कनकाई खबर \ झापाको कनकाई—२सुकेडाँगी स्थित कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीबाट गत असार महिनादेखी नै उत्पादन सुरु भएको बायोग्यास ६ महिनादेखी उपभोक्तामा नगएर बालेर नष्ट भएका कारण सरोकारवाला अन्यौलमा छन् ।
सम्बन्धित पालिकाहरु बिचमै फोहोरमा भएको राजनीतिका कारण उपभोक्ता माझ बायोग्यास पुग्न ढिलासुस्ती भएको कम्पनीमा कार्यरत इन्जिनियर रुपक कार्की बताउँछन् । समयमै उद्येश्य अनुरुपको काम सम्पन्न गर्न उचित व्यवस्थापन हुन नसक्नु व्यवस्थापकीय कमजोरी भएको इन्जिनियर कार्कीले स्विकार गरेका छन् । स्थानीय उपभोक्ताको घर–घरमा बायोग्यास पुर्याउने प्रतिवद्धतासहित सुरुवात गरिएको योजनाबाट कहिले ग्यास उपभोग गर्न पाइने हो भन्ने विषयले उपभोक्तामा अन्यौल छाएको हो ।

हाल दैनिक १सय ५० के.जी.सम्म शुद्ध बायोग्यास उत्पादन भइरहेको भएपनि कम्पनीमा ग्यास स्टोर गर्न आवश्यक सामाग्रीको अभावका कारण बायोग्यासलाई फ्लेयर अथवा (बालेर नष्ट)गरिएको इन्जिनियर कार्कीको भनाइ छ । शुद्ध बायोग्यास नष्ट गर्दै हाल कम्पनीमा कार्यरत प्राविधिकहरुले दैनिक आफ्नो नयाँ अनुभव बढाउँन प्रयोगात्मक कार्य गर्दै मासिक तलब खाँदै आएका छन् । कम्पनीमा हाल कामदार साथै प्राविधिक सहित १५ जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।
हाल कम्पनीमा स्टोर गरिएका एकसय वटा सिलिण्डरमा पूर्ण रुपमा भरिएको बायोग्यास सिलिण्डरबाट समेत हरेक दिन फ्लेयर गर्दै पुनः ड्रेन गर्ने गरेको इन्जिनियर कार्की बताउँछन् । जसका कारण वातावरणमा समेत प्रत्यक्ष असर पर्ने स्थानीयबासी बताउँछन् ।
प्लान्टको उद्येश्य भनेको उत्पादन भएको बायोग्यास बेचेर आयआर्जन गर्ने भएकाले इमरजेन्सी अवस्थामा कहिलेकाही छोटो समयकालागी बालेर नष्ट गर्न सकिन्छ तर ६महिना सम्म हरेक दिनको उत्पादन नष्ट गर्नु उपयुक्त नहुने सरोकारवाला बताउँछन् ।
यो संवेदनशिल अवस्थालाई सामान्य रुपमा लिएको कनकाईको उर्जा कम्पनीमा प्रत्यक्ष रुपमा सरोकार राख्दै आएका स्थानीय तीनवटा पालिकाहरु सहभागी रहेको प्रशासनीक निकायबाट समेत ढिलासुस्ती भएको पाइएको छ ।
फोहोरलाई मोहोरमा बदल्ने जनप्रतिनिधिहरुको सपना पूरा हुने अवस्थामा पुगेको योजना यतिबेला उज्यालो हुने बेलाको अँध्यारो हो—अथवा अन्धकारमा रुमलिने हो भन्ने विषयले उपभोक्ताहरु अन्यौलमा रहेका हुन् ।
परिक्षणबाट ९६ प्रतिशत शुद्धता प्रमाणित भएको बायोग्यास समयमै उपभोक्ता सम्म पुर्याएर आर्थिक व्ययभार पुर्ती गर्दै अघि बढ्नु पर्नेमा कम्पनीले प्राविधिक समस्या देखाउँदै राज्यको सम्पती दुरुपयोग गरेको स्थानीयबासी बताउँछन् । उत्पादन भइरहेको बायोग्यास व्यवसायिक रुपमा विक्रि गर्ने योजनाका साथ हाल सम्म एकसय वटा सिलिण्डर भरेर कम्पनीमा स्टोर गरीएको छ ।
झापाका पालिकाहरु कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्ने उद्येश्यले कम्पनी स्थापना गरेका हुन् । १७ करोड ५० लाखमा तीनवर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरी बायोग्यास संचालन गर्ने लक्ष्यका साथ पाँच वर्ष अघि डिपिआर तयार गरी काम सुरु गरेको कम्पनीमा हाल २२ करोडको बजेट खर्च भइसकेको बताइएको छ ।
