आमा रत्नमाया र बुबा लक्ष्मीप्रसादका साइँला छोराका रूपमा ताप्लेजुङ जिल्लाको तत्कालीन मामाङ्खे वार्ड नं. ५ मा जन्मेका प्रभाखर कडरिया झापाको सामाजिक क्षेत्रमा उच्च छबि बनाएका व्यक्तित्व हुन् ।
समाजसेवी कडरिया कनकाई नगरवासीमाझ साझा र विश्वासिला व्यक्तित्वका रूपमा रहेका छन् । कामप्रतिको निष्ठा, निरन्तरता र कार्य तत्परताका कारणले उनी सदैव सफल हुँदै आएका छन् । समाजको हितलाई केन्द्रविन्दुमा राखेर सदैव काममा जुटिरहने र आफ्नो कर्ममा विश्वास गर्ने कडरिया दर्जनौं सङ्घसंस्थामा आबद्ध छन् । निर्माण व्यवसायमा लामो समयदेखि क्रियाशील कडरिया निर्माण व्यवसायी महासङ्घको पूर्व केन्द्रीय सदस्य तथा हाल लक्ष्मीमाता कन्स्ट्रक्सन कम्पनी सुरुङको प्रबन्ध निर्देशकको रूपमा कार्यरत रहेका छन् । एउटा व्यक्तिमा सबै राम्रा गुण हुन्छन् भन्न पनि सकिदैन । कडरियाको विनम्रता, सादगीपन र सङ्घसंस्थाभित्र सन्तुलन तथा समन्वयकारी भूमिका सदैव प्रशंसनीय रहेको छ ।
सबैमाझ समन्वयकारी भूमिका खेल्ने कडरिया प्रायः सधैं व्यस्त भेटिन्छन् । सरल जीवन र उच्च विचारको मान्यतालाई आफ्नो जीवनमा लागू गर्ने कडरिया मृदुभाषी र शिष्ट व्यक्तित्वको रुपमा साथीभाइमाझ चिनिन्छन् । कडरियाका धेरै असल कार्यमध्ये कनकाई घाट बनाउन उनको परिकल्पना र मेहेनत सदैव स्मरणीय रहनेछ । मानिसको जीवनको अन्त्येष्ठी सम्मानजनक र धार्मिक विधिपूर्वक गर्ने वातावरण निर्माण गरी सहज ढङ्गले किरायाकर्म गर्न सकियोस् लगायतका विविध जनोपयोगी लक्ष्य र उद्देश्य राखी २०६७ सालमा गठित कनकाई घाट संस्था आज झापावासीका लागि र विशेष गरी कनकाई माई पूर्वका मानिसका लागि अपरिहार्य स्थलको रूपमा विकास भइरहेको छ ।
हाल कनकाई घाट संस्थाका १ हजार ८ जना संस्थापक सदस्य, साधारण सदस्य, सहयोगी सदस्य, आजीवन सदस्य, वरिष्ठ सदस्य, विशिष्ट सदस्य, संरक्षक सदस्य रहेका छन् । झापा जिल्लामा अवस्थित हिन्दुहरूको पवित्र धार्मिक स्थल कनकाई माई नदीमा परापूर्वकालदेखि नै मृत्यु वरण पश्चात पार्थिव शरीरलाई दाह संस्कार गरिँदै आइरहेको सन्दर्भमा हरेक वर्ष नदीको धार फेर बदल भइरहने, सुख्खा अवस्थामा पानीको स्रोत सुक्ने र वर्षा अवस्थामा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै सबै जातजाति, धर्म, लिङ्ग र वर्गका मानिसको मृत्युपश्चात गरिने अन्त्येष्टि क्रियाको लागि चिताभूमिस्थल निर्माण गर्ने टड्कारो आवश्यकता महसुस गरी यो संस्थाको स्थापना गरिएको हो ।
