डर , अर्थात् भय ,अन्तस्करणको अत्यन्तै भित्री तत्त्व। डर, जीवनको पर्याय अनि मृत्युको अन्तिम सत्य। डर, महासागर अनि डर, मरुभूमि पनि। कहालीलाग्दो घटना बनेर सूर्योदयसँगै उदाउने डर सूर्यास्तसँगै घरको एकान्त कुनाकाे शयन कक्षमा मस्तसँग निदाई मृत्यु सम्मुख हुँदा पनि पत्तो नपाउने यो विचित्रको डर जीवनसँगै जन्मिएर मृत्युसँगै अस्ताउने हुँदो रहेछ सायद। कहिलेकाहीँ यथार्थमा पलाएको डरले कल्पनामा समेत खाँदो रहेछ। कहिले वनको बाघसँगै रत्यौली खेलेर आउने डर मनको बाघले खाँदासम्म त मृत्यु उन्मुख नै हुँदो रहेछ। डर आखिर के हो त, यो दर्शनको विषय होला तर हरेक डरले निम्त्याउने परिणाम अन्ततः डरमुखी नै हुँदा रहेछन्।
डरका प्रकार पनि अनेकौं। लाग्दा पनि नलागे जस्तो गर्नुपर्ने अनि नलाग्दा पनि लागेझैँ गर्नुपर्ने। विचित्रको डर जहाँ जीवन छ त्यही नै मृत्यु। पानीसँग डराउनु पर्ने तर पानी नै जीवन। आगोसँग डराउनुपर्ने अनि आगो नै जीवन। जीवन र मृत्युबीच पौँठा जोडी खेल्दै हुर्किएको डरले एकातिर राक्षसी स्वरूप लिएर जरा गाडेर बसेको छ भने अर्कातिर मातृत्व वक्षस्थलको न्यानो सम्बन्धलाई पनि कायम गरेकै छ। नागको झैं फडा फिजाएर घिस्रने डरले कहिलेकाहीँ चिलले गगन चुमेझैँ मानवरुपी विचारलाई चुमेर त्रास र आश दुबै पैदा गरिदिने गर्दछ।
यहाँ एक मित्रको प्रसङ्गलाई जोड्नै पर्छ। जीवनको पनि गोधुली साँझ अनि समयको पनि गोधुली साँझलाई पछ्याउँदै निशा पसलमा छिरेका उनको अनुहारको चमक बिछट्टै चमकदार छ। लाग्छ, उनी हुर्हुराउँदा शशी हुन्। आज उनले डर भन्ने शब्दलाई पोको पारेर पर कतै हुत्याइदिएका छन्। लोकल थर्राको चुस्कीसँगै उनको हर्कत बढ्दै जाँदा उनी बहादुर मात्र देखिँदैन मानौँ उनी त्रिलोक विजयका लागि रण छेड्न तयार परेका सेना नायक हुन्। लोकल ठर्रा थपेसँगै डर उनीबाट सयौँ कोष टाढा भाग्दै गइरहेको छ। डर त्यतिबेलासम्म भागिरहेको हुन्छ जतिबेला उनकी अर्धाङ्गिनीको मोबाइल कलकाे घन्टी बस्दैन। घन्टी बजेसँगै मेरा मित्रलाई एकाएक सखुवाको रुखलाई देब्रेको लहराले बेरेझैँ डररुपी लहराले फनफनी बेरेको देख्न सकिन्छ। अचानक उनी युद्धबाट भागेर आएको सिपाहीका रूपमा परिणत हुन पुग्छन्। थाहा छैन त्यो घन्टीले कस्तो सन्देश दिएको छ तर यतिचाहिँ प्रष्ट रूपमा आँकलन लगाउन सकिन्छ कि उनका सामु डररुपी काल ठिङ्ग उभिएको भनेअवश्य हो। उनको निरीहताप्रति उत्तरले त्यही संकेत दिएको छ। जब अन्तिम घुट्को समेत छाडेर उनी त्यहाँबाट निक्लन्छन् तब साउनीले नेपथ्यमा गुन्गुनाएको , नामर्द लोग्ने भनेको यही हो, भन्ने वाक्यांशले त्यही सन्देश दिएको छ। त्यस दिनबाट डरले मलाई के सिकायो भने डर वास्तवमै त्यत्तिकै डर भएर आजसम्म संसारलाई थर्काएर बसेको छैन।