निर्माणको कार्य सम्पन्न भएपनि प्रारम्भिक चरणमा सम्बन्धित पालिकाहरुबाट फोहोर नआएका कारण उत्पादनले गति लिन नसकेको कनकाई नगरपालिकाका कर्मचारी समेत रहेका कम्पनीका प्रवन्धनिर्देशक लक्ष्मीप्रसाद अधिकारी बताउँछन् । हाल बजारीकरणको अवस्थामा पुगेको बायोग्यास कम्पनीले उपभोक्ताको पहिचान गरिरहेको बताइएकोछ । पहिलो चरणमा होटल व्यवसायीहरुसँग समन्वय भइरहेको प्रवन्धनिर्देशक अधिकारीले जानकारी दिए ।
कम्पनीमा कुहिने फोहोरबाट बायोग्यासको उत्पादनसँगै जैविक मल समेत उत्पादन भइरहेको बताउँदै प्रवन्धनिर्देशक लक्ष्मीप्रसाद अधिकारीले नकुहिने प्लाष्टिकजन्य फोहोरलाई पेलेर पेवर्स (निर्माण सामग्री)उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।
बायोग्यास उत्पादनकालागि विश्व बैंकको ४० प्रतिशत साथै स्थानीय पालिका सहित उपभोक्तबाट ६० प्रतिशत लगानी व्यहोर्ने सहमतिअनुसार योजना अघि बढेको कम्पनीका संचालक समितिका पुर्व अध्यक्ष मिनाल तिम्सिना बताउँछन् ।
विश्व बैंकले पाँच करोड ४६ लाख रुपैयाँ अनुदान दिएको प्लान्टमा हाल ७५० जनाभन्दा बढी उपभोक्ताले १० हजारदेखि एक करोड रुपैयाँसम्म शेयर लगानी गरेको पुर्व अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
सम्झौता भएअनुसार पालिकाहरुबाट दैनिक फोहोर आउँने हो भने चार हजार घन मिटर कुहिने फोहोरमैलाको व्यवस्थापन हुन सक्ने क्षमताको डाइजेस्टर तयारी भएको बताइएको छ । डाइजेस्टरमा हाल दैनिक ८ टन सम्म गोबर साथै फोहोरमैला खपत भइरहेको बताइएको छ । जसबाट झोल साथै जैविकमल (ठोस मल) समेत उत्पादन भइरहेको छ ।
स्थानीय पालिकाहरुबाट उत्पादित फोहोर व्यवस्थापन गर्ने उद्देश्यले कनकाई–२ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी बायोग्यास प्लान्ट स्थापना गरेर फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरिएको हो ।
एलपीग्यासको तुलनामा बायोग्यास उपभोक्ताकालागि प्रतिसिलिण्डर अत्यन्तै न्युन दररेटमा बिक्रि बितरण हुने बताउँदै प्रवन्धनिर्देशक अधिकारीले उत्पादित बायोग्यास एलपीग्यासको विकल्पसँगै होटल व्यवसाय, औधोगिक क्षेत्र, अस्पताल लगायतका प्रतिष्ठानमा प्रयोग हुने बताए ।
यहाँबाट उत्पादन हुने बायोग्यास एलपीग्यासभन्दा बढी प्रज्वलनशील हुने बताइएको छ । प्लान्ट सञ्चालनमा आएपछि कुहिने र नकुहिने दुवै प्रकारको फोहोर व्यवस्थापन हुने र २५ वर्षसम्म फोहोर व्यवस्थापनको चुनौती समाधान हुने स्थानीय पालिकाका प्रतिनिधिहरु बताउँछन् ।
बायोग्यास उत्पादन सुरु भएपनि बजारीकरण साथै अन्य पालिकाको समेत लगानी बढाउने बारेमा तीनवटै पालिका बिच छलफल भइरहेको बताइएको छ ।
हाल तीनवटै नगरपालिकाले कम्पनीमा पठाउने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्र्गीकरण गर्नु पर्नेमा जोड दिँदै आएपनि उपभोक्ताबाट हाल सम्म पनि सोही अनुरुपको काम हुन नसकेको बुझिएको छ ।