स्थापना गर्दा काठमाण्डौको पशुपति आर्यघाट, नारायणघाटमा अवस्थित त्रिवेणी वा देवघाट जस्तै पूर्वी नेपालमा रहेको कनकाई घाट पवित्र स्थललाई व्यवस्थित गर्ने उद्देश्य राखिएको छ । जीवनको अन्तिम विश्रान्तिको सुव्यवस्थाका लागि यो संस्थाले काम गर्ने भएकाले सबैको यो संस्थाप्रति सद्भाव रहेको छ । निर्माण व्यवसायी संघ झापा, मेची पेट्रोलियम डिलर एसोसिएसन बिर्तामोड, तत्कालीन उद्योग वाणिज्य सङ्घ शाखा सुरुङ्गासमेतको पहलमा तथा विभिन्न सङ्घसंस्था एवम् समाजका प्रबुद्ध वर्गको सल्लाह, सुझाव र सहयोगमा सामाजिक सङ्घसंस्था दर्ता ऐन २०४७ अन्तर्गत रही ‘कन्काई आर्यघाट’ नामक मुनाफारहित गैरसरकारी सामाजिक संस्थाको रूपमा यो संस्थाको स्थापना गरिएको हो ।
हाल यो संस्थालाई आर्य र आर्यइतर सबै जातजातिको साझा संस्थाको रूपमा विकास गर्न ‘कनकाई घाट संस्था’ नामाकरण गरिएको छ । कनकाई घाट संस्था स्थापनाका लक्ष्य तथा उद्देश्यहरू दीर्घकालीन र महान छन् । नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही कार्य गर्ने यो संस्था एक मुनाफारहित, गैरसरकारी र जनहितकारी सामाजिक संस्था भएकाले सोही अनुरूप यसले आफ्ना लक्ष्य तथा उद्देश्यहरू किटान गरेको छ । कनकाई नदीमा माईपुलदेखि उत्तर दोमुखा बाँधसम्म पक्की तटबन्धन गरी नदी नियन्त्रण गर्ने, कनकाई घाटको लागि पक्की तटीय बाँधका लागि सडक विभागको कार्यालय, जल उत्पन्न दैवीप्रकोप नियन्त्रण कार्यालय, जिल्ला विकास समिति झापा, जनताको तटबन्धन आयोजना कार्यालय र विभिन्न सरकारी, सहकारी र निजी संघसंस्था तथा निकायसँग सहयोगको लागि पहल गर्ने, अन्त्येष्टि क्रियाको लागि ७ वटा चिता भूमिस्थल निर्माण गर्ने, मलामीजनहरुलाई खाजा ख्वाउने ७ वटा खाजा घर निर्माण गर्ने, स्वच्छ पिउने पानीको व्यवस्था गर्ने, सार्वजनिक शौचालयको निर्माण गनर्,े क्रियापुत्रीको कोरा वार्ने घर (कर्मयोग भवन) निर्माण गर्ने, ब्रंम्हनाल निर्माण गर्ने, क्रियापुत्रीलाई स्वच्छ स्नानका लागि जलकुण्ड निर्माण गर्ने, असहाय वृद्धवृद्धाका लागि वृद्धाश्रम भवन निर्माण गर्ने, कोटीहोमदेखि चिता भूमिस्थलसम्म जाने र पूजास्थलसम्म जाने बाटाहरु व्यवस्थित गर्ने तथा निर्माण गर्ने, धार्मिक महत्व झल्किने पार्क, वाटिकाहरु निर्माण गर्ने, दाहसंस्कारका लागि दाउराको व्यवस्थापन गर्ने साथै भविष्यमा विद्युतीय प्रणालीबाट दाहसंस्कार गर्ने व्यवस्था मिलाउने, संस्थापक सदस्यहरुको अभिलेख स्तम्भ निर्माण गर्ने साथै दाताहरुको शिलालेखमा अभिलेख राखी सम्मान गर्ने, शववाहनको व्यवस्था गनर्,े मलामीजनलाई खानको लागि भाडाकुँडा व्यवस्थित गर्ने, बेवारिसे लाशलाई प्रचलित कानून बमोजिम सद्गतको व्यवस्था गर्ने, वातावरणीय सन्तुलनको लागि वृक्षरोपण गर्ने, पूजा सामग्रीहरु तथा धार्मिक ग्रन्थको पुस्तकालय राख्न,े गोष्ठी, तालिम, अध्ययन, भ्रमण जस्ता विविध क्रियाकलाप सञ्चालन गर्ने, कनकाई विकास क्षेत्रको गुरुयोजना अन्तरगत सोही संस्थासँग समन्वय गरी निर्माण कार्यहरु गर्ने लगायतका उद्देश्यहरू संस्थाले राखेको थियो भने स्थापनापछिको यो अवधिमा उल्लेखनीय काम गर्न संस्था सफल भएको छ ।
