनिस्ट आयो र सब सखाप पार्‍यो भन्ने नै थियो ।

अहिले पनि ओली र प्रचण्डलाई देखेर कम्युनिष्ट आएर खत्तम गर्‍यो भन्दैछन् । यो हौवाको डर हो । भित्र त यिनीहरूको गुदीमा खिया परिसकेको छ । धमिरा लागि सकेको छ । तर, यसलाई सबैले चिन्न सक्दैनन् । यसलाई पनि मार्क्सवाद नै हो, कम्युनिज्म नै हो भन्ने ठान्छन् ।
अब यही धमिराले नेकपाको विशाल वृक्षलाई ढालिदिन्छ, यो उनीहरुले देख्दैनन् । देशभित्र र बाहिरका बुर्जुवाहरु दुई तिहाई हेरेर त्रसित छन् । त्यही देखेर त्योबेला मदन भण्डारीको हत्या भएजस्तो घटना अब नहोला भन्न सकिँदैन । यिनीहरूलाई नै रियल कम्युनिष्ट मानेर, विश्लेषणै नगरी ठोक्ने मूर्ख पनि नहोला भन्न सकिँदैन ।

वामदेव गौतमसँग मिल्नु भूल भयो

त्यसबेला घनश्याम भुसाल मार्काका मान्छेहरुले मलाई मार्क्र्सवादी अध्ययन केन्द्रमा लगेर बामदेव गौतमसँग नक्कली सम्झौता गराए । । बामदेव पनि त्यसबेला एमालेभित्र सत्ताका लागि लडिरहेका रहेछन् । तुरुन्त पार्टी कब्जा गर्ने, सरकारमा जाने र फुटिहाल्न परे पनि सत्तामा जान सकिन्छ भन्ने उनको विश्लेषण रहेछ । त्यो विश्लेषण मसम्म आइपुगेको थिएन । म सिद्धान्तका लागि भनेर इमान्दार भएर लागें । र, उनीसँग सम्झौता गरें ।

वामदेवले महाकाली सन्धिलाई मूल विषय बनाउँ, जबज र नयाँ जनवाद भन्ने हो भने हाम्रैमा पनि विभाजन हुन्छ भन्न आए । उनले अहिले नै तपाई जबज मान्न सक्नुहुन्न, म नयाँ जनवाद मान्न सक्दिनँ भनेका थिए । त्यसैले अहिलेलाई जबजलाई नै मानेर जाउँ, म बिल्कुल प्रजातान्त्रिक तरिकाले चल्छु । पछि पार्टी कार्यकताले नयाँ जनवाद भने नयाँ जनवाद, जबज भने जबजमा जाउँला, म कुनै षडयन्त्र गर्दिनँ भने ।
वामदेवले मिलेर जाउँ भनेर मसँग धेरै किरिया खाए । मैले पनि हुन्छ भनें । तपाई यही अडानमा बस्नुहुन्छ भने म पनि अहिले नयाँ जनवादको प्लेटर्फम खोल्दिनँ भनें ।

वास्तवमा उनको सत्तामुखी प्रवृत्ति र गुटबन्दी चिन्न नसक्नु मेरो गल्ती भयो । हाम्रो पक्षधरको तर्फबाट मैले वामदेवसँग जुन सहमति गरें, त्यसो गरेर गल्ती गरेंछु । नगर्नुपर्ने रहेछ । पुँजीवादी, भ्रष्ट बाटोमा लागिसकेका उनीहरुले मलाई प्रयोग गर्न खोजेका रहेछन् । वामदेवको कुरा मानेर छैठौं महाधिवेशनमा मैले वैचारिक संघर्षको प्लटेर्फमलाई छोड्नुहुँदैनथ्यो । त्यो नगरेको भए एमालेको सिनारियो नै अर्को हुने थियो ।

हामीले ०५४ साल फागुनमा सीतापाइलामा आरके मैनालीको घरमा मिडिङ गर्‍यौं । त्यहीँ वामदेवले जबज पक्षधरको बहुमत बनाउन खोजे । योग्य मान्छेलाई हटाएर आफ्ना अन्धभक्तहरु ल्याएर भरे ।

त्यसपछि खोटाङमा गरेको भाषणलाई लिएर मेरो सदस्यता नै खोस्ने षडयन्त्र गरे । त्यहाँभित्रकै कतिपयले नमानेपछि त्यो षडयन्त्र सफल भएन । ०५८ साल फागुन ३ गते वामदेव एमालेमा गए । मैले अरु पनि जानेलाई रोक्दिनँ भनें । मैले जो जो नयाँ जनवादको पक्षमा छन्, उनीहरुलाई लिएर काम गर्छु भनें ।

केपी ओली, वामदेव, झलनाथ खनाल, माधव नेपाल यी कोही नेता होइनन्, विचारको हिसाबले घनश्याम भुसाल अहिले एमालेको नेता हो । तर, उनीहरुले मलाई त कारवाही गरे भने घनश्यामलाई नेतृत्व बक्सन्छन् र ? बक्सिदैनन् नि

घनश्याम भुसाल एमालेको अध्यक्ष हुनुपर्ने हो

सैद्धान्तिकरुपमा घनश्याम भुसाल पनि जबजपन्थी नै हुन् । एमाले पार्टीमा राजनीतिक कल्चर बसाउनुपर्छ भन्ने कुरामा भुसाल, रघु पन्त र हामी मिल्थ्यौं । उनीहरुले अहिले पनि कल्चरमा जोड दिएका होलान् । तर, सिद्धान्त नै गलत भएपछि कल्चरको मात्रै काम छैन ।

एमालेमा आएको पुँजीवादीकरणको गलत बाटो त घनश्यामले नै अगाडि सारेका हुन् । विचारको हिसाबले ओली, माधव नेपाल, झलनाथ खनालको नेता पनि भुसाल नै हुन् । ‘कल्चरल’ भएकाले मात्रै भुसाललाई नेता नमानेका हुन् । एमालेमा नीतिले नेता हुन पाइन्न । तर, जबजको प्रणेता र प्रवक्ता भुसाल नै हुन् । नीति अनुसारको नेतृत्व हुने हो भने एमालेको अध्यक्ष घनश्याम भुसाल हुनुपर्ने हो ।

केपी ओली, वामदेव, झलनाथ खनाल, माधव नेपाल यी कोही नेता होइनन्, विचारको हिसाबले घनश्याम भुसाल अहिले एमालेको नेता हो । यिनीहरुको सिद्धान्तको सबैभन्दा राम्रो प्रवक्ता त घनश्याम भुसालै हो । तर, उनीहरुले मलाई त कारवाही गरे भने घनश्यामलाई नेतृत्व बक्सन्छन् र ? बक्सिदैनन् नि ।

अराजनीतिक कल्चरको प्रभाव

एमालेमा अराजनीतिको कल्चर ०३९ साल कार्तिक २२ गतेको निर्णय हो, जसले मलाई कारवाही गरेर महासचिव र पोलिटब्यूरोबाट हटाए ।

०४६ सालपछि पार्टीमा उपभोक्तावाद हावी भयो । शुरुमा यसको अगुवाई कांग्रेसले गर्‍यो । त्यसपछि एमालेले गर्‍यो । एमालेमा संगठित साहुहरु छन् । जस्तो सहकारी, एनजीओ । यी नयाँ साहुहरुले राष्ट्रिय पुँजीको विकास गर्दैनन्, आसेपासे पुँजीलाई बढावा दिन्छन् ।

एमाले छाडेर पार्टी पुनर्गठन गर्ने क्रमा मालेमा गलत उद्देश्यले आएकालाई पनि लिनुपर्ने अवस्था आयो । पार्टी तरेली-तरेली भएर छाँटिएर जानुको कारण पनि त्यही नै हो । आँगन बढारेर डोकोमा जम्मा पारेजस्तो गरेर पार्टी बनायौं । ऐन मौकामा लोभीपापीहरुले आफ्नो रुप देखाए । पछिल्लो बेलामा मालेमा पहिरो जानुको कारण यही हो ।

सँगै काम गर्ने मान्छेले पार्टी छाडेर जाँदा दुःख त लाग्छ नै । तर, अवसरवादी, लाभमुखी मान्छे, अमार्क्र्सवादी, अक्रान्तिकारी मान्छेहरु जाँदा रुवावासी गर्नु जरुरी छैन । खुशीले हर्षबढाइँ गर्न पनि आवश्यक छैन । धुरुधुरु रोएर बस्नुपर्ने पनि होइन ।

