शम्भु सुस्केरा
तपाई कनकाई आर्यघाटमा एक हप्तामा कतिजनाको मलामी जानुभयो ? कतिजनाको सामान्य मृत्यु थियो र कति जनाको दुर्घटनाबाट ? याद गर्नुस् त ? पुष २८ गते शनिबार सुरुङ्गाका ७० वर्षिय रघुनाथ भट्टराई र दमकका २३ वर्षिय अनुप ढकालको अलगअलग दुर्घटनाबाट मृत्य भयो, अरु ८ जना घाइते भए ।
एउटा हजुरबा पुस्ता अर्को नाति पुस्ता । दुबै दुर्घटना र मृत्युले नसोचेको शोक दियो । जसरी अप्रत्यासित मृत्युले भट्टराई परिवारमा वेदनाको बोझ आइलाग्यो त्योभन्दा बढी २३ वर्षे छोरो गुमाउँदाको अवश्था कहालीलाग्दो होला ।केही दिन अगि कनकाई १ को गरमकालीमा स्कुल जाँदै गरेकी १२ वर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दियो ।उनी उपचार गरेर घर फर्किसेकी छन् ।
तिनका बाआमा दुबै छैनन्, बूढी हजुरआमा र फुपूको संरक्षणमा छिन्, दुःखले जीवन चलेको छ, पढाइलेखाइ झनै कस्टकर छ ।
भाँच्चिएर स्टिल हालेको खुट्टो निको हुन कति महिना लाग्छ, त्यसपछि स्टिल निकाल्दाको दुःख उस्तै होला । पढाइलेखाइ छुट्ने चिन्ताले मानसिक बिचलन ल्याउँछ नै जति बल गरे पनि लामो समय छुटेको पढाइ रिकभर हुन सक्दैन । औषधी उपचार ट्याक्टर धनीले गर्छन् तर कमजोर शरीरमा ताकत कसरी ल्याउने ? तिनको स्याहारमा खटिँदा गरिखाने फुपूको नियमित श्रम टुट्नेछ ।दुर्घटना एउटा तर त्यसले पार्ने असर कति छ कति ? यो त एक सामान्य घाइते अवस्थाले सिर्जना गर्ने कठिनाइ मात्र हो ।
मानिसको मृत्य हुँदा आर्थिक उपार्जन कसले गर्ने ? जीँनयापन कसरी गर्ने ? सन्तानको पढाइ लेखाइ कसरी चलाउने ? असक्त घाइते भए झन कठिन, घाइतेको सेवामा खटिनु कि पेशा व्यावसायमा सहभागि हुनु ? एउटा परिवारको पुरै जीवन ध्वस्त भएको हुन्छ । दुर्घटनाबाट घाइतेको उपचार गर्दा सवारी धनी र घाइतेका आफन्तको सर्वश्व सकिएको हुन्छ ।
आर्थिक वर्ष २०७९।०८० मा देशभरमा २३ हजार ५ सय ९७ ओटा सावरी दुर्घटना भएका थिए । दुर्घटनामा २ हजार ३ सय ६८ जनाले ज्यान गुमाए भने ५ हजार ७ सय ३८ जना गम्भिर घाइते भए । यी सबैको परिवार र आर्थिक अवश्थाको गतिमा कति धेरै खति भएको होला अनुमान मात्र गर्न सकिन्छ ।
यो आलेख तयार पार्दैगर्दाको सुचना अनुसार भारतीय ट्रकको ठक्करबाट घाइते भएका २२ वर्षिय एक युवा विर्तामोडको बिएण्डसी अस्पताललाई उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएर पनि घर जान पाएका छैनन् । प्रहरीका अनुसार उपचार खर्च लिन गएको गाडिवाला सम्पर्कमा आएको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९\०८० को ६ महिनामा झापामा ४ सय २ ओटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु भयोभने १ सय जना गंभीर घाइते भएका थिए । चालु आर्थिक वर्षको ६ महिनामा २ सय ५१ ओटा दुर्घटना भइसकेका छन् । यो लेख तयार पार्दासम्म ४३ जनाको मृत्यु हुँदा ७१ जना गम्भीर घाइते भएका छन् ।