केही समाजसेवी, व्यवसायी तथा उद्योगीवीच कनकाई माई भगवतीको किनारमा टन्टलापुर गर्मीमा व्यवस्थित शवदाह—संस्कारगृह निमार्ण गर्नेदेखि लिएर शोक सन्तप्त परिवार र मलामीजनको लागि विश्रामगृह लगायत अन्य भौतिक पूर्वाधार निमार्ण गर्न सकिने सम्भाव्य सुविधाको विषयमा चर्चा परिचर्चा हँुदा उपस्थित मित्रहरूको विश्वास साथै यस पुण्य कार्य गर्न साथीहरूबाट अभिप्रेरित भएर त्यस अनौपचारिक गफलाई औपचारिकता दिन एउटा भेला आयोजना गरी यसलाई प्राविधिक रूपमा पनि व्यवस्थित गरी अघि बढने शुरुवातको रूपमा यो संस्थाको जन्म भएको हो । यसको व्यवस्थित संयोजनका लागि विश्वासिलो र कर्मयोगी व्यक्तिको रूपमा अध्यक्षमा प्रभाखर कडरियालाई छनोट गरिएको थियो ।
कनकाई घाट संस्थाको जन्मपछि बढ्ने क्रममा यसले आफनो सदस्यता विस्तार गर्दै तदर्थ समिति, साधारणसभा, त्यस पछि एउटा निर्वाचित कार्य समिति बनेको छ । यसले आफ्नो कार्यक्रमलाई अगाडि बढाउने क्रममा जनस्तरबाट आर्थिक स्रोत जुटाई पहिलो पाइलाको रुपमा व्यवस्थित शव दाह स्थल निर्माणको हालसम्म ५ वटा शवदाह स्थल निर्माण भइसकेका छन् । संस्थाले आफ्नो स्रोतसाधनबाट २ वटा, विर्तामोड निवासी तिलरुपा खडका, मारवाडी सेवा समिति विर्तामोड र पत्नी स्वर्गीय सरवनदेवी मित्तलको पुण्यस्मृतिमा पति द्वारिकाप्रसाद मित्तल र छोराहरु दिनेश मित्तल र प्रदीप मित्तल लगायत परिवारबाट ३ वटा गरी जम्मा ५ वटा चितास्थलको निर्माण भइसकेको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष पहलमा नगरपालिकाले चितास्थल उत्तरतर्फको जमिनको बचाउका लागि माटो भर्ने र तटबन्ध गर्ने ५० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने कार्य सम्पन्न भइसकेको छ । कनकाई घाट समितिको गुरुयोजना अनुसारका काम एकपछि अर्को पुरा हुँदै गएका र यसका लागि झापावासी उदारहृदयी दाताहरुको सहयोगबाट मात्र सम्भव रहेको संस्थापक अध्यक्ष कडरियाको भनाइ छ । अनुकरणीय सहयोगी हात र उदार मनले मात्र समाजको हितका लागि काम गर्न सक्छ । भएकाले सबै सहृदयी दाता सदैव प्रशंसनीय छन् । धेरै दानवीर, धर्मानुरागी, राजनैतिक, बौद्धिक व्यक्तित्वहरूले यस कार्यको स्वागत गर्दै सहयोगका लागि देखाएको विश्वासले घाट समिति थप उत्साहित छ ।
साहारा नेपाल (साकोस) को सम्पूर्ण आर्थिक लगानीमा खानेपानी टेङ्की चिसो (चिलर) सहितको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको र साहारा नेपाल (साकोस)को अगुवाईमा झापा जिल्लाका ६८ संघसंस्थाको सहयोगमा श्रम तथा समर्पण कार्यक्रम मार्फत सङ्कलित रकमबाट सुबिधासम्पन्न कर्मयोग भवनको समर्पण कार्यक्रमका सल्लाहकार संयोजक तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालज्यूबाट शिलान्यास गरी निर्माण कार्य सम्पन्न भई सुचारु भइसकेको अवस्था छ । समर्पण कर्मयोग भवनको एक भागमा सर्पदंश उपचार केन्द्र पनि सञ्चालनमा आई बिरामीको सेवा गरिरहेको छ । कनकाई नदीको पूर्वी किनारको लगभग ३.