अम्बिका भण्डारी (कनकाई खबरको दशैं कोशेलीबाट)
मेचीनगर नगरपालिका–४ की रुना कार्कीलाई चाडबाड आउँदाको रमाइलो भन्दा थपिने कामको बोझले खासै उत्साह हुँदैन । घरबाट पढाई र जीविकोपार्जनका लागि देशभर छरिएर बसेका परिवारका सदस्यको आगमनले दशैंमा मनलाई प्रफुल्ल तुल्याए पनि थपिएको कामको कारण शरीर पनि शिथिल हुने गरेको उहाँको भनाई छ । “खुशीसँगै दुःख पनि आउँछ”, उहाँले भन्नुभयो, “परिवार र आफन्तलाई खुशी बनाउन उनीहरुको चाहना अनुसारको परिकार पकाउनै पर्यो । बर्षमा बल्ल घरमा आएका हुन्छन् स्याहार र सत्कार विशेष चाहियो । उफ रोबर्ट जस्तै बन्नुपर्छ ।”
मेचीनगर– ६ की सुष्मा राजवंशी पेशाले सञ्चारकर्मी हुनुहुन्छ । उहाँ रेडियो साथीको एमडी हुनुहुन्छ । चाडपर्वमा गरिने सामाजिक भेटघाट र रेडियोको नियमित कामसँगै घरायसी कामले थकित उहाँ आराम कुन चराको नाम हो भनेर सम्झनु पर्ने बताउनुहुन्छ । “हाम्रा सांस्कृतिक पर्वहरु सबै रमाइला हुन्छन्”, उहाँ भन्नुहुन्छ, “तर घरेलु काम प्रायः महिलाको मात्र हो भन्ने सामाजिक मान्यताले अन्याय भइरहकेको छ । परिवारका सबैले घरको काम आफ्नो दायित्व ठान्ने हो भने सहज हुने थियो ।”
उहाँहरु प्रतिनिधि पात्र मात्र हो । उहाँहरु जस्तै हरेक महिलाहरु बर्षभरिको घरायासी र कार्यालयको कामले व्यस्ततापछि आएको दशैंमा घुम्ने, आराम गर्ने र आफन्तसँग रमाउने सपना बुन्छन् । तर जब दशैं आउँछ, उनीहरुले बुनेको सपना सधै सपना बन्छ कहिले विपनामा परिणत हुन सक्दैन । दशैंको रौनक सुरु भएसँगै घरमा रंगरोगन गर्ने, कपडा धुने, घर सरसफाई गर्ने लगायतका कामको चापले महिलाहरुलाई रमाउने फुर्सदै मिल्दैन । हरेकका फरक फरक परिकारका माग हुन्छन् । ती मागलाई सम्बोधन गर्दागर्दै र घरपरिवारमा आएका पाहुनाको व्यवस्थापनले दशैं होइन प्रत्येक महिलालाई कामको बोझले थकित बनाउँछ ।
दशैं अवधिभर देवीको पूजा गरिन्छ । महिलालाई शक्तिको रुपमा स्वीकार गरेर पूजा आराधना गर्ने चाडमै साक्षत्कार देवीहरुमाथि भएको शक्तिशाली हिंसाबारे सबै मौन छौं । पौराणिककालमा महिसासुर नाम गरेको राक्षसलाई बध गरेर शान्ति ल्याउने देवीको पूजा आज कलियुगमा पनि उत्तिकै हुने गरेको छ । एकातिर दशैभरि देवीको मूर्तिको पूजा आरधना गर्छौै भने अर्को तिर साक्षत्कार देवीहरुलाई सो समयमा आराम गर्ने समय नै मिल्दैन । हाम्रो समाजमा हरेक घरको भान्साको काम महिलाको मात्र हो भन्ने भास्य निर्माण भएको छ । यसलाई चिर्न कहीँ कतैबाट पहल भएको पाइदैन ।
जब चाडपर्व आउँछ महिलालाई कामको बोझ थपिन्छ । विहान उठेदेखि घरको सरसफाई, पाहुनाको सत्कार, सबैको रुची अनुसारको खाना, चिया, नास्ता गर्दागर्दै बेलुका १० बजेको पत्तै हुँदैन । हरेक काम महिलाको मात्र नभई हामी सबैको हो भन्ने परिवारको अन्य सदस्यले सोचिदिने हो भने अरुको जस्तै चाडपर्वहरु महिलाको लागि पनि उत्सव बन्ने निश्चित छ । महिला शक्तिको सामाजिक, दार्शनिक, धार्मिक, बैदिक, पौराणिक एवम् तान्त्रिक आदिले व्याख्या गरिन्छ । आम महिलाभित्र शक्तिको बास हुन्छ भन्ने व्याख्या व्यवहारमा परिणत भइसकेको छ । तर, लोक व्यवहारमा महिलालाई बच्चा जन्माउने कारखाना र घरेलु मजदूरको रुपमा गरिने व्यवहार भने जीवितै छ ।
मसिनो गरी हेर्ने हो भने चाडपर्वमा महिला र पुरुष बीचको विभेद खुलस्त देखिन्छ । कामकाजी महिलाले झेल्नुपरेका चाडपर्वका पिरलो अझ कष्टकर छ । महिला र पुरुषबीच विभेदको बहस चलिरहँदा भान्सामा हुने असमानताको बारेमा बहस हुन सकेको छैन । सामाजिक क्षेत्र, राजनीतिदेखि विभिन्न स्थानमा महिला समान अधिकारका लागि लडिरहेका छन् । तर, हेर्दा सामान्य लाग्ने जटिल कामको बोझ हुने भान्साका बारेमा भने आफैं पनि मौन देखिन्छौं ।
पत्रकारितामा संलग्न महिला, प्रहरी प्रशासनका महिला, डाक्टर, वकिल लगायत कामकाजी