६ महिनाको तथ्याङ्कले अगिल्लो आर्थिक वर्षभन्दा यसवर्ष दुर्घटना र मृत्यु कम देखाउँछ, तर कसलाई थाहा अबको ६ महिनामा के हुन्छ भनेर ।यसैवर्षको पुष महिनामा दुर्घटनामा परेका ४५ ओटा सवारी साधनमध्ये मोटरसाईकल मात्रै ३२ ओटा छन् ।
३० ओटा दुर्घटनामा तिब्र गतिका कारण १६ ओटा दुर्घटना भएका छन्, यात्रुको गल्तिले ३, चालकको गल्तिले ८, मादक पदार्थ सेवन गरेकाले ३ ओटा र सडकको अवश्थाका कारण एउटा मात्र दुर्घटना भएको छ ।
मौसमका कारण, सडकका गाईवस्तु वा सवारी साधनको यान्त्रिक गडबडीले दुर्घटना भएको देखिँदैन । यसर्थ तिब्र गति, मापसे, यात्रु वा चालकको लापरबाही जे भनिए पनि मान्छेकै कमजोरीले दुर्घटना भएको देखिन्छ ।यसले के स्पष्ट पार्छ भने हे मान्छे तँ आफैँले आफैँलाई वा आफूजस्तै अरुलाई मारिरहेको छस्, तँ सच्चिनैपर्छ ।
पुष महिनाका ३० ओटामा १८ ओटा दुर्घटना बेलुकी ६ बजेपछि भएका छन् । साँझ मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु, अर्को सवारी साधनले बत्ती मधुरो नगरीदिनु, सडक खाली भएका कारण सवारी साधनको गति तिब्र हुनु लगायतका कारण हुनसक्छन् ।४५ ओटा मध्ये ३२ ओटा मोटरसाइकल पर्नु र मृत्यु भएका १० मा सबैजना मोटरसाइकलमा सवार व्यक्तिहरु पर्नुले मोटरसाइकलको यात्रा जोखिम छ भन्ने देखाउँछ ।
जहाँ जोखिम छ त्यहाँ बढी सावधानी चाहिन्छ भन्ने सत्य आजै र अहिले सिक्न जरुरी छ । दुईपाङ्ग्रेको यात्रालाई सुरक्षित बनाउन चालक स्वयं, चाललको परिवार र आफन्त बढी सजग र नियम पालक बन्नु आवश्यक देखिन्छ ।
नागरिकको सुरक्षित यात्राका लागि सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी प्रत्यक्ष जिम्मेवार निकाय हुन् । यसमा पनि प्रत्यक्षरुपमा प्रहरी अगाडि देखिन्छ । सडकमा औँलामा गनिने ट्राफिक प्रहरी मात्र छन् हामी उसैलाई छलेर नियम मिच्न रमाउँछौँ ।
मानौँ नियम उनीहरुका लागि पालना गर्ने हो, आफ्नो सुरक्षाका लागि होइन । प्रहरीले सडक र सवारी प्रयोगकर्तालाई नियम पालना गराउने हो । हामी मानिरहेका हुँदैनौँ ।ट्राफिक प्रहरीका केही मानवीय वा नियतवस हुने कमजोरीबाहेक सवारी व्यवस्थापन खटिएकै देखिन्छ । तर सधैँ जनशक्ति अभाव छ भनेको सुनिन्छ । कसले र कहिले पुरा गर्ने हो ट्राफिक जनशक्तिको अभाव थाहा छैन ।
स्थानीय सरकार बेखबरजस्तै छ हरेक दिन हुने दुर्घटना र मृत्युका बारेमा । बजेट र कार्यक्रममा कतै उल्लेख गरेको पाइदैन । प्रहरीले गर्ने कारबाहीका भरमा मात्र मानिस सुरक्षित हुने देखिएन ।जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार करिब २५ हजार सवारी साधनलाई कारबाही गरेर १ करोड ७२ लाख जरिवाना गरेको छ । ५८ हजारभन्दा बढीलाई सचेतना कक्षा दिइसकेको छ यो चालु आर्थीक वर्षको ६ महिनामा ।
सवारी नियम जानौँ पनि मानौँ पनि । म सकुसल घर फर्किनुपर्छ, मलाई कुरेर बसिरहेका छन् भन्ने कुरा हमेशा ख्याल गरेर सवारी साधन चलाऔँ । कुनै न कुनै तरिकाले सडक र सवारीसाधनको उपभोग गर्ने हरेकले मानिसको अकाल मृत्यु र अपाङ्गतालाई रोक्न सक्छ ।
यसको अगुवाई आफैँले नगर्दासम्म कसैको मृत्यु वा अङ्भङ्गले कयौँको बिचल्ली हुने र देशको अर्थतन्त्रमा असर गर्ने क्रम रोकिने छैन बरु बढी रहन्छ ।
फेसबुक वा काजकिरिया स्थलमा गएर समवेदना वा श्रद्धान्जलि व्यक्त गर्दा मृतकका आफन्तलाई सामान्य सहानुभूति त हुनसक्छ तर भोलि हुने मृत्यलाई रोक्न सक्दैन । तसर्थ जिम्मेवार निकायलाई ठोस र स्थायी समाधान खोज्न प्रेरित गरौँ, दबाब दिऔँ
सामुहिक वा व्यक्तिगत सजगता अभियानको यात्रा तय गरौँ । आफू र अरुका लागि पुञ्य कर्म गरौँ । यसका लागि विभिन्न शुत्र वा मन्त्रको जप गरौँ, यसको पालना गरौँ, आफू बचौँ र अरुलाई बचाऔँ ।
सवारी दुर्घटनाबाट बाँच्ने र बचाउने मन्त्र वा शुत्र
१.सवारी चलाउनुअगि त्यसको अवश्थाको जाँच गर्छु\गर्न लगाउँछु ।
२.लाइसेन्स नभइ वा राम्रोसँग चलाउन नजानी आफू पनि सवारी साधन चलाउँदिन र अरुलाई पनि चलाउन दिन्न ।
३. आफूले नियन्त्रण गर्नसक्नेभन्दा बढी गतिमा सवारी साधन चलाउँदिन
४.मोटरसाइकल चढनासाथ अनिवार्य हेलमेट लगाउँछु ।
५.बिरामी बोक्नुपर्ने बाध्यकरी अवश्थामा बाहेक मोटरसाइकल वा स्कुटरमा एकजनाभन्दा बढी चढाउँदिन, अरुकोमा पनि चढ्दिन ।
६.हेलमेट नलगाएका छोरा वा श्रीमानको सवारी साधनमा चढ्दिन र हेल्मेट नलगाइ चलाउन पनि दिन्न ।
७.तिब्र गतिमा सवारीसाधन चलाउनेको सवारी साधनमा चढ्दिन ।
८.जहिले पनि बायाँलेनबाट सवारी साधन चलाउँछु, दायाँबाट कहिल्यै चलाउँदिन
९. बाया साइडबाट कहिल्यै ओभरटेक गर्दिन ।
१०. जति नै हतार भए पनि पहिले अरुलाई जान दिन्छु ।
११.पहिले पैदल यात्रीलाई प्राथमिकता दिन्छु ।
१२.पैदल यात्रिलाई कहिल्यै हर्न बजाउँदिन, बरु रोकेर जान दिन्छु ।
१३.सडकमा पैदल हिँड्दा पेटीबाट मात्रै हिँड्छु, पेटी नभएको ठाउँमा जहिल्यै सडकको दाहिने किनाराबाट हिँड्छु ।
१४. सार्वजिनक सवारी साधन वा मालबाहक सवारी साधनमा सवारी साधनको क्षमता र सडकको अवश्था अनुसार मात्र भार बोकेर हिँड्छु ।
१५. राति बिपरित दिशाबाट आएको सवारीसाधनका लागि आफ्नो सवारी साधनको बत्ती मधुरो गरिदिन्छु ।
१६.बिपरित लेन खाली छ भने मात्र ओभरटेक गर्छु, नत्र केही बेर पर्खिन्छु ।
१७. अगाडिको चालक वा पैदल यात्री तर्सिनेगरी हर्न बजाउँदिन ।
१८.पूर्णरुपमा निर्माण भइनसकेको सडक, पुलबाट सवारी साधन चलाउँदिन ।
१९.मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर सवारी साधण कहिल्यै चलाउँदिन
२०. सवारी साधन चलाउँदा मोबाइलको प्रयोग गर्दिन ।
२१. कुनै पनि पुल, चोक, बजार र व्यस्त ठाउँमा एकदमै कम गतिमा सवारी साधन चलाउँछु ।
सचेत भएर यति कुरा पालना गर्न समय र शुल्क दुवै लाग्दैन । बरु आफू बाँचेर अरुलाई बचाउन सकिन्छ ।
यदि सजग भएनौँ भने कुनै दिन हाम्रै घरभित्र छिर्नेछ त्यो दुर्घटना, मृत्यु, घाइते, अङ्गभङ्ग, ठूलो आर्थिक क्षति र परिवारको अवस्थाको एकमुष्ट बर्बादी ।
सङ्कल्प गरौँ के स्वीकार्ने ? यात्रामा कठोरतापूर्वकको सजगता कि बर्वादी ?