तर, अब पुनर्जागरण हुन्छ भन्नेमा म विश्वस्त छु । ज्योषीले जसरी कहिले हुन्छ भनेर भन्न सक्दिनँ । किनभने, मार्क्र्सवादी ढंगले नचल्नेहरु एक दिन ‘एक्सपोज’ हुन्छन् हुन्छन् । उनीहरुले जनताको काम गर्न सक्दै सक्दैनन् । हामी निरन्तर सक्रिय भएर लड्न आवश्यक छ ।

पुनर्जागरण हुन्छ भनेर देशभक्तहरूले निस्क्रिय भएर बस्ने भन्ने होइन । सुतिरहेको ठाउँमा फलफूल खस्छ र खाना पाउँछु भन्नुहुँदैन । जो देशभक्त छन्, उनीहरु पछि पर्नुहुँदैन । सही नीति लिएर नजिकिने कोशिस गर्नुपर्छ । सही नीतिका आधारमा जनताको बीचमा जानुपर्छ । देशभक्तिपूर्ण राष्ट्रवाद, देशभक्तिपूर्ण पुँजीवादलाई बढाउनुपर्छ । एक दिन यो नक्कली कुरालाई परास्त गर्न सकिन्छ ।

अबको बाटो

अहिले पनि राजनीतिक मुद्दा सिद्धिएको छैन । राष्ट्रियता, पहिचान, समावेशिता, समानुपातिकत लगायतका मुद्दा बाँकी नै छन् । वर्गीय मुद्दा त छँदैछ ।

अब देशभक्तहरुले मिलेर काम गर्नुपर्छ । प्रगतिशील लोकतान्त्रिक परिवर्तनका लागि ठोस कार्यक्रम बनाएर अगाडि जानुपर्छ । प्रगतिशील लोकतान्त्रिक कार्यक्रमको आर्थिक सिद्धान्त भनेको सामाजिक बजार अर्थतन्त्रको निर्माण हो । त्यसरी जाँदा भोलि जनवाद वा समाजवादमा जान पनि रोकिँदैन ।

आर्थिक, सामाजिक, राजनीतिक मुद्दा लिएर गएपछि त्यसले वर्गीय द्वन्द्वलाई अगाडि बढाउने छ । मजदुर, किसान, पेटी वुर्जुवा, देशभक्तहरू, राष्ट्रवादी, राष्ट्रिय पुँजीपतिहरू एकातिर हुन्छन् । र, सामान्तवादी, दलाल पुँजीपति, आसेपासे पुँजीवादी र विदेशी शक्तिहरू अर्कोतिर उभिन्छन् । त्यसले २००७, २०४६, ०६३ सालमा जस्तै चाँडो टक्कर ल्याउँछ । र, फेरि चौथो परिवर्तन हुन्छ । अन्तराष्ट्रिय परिस्थिति अनुकुल भयो भने चौथो परिवर्तनमा कम्युनिष्ट गणतन्त्र स्थापना हुन्छ ।

चौथो परिवर्तनमा त्यस्तो गणतन्त्र आउँछ कि आउँदैन भन्ने विश्लेषण गरिनु पर्छ । अहिले नै जनवादी गणतन्त्र आइहाल्छ भनेर ठोकुवा गर्न सकिँदैन । तर त्यो सम्भावना धेरै छ । यही मान्यताले हामीले कम्युनिष्ट साथीहरुसँग एकता गर्ने, सहकार्य गर्ने र पार्टीलाई सुदृढ गर्ने अभियानमा लागिरहेका छौं । हामीले विभिन्न तरिकाले गृहकार्य गरिरहेका छौं । खासगरी सिद्धान्तनिष्ठ कम्युनिष्टवीच एकता हुन्छ । तर, राष्ट्रिय हित र मार्क्र्सवादलाई छाडेर हामी एकता गर्दैनौं ।

चुनावका बेलामा हामीमाथि ठूलै प्रहार भएको थियो । त्यो साँच्चै कठिन घडी थियो । अहिले विस्तारै-विस्तारै साथी थपिँदैछन् । नेकपाको चरित्र पर्दाफास भएपछि माले पार्टीमा फर्किने क्रम पनि शुरु भएको छ ।

मलाई ओली र प्रचण्डसँग तुलनै नगरियोस्

मलाई प्रचण्डसँग तुलनै नगर्नुस् । प्रचण्ड भनेका राष्ट्रियता, स्वतन्त्रतालाई परोक्ष, प्रत्यक्षरुपमा तत्काल अनि दीर्घकालीनरुपमा घात गर्ने सिद्धान्त बोकेका व्यक्ति हुन् । उनको हिजोआजकै वक्तव्य पढ्दा पनि पहिचान, संघीयता, स्वायत्तताका कुरा नेपालमा फिट नहुने र राष्ट्रियता र स्वतन्त्रतालाई कमजोर बनाउनेखालका छन् ।

संविधानअनुसार पहिचान दिनुपर्छ, तर जातीयता र क्षेत्रीयताका आधारमा दिनु भनेको विखण्डनलाई आधार दिनु हो । यसमा प्रचण्ड आँखा चिम्लेर लागेका छन् । कुनै पनि राष्ट्रवादीलाई प्रचण्डसँग तुलना गर्नु भनेको राष्ट्रभक्तिकै अपमान हो ।

मेरो तुलना केपी ओलीसँग पनि नगर्नू । उनले सिद्धान्त छोडेको कति भइसक्यो । हिजो हामी केही उग्र थियौं, सिद्धान्तमा, नीतिमा । तर हामी लडाकू पनि थियौं । त्यो अन्धाकार र निश्त्रिmयताका बेलामा हामी उठ्यौं र हाम्रो त्यसबेला प्रशंसा भयो । झापा आन्दोलन, को-अर्डिनेसन केन्द्र हुँदै माले पार्टी बनाएपछि जनताको समर्थन प्राप्त भयो । तर, त्यसमा सीपी मैनालीको क्यारिस्मेटिक कुराले मात्रै नभएर हामीले जे काम गर्‍यौं, त्यो कामप्रतिको समर्थनले गर्दा हो । यद्यपि त्यसको नेता म थिएँ ।

त्यो देशभक्तिपूर्ण सिद्धान्तलाई अगाडि बढाउने कठिन कुरामा शायद मैले कतिपय ठाउँमा ढंग पुर्‍याइन कि ? मेरो पनि कतिपय कमजोरी भयो कि ? मेरो मान्यतामा कमजोरी नभए पनि शैली, पद्दतिमा कमजोरी रह्यो कि ?

त्यति मात्रै नभएर सिंगो देशमै सबैखाले देशभक्तहरू लोकतान्त्रिक, वामपन्थी, कम्युनिष्ट, राष्ट्रवादी देशभक्तहरू ओझेलमा पारिएका छन् । नक्कली देशभक्त, नक्कली क्रान्तिकारी, नक्कली डेमोक्र्याटहरू अगाडि आएका छन् । देशको स्वतन्त्रता, सार्वभौमिकता अर्काको झोलामा बुझाउनेहरू अगाडि आएका छन् ।

एउटा राष्ट्रिय हितप्रति घात गर्ने दोष भएको मान्छे र अर्को वर्गीय निष्ठाप्रति दोष भएको मान्छे मिलेर डबल नेकपा बनाएका छन् । हो, उनीहरु ‘एक्सपोज’ हुन केही समय लाग्ला । जबसम्म एउटाले राष्ट्रियता हित विपरीत र अर्को वर्गीय हितविपरीत गएको ‘रिलाइज्ड’ गर्दैनन् र त्यसलाई सच्याउने आँट गर्दैनन्, तबसम्म यिनीहरू ठीक बाटोमा आउँदैनन् । उनीहरू जुन बाटोमा हिँडिरहेका छन्, त्यो बाटोमा हण्डर, ठक्कर खान्छ नै । नसच्चिए जनताले यिनीहरूको साथ छोड्छन् । अर्को चुनावसम्ममा यिनीहरुको के के हविगत हुन्छ, हामीले हेर्नुपर्ने हुन्छ । यसवीचमा धेरै कुरा हुन सक्छन् ।

(नेकपा मालेका महासचिव मैनालीसँग कुराकानीमा आधारित) अनलाइनखबर डटकमबाट 

Facebook Comments