कनकाई खबर \ जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रका नवनिर्वाचित अध्यक्ष ख्यामराज सिटौलाले सामुदायिक वन मार्फत यस पर्यटकीय क्षेत्रको थप विस्तार गरेर नेपालकै उत्कृष्ट पर्यटन क्षेत्रका रुपमा पहिचान स्थापित गर्ने बताएका छन् ।
दोस्रो कार्यकालकालागि निर्वाचित भएसँगै अध्यक्ष सिटौलाले आगामी योजनाका बारेमा कनकाई खबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै पर्यापर्यटनको प्रवल सम्भावना बोकेको यस सिमसार क्षेत्रलाई उत्कृष्ट पर्या–पर्यटनको रुपमा विकास गरी अधिकतम मात्रामा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याएर दिगो आम्दानीको श्रोत बनाउँदै जाने बताए । दिगो र मुख्य आम्दानीको स्रोतको रुपमा भिउ टावर, वाल उद्यान्न, स्विमिङ पोल, आकर्षक वनभोज स्थल लगायतको निर्माणका लागि एक डि.पि.आर. तयार गरि व्यवस्थित गर्दै जाने नवनिर्वाचित अध्यक्ष सिटौलाले जानकारी दिए । गरिवी न्यूनिकरण, सामुदायिक विकास र सेवा मुलक कार्यहरुमा समेत थप नयाँ कार्ययोजनाका साथ अघि बढ्ने अध्यक्ष सिटौलाले बताए ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले राष्ट्रिय स्तरमै जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको विकास एवम् उन्नतिका लागि संघिय, प्रादेशिक, स्थानीय तथा अन्य गैरसरकारी संघ–संस्थाहरुसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । यस वन क्षेत्रका सम्पूर्ण उपभोक्ताहरुको विश्वासलाई मनमस्तिष्कमा राख्दै आगामी दिनमा कोरोना महामारी लगायत वातावरण सहज भएमा अबको तीन वर्षमा जामुनखाडीले नयाँ मुहार फेर्ने कुरामा ढुक्क रहन आग्रह गर्दै अध्यक्ष सिटौलाले सम्बन्धित सबैसँग सकारात्मक सहकार्यकालागि अनुरोध समेत गरेका छन् ।
सिटौला यहि शनिवार सम्पन्न जामुनबारी सामुदायिक वनको मुख्य ६ पदको निर्वाचनमा नेपाली कांग्रेसबाट लोकतान्त्रीक प्यानलको नेतृत्व गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सिमसार तथा पर्यापर्यटन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका सिटौला यस पर्यटकीय क्षेत्र जामुनवारी सामुदायिक वनमा दोस्रो कार्यकालकालागि निर्वाचित भएका हुन् ।
आफ्ना प्रत्यासीका रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी तर्फका प्रगतिशिल विकासप्रेमी प्यानलका विनोद रानामगरलाई ५३ मतको अन्तरले पछि पार्दै सिटौला अध्यक्षमा निर्वाचित भएका हुन् । विभिन्न सामाजिक संघसंस्थासहित लामो समय सम्म शिक्षण पेशामा आवद्ध रहेका सिटौलाले तीन वर्ष अघि स्थानीय सरस्वती माविमा शिक्षण पेशामा कार्यरत रहेकै बेला त्यस विद्यालयबाट राजिनामा दिएर सामुदायिक वन मार्फत सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका थिए ।
सिटौलासँगै दुईजना उपाध्यक्षमा राना प्यानलका दिलकुमार राई र विष्णुप्रसाद ओली निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा सिटौला प्यानलका क्रमशः मनिता राई र यसनाथ अधिकारी साथै सहसचिवमा राना प्यानलका पुजन बाह्रकोटी निर्वाचित भएको बताइएको छ । वन समूहको मुख्य पदको निर्वाचन सम्पन्न भएसँगै अब उपभोक्ताहरुको ध्यान टोलको निर्वाचनमा केन्द्रित भएको छ । वन समूहको कार्यसमितिमा आफ्नो बहुमत जुटाउँन यतिबेला मुख्य राजनीतिक दल नेकपा र नेपाली काँग्रेस दौडधुपमा छन् । सामुदायिक वनमा रहेको ३० टोललाई ६ वटा समूहको एक क्षेत्र बनाएर मंसिर २०, २१ र २२ गते टोलको निर्वाचन हुँदैछ ।
प्रत्येक क्षेत्रबाट एक÷एक जना पुरुष र महिला सदस्य गरी १० जना वन समूहको कार्यसमिति सदस्यका रुपमा टोलबाट निर्वाचित हुने निर्वाचन समितिका संयोजक ऋषिकेशश खतिवडाले बताए । टोलको समेत निर्वाचन सम्पन्नपछि ५ जना सदस्य मनोनित गरी जम्मा २१ सदस्यीय कार्यसमिति निर्माण हुने निर्वाचन संयोजक खतिवडाले कनकाई खबरलाई जानकारी दिए । कोरोनाका कारण आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्दै स्थानीय सरकार साथै राजनीतिक दलका प्रतिनिधि, वन तथा सुरक्षा निकायको समन्वयमा निर्वाचन सम्पन्न गर्ने योजना रहेको निर्वाचन समितिले जनाएको छ ।