कनकाई खबर/ पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको झापाको कनकाईस्थित कोटीहवन धाम परिसरमा रहेका २६ थरगोत्रीय बन्धु संस्थाहरू एकताको साझा सूत्रमा बाँधिएका छन् ।
विभिन्न गोत्रीय पहिचान र संस्थागत संरचनामा क्रियाशील बन्धुहरूलाई एउटै साझा मञ्चमा समेट्दै गठित कनकाई धाम बन्धु समन्वय समितिको प्रथम साधारणसभाले गौतम समाज झापाका अध्यक्ष नीतिरमण गौतमको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ
कोटीहवन धामको संरक्षण, विकास, धार्मिक महिमा तथा पर्यटकीय प्रवद्र्धनसँगै विभिन्न बन्धु संस्थाबीच आपसी एकता, समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले संगठित संस्थाको साधारणसभाले कोटीहवन क्षेत्रका बन्धुहरूबीच सामूहिक एकताको नयाँ सन्देश दिएको छ ।
कोटीहवन परिसरको ३ बिघा १३ कठ्ठा १० धुर क्षेत्रफलमा रहेका २६ थरगोत्रीय बन्धु संस्थालाई एउटै साझा उद्देश्यमा जोड्ने अभियान तीन वर्षअघि नीतिरमण गौतमकै संयोजकत्वमा तदर्थ समितिका रूपमा सुरु भएको थियो । लामो समयदेखि क्रियाशील उक्त समितिले पहिलो साधारणसभामार्फत संस्थागत स्वरूप प्राप्त गर्दै आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
गौतम समाज झापाको आश्रममा शनिबार सम्पन्न साधारणसभामा कनकाई धामका अध्यक्ष शेरबहादुर थापा, वैदिक धर्म संरक्षण समिति कनकाईका प्रतिनिधिलगायत २४ बन्धु संस्थाका ६० भन्दा बढी प्रतिनिधि तथा बन्धुहरूको सहभागिता रहेको थियो । कोटीहवन परिसरमा रहहेका २६ मध्ये २४ संस्थाको प्रतिनिधित्व रहेको सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा राजेन्द्र पराजुली, सचिवमा नेत्रप्रसाद प्रसाई र कोषाध्यक्षमा राधिका कडरिया ओली चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः रामप्रसाद निरौला, चित्रबहादुर तामाङ, चन्द्र लुइँटेल, पदम बर्देवा, हेमकुमार कोइराला, रुद्रप्रसाद ढकाल र यज्ञबहादुर कार्की रहेका छन् ।

साधारणसभाले नेतृत्व चयनसँगै कोटीहवन क्षेत्रको समग्र विकास, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ । सहभागीहरूले विभिन्न जातीय तथा गोत्रीय पहिचान बोकेका संस्थाबीच आपसी सद्भाव, सहकार्य र एकतालाई बलियो बनाउँदै कोटीहवन धामको विकासमा सामूहिक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रसाईं कल्याणकारी ट्रष्टका अध्यक्ष नेत्रप्रसाद प्रसाईले सञ्चालन गरेको सभामा मित्रप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई धामका अध्यक्ष शेरबहादुर थापा, रामप्रसाद निरौला, पण्डित गंगाप्रसाद खरेल, गोविन्द बस्नेत, अर्जुन बस्नेत, सावित्रा लुइँटेल, बलभद्र कोइराला, पदम बर्देवा, धनपति चापागाईं र पण्डित युवराज नेपाललगायतले शुभकामना मन्तव्यसहित आ–आफ्ना धारणा राखेका थिए ।
यसैबीच, साधारणसभामा कोटीहवन धामको आसन्न निर्वाचनका विषयमा समेत व्यापक छलफल भएको छ । छलफलका क्रममा सम्भव भएसम्म पुरानै विधानअनुसार सर्वसम्मत नेतृत्व चयनका लागि समन्वय र पहल गर्ने निष्कर्ष निकालिएको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकी निर्वाचनमा जानुपर्ने अवस्था आएमा वैदिक धर्म संरक्षण समिति कनकाईसँग समन्वय गरी आवश्यकता र परिस्थितिअनुसार सबै पदमा उम्मेदवारीसहित निर्वाचन प्रक्रियामा जान सकिने धारणा व्यक्त गरिएको जनाइएको छ ।
त्यसैगरी, कोटीहवनको विद्यमान विधानअनुसार निर्वाचन गराउनुपर्ने तथा आर्थिक वर्ष २०८२/८३ को साधारणसभाले संशोधनको तयारी गरेको विधानको प्रस्तावित मस्यौदा समयानुकूल नभएकाले थप अध्ययन र आवश्यक संशोधनपछि मात्रै अघि बढाउनुपर्ने रायसमेत प्रस्तुत भएको थियो ।
कोटीहवन क्षेत्रका २६ थरगोत्रीय बन्धु संस्थालाई एउटै साझा मञ्चमा जोड्ने अभियानले संस्थागत स्वरूप प्राप्त गरेसँगै धार्मिक धरोहरको संरक्षण, सामाजिक सद्भाव, आपसी सहयोग र पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावनाको ढोका खुलेको सहभागीहरूको अपेक्षा रहेको बताइएको छ । नवगठित समितिका सचिव नेत्रप्रसाद प्रसाईले साधारणसभाबाट भएका निर्णय तथा विधानसम्बन्धी धारणाबारे जानकारी दिएका हुन् ।