बबुरो मान्छे, डरलाग्दो डरसँग के नडराओस्। कैयौँ पटक राक्षसहरूसँगको युद्धमा भगवान् समेत डराएका कथा कुथुंग्रीहरू हामीले हाम्रा दन्त्य आख्यानहरुमा मात्रै नभएर पौराणिक कथाहरूमा समेत सुन्दै आएका छौ। भनिन्छ, बरु रावण आफ्नो शक्तिशाली शत्रु रामसँग डराएन तर आफूभित्र रहेको अहङ्काररूपी डरसँग मृत्यु उन्मुख हुँदा थरथराएको कथा हामीले पटकपटक बाचिसकेका छौं। यसले पनि के पुष्टि गर्दछ भने राक्षसलाई सर्वशक्तिमान् बन्न आशीर्वाद प्रदान गर्ने भगवान् शङ्करदेखि लिएर आशीर्वाद पाई सर्वशक्तिमान् बनेका भीमकाय राक्षसहरुसमेत न थरथराएका भए आज दृश्य रुपमा सदाका लागि जीवित रहने थिए। अर्को चाखलाग्दो प्रसङ्ग त के छ भने राजा कंश जन्मदै नजन्मिएको मृत्युदेखि तर्सिएर आफ्नै भान्जाभान्जी मार्दा मार्दै वाक्क दिक्क भएको अनि आफूलाई चाहिँ भीमकाय राजारूपी राक्षस ठानेर पनि भ्रूणको समेत हत्या गर्न पछि नपर्नुको प्रसङ्गले डर कति शक्तिशाली रहेछ भनेर हामी सोझै अनुमान लगाउन सक्छौँ। संसारमा डरको सुनामी ल्याउन सक्ने डरलाई चिनाउन प्रयोग गर्न सकिने एकमात्र अर्को शब्द हुन्छ काल। जबसम्म काल जीवित रहन्छ तबसम्म डरले डेरा जमाएर बसिरहने तथ्य हामीसामु छर्लङ्ग छ।
डरको मामिलामा यो पङ्क्तिकारलाई संसारकै सबैभन्दा डर छेरुवा प्राणीका रूपमा राखे पनि केही फरक पर्नेवाला छैन किनकि घाममा मात्र होइन छायामा समेत डरको प्रतिरुपलाई ऐनाझैँ छर्लङ्ग देख्न सक्ने यस पङ्क्तिकारले आफ्ना अनेकन् उपलब्धिहरुलाई थुप्रैपटक तिलाञ्जलि दिन बाध्य भएको छ। तथापि ऊ आजसम्म निर्भयी बन्न सकेको छैन। यस्तो लाग्छ वर्तमानसम्म बाँचेको अनि भोगेको जीवनलाई डरले दिएको सकस हेर्दा अब डररुपी खोलाको पानी बगेर छैटौँ महासागरको समेत निर्माण भइसक्नुपर्ने हो।
हिजोआज सामाजिक सञ्जालको आविष्कारसँगै डर यसरी मौलायो कि आफूलाई निडर घोषणा गर्नेहरुसमेत लुगलुक कामेको प्रष्टरूपमा आभास गर्न सकिन्छ। आफूलाई बलियो प्रमाणित गर्न विद्रोहको हुंकार दिने अनि आफू निडर रहेको झैँ भान पार्न अरूलाई तुच्छ देखाउनेहरू पनि तिनै तुच्छहरूसँग लुकलुक कामेर दिनरात सत्तो सराप गरिरहेका हुन्छन्। आखिर यो पनि एउटा कमजोर ठानिएको डरले निम्त्याएको परिणाम सिवाय केही पनि होइन। अन्यथा सुन्टीको एक टुक्रो भाँच्न छिनु र हथौडा नै किन चाहियो र,
मलाई लाग्छ डर जन्म जन्मान्तर नमेटिने अमिट सत्य हो। यो सत्यमात्र नभएर अन्तिम सत्य पनि हो। जबसम्म संसारको स्वरूप जीवित रहन्छ तबसम्म डरले कुनै न कुनै रूपमा आक्रमण गरिरहन्छ। यसको उचाइ, लम्बाइ, गहिरा र चौडाइ नाप्नु मानिसका लागि हुटिट्याउले सागर थाम्छु भनेझैँ बराबर हो। डरको भित्री सत्य खोज्नु निबन्धकार शङ्कर लामिछानेले जीवनको सत्य प्याजमा खोजेझैँ हो। सामाजिक सञ्जालकै कुनै पोस्टमा पढेको थिएँ अङ्ग्रेजलाई समेत भारतबाट लखेट्न अहम् भूमिका खेल्ने महात्मा गान्धी अङ्ग्रेजहरूसँग कहिले पनि घुँडा टेकेनन् बरु अङ्ग्रेजलाई घुँडा टेकाउन सफल भए तर उनले गरेको पहिलो सत्याग्रह अङ्ग्रेजका विरुद्ध नभएर आफ्नै श्रीमतीका विरुद्ध थियो रे, यसमा कति सत्यता छ त्यो मलाई थाहा छैन बरु मलाई यतिचाहिँ थाहा छ संसार जित्न सक्ने क्षमता बहादुरहरूले राख्छन् तर बहादुरहरूलाई जित्न सक्ने क्षमताचाहिँ डरले मात्रै राख्न सक्छ।