५ किलो मिटर पक्की तटबन्धन बनाउने र तटबन्धनको छेउबाट सडक निर्माण यस पछिको दोस्रो प्राथमिकता छ । हरेक वर्ष नदीको धार फेरबदल भइरहनाले साथै सुख्खा अवस्थामा पानीको स्रोतको लागि र बर्खा याममा बाढीबाट हुने समस्या समेतलाई न्यूनीकरण गर्दै व्यवस्थित पुष्पवाटिका, पूजा—अर्चनास्थल, मलामी बिश्रामस्थल, सार्वजनिक शौचालय निर्माण यो गुरुयोजना भित्रका अन्य कार्यहरु हुन् । कतिपय योजना पुरा भइसकेका छन् भने केही पुरा हुने क्रममा छन् ।
आर्थिक र प्राविधिक रूपमा यी कार्य अति चुनौतिपूर्ण छन् । धन, मन, धन सबै प्रकारको सहयोग चाहिएको छ र अहिलेसम्म सुरुङ्गावासी र विशेष गरी झापावासीबाट ज्यादै ठूलो सहयोग प्राप्त भएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका झापावासीको योगदान प्रशंसनीय रहेको छ । तटबन्धन र अन्य आध्यात्मिक पूर्वाधार पक्षको निर्माण गर्ने सोचभित्रका विविध योजनाको सूची हाम्रो गुरुयोजनामा प्रष्ट देख्न सकिन्छ । पैसा भएर पनि व्यवस्थित रूपले कार्य गर्न इच्छुक व्यक्तित्वहरूको यहाँ कमी छैन । कनकाई घाट संस्थाले एउटा गुरुयोजना बनाएको छ । यसलाई अन्तिम रूप दिन प्राविधिक जनशक्ति पनि रहेकाले यस क्षेत्रका आदरणीय दानवीर, धर्मानुरागी महानुभावहरूबाट आउने सहयोगलाई जम्मा गर्दै मितव्ययिता र पारदर्शिताका साथ प्राथमिकताका आधारमा यसलाई सम्पन्न गर्ने घाट समितिको कोशिस रहेको छ ।
घाट समितिको कोशिस भनेको दाताहरूले इच्छाएको कार्यहरूलाई गुरुयोजनाभित्र रही व्यवस्थित रूपमा निर्माण गरी कार्य सम्पन्न गर्ने हो । निष्कर्षमा भन्दा, कनकाई घाट संस्था निरन्तर प्रगतिको बाटोमा छ । आम झापावासी र जीवनको समाप्तिपछिको अन्त्येष्टी सम्मानजनक र विधिपूर्वक हुनुपर्छ भन्ने मान्यता राख्ने तमाम सहयोगी, धर्मपरायण, दानवीर महानुभावको न्यानो माया, सद्भाव, समस्त बौद्धिक, चेतनशील व्यक्तित्वहरूको सल्लाहसुझावकै कारणले विभिन्न प्रकारका समस्यासँग जुध्दै निरन्तर लक्ष्यतर्फ अगाडि बढिरहेको छ । कनकाई घाट संस्थाले आम झापावासीमा आशा र विश्वास जगाएको छ ।
यो संस्थाको स्थापना, विकास र विस्तारमा तथा यसले शुरु गरेको भौतिक पूर्वाधार निर्माणमा समेत झापा तथा काठमाण्डौंबाट प्रकाशित हुने पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य सञ्चार माध्यमले ठूलो पु¥याएकोमा कडरिया आज पनि आभार प्रकट गर्छन् । सबैको खुला सहयोगबाट मात्र यो संस्थाका गुरुयोजना अन्तर्गतका काम सम्पन्न गर्न सकिने भएकाले उदारहृदयी महानुभावप्रति अझ बढी सहयोग र साथ दिन संस्थापक अध्यक्ष कडरियाले सबैसँग अपिल गरेका छन् ।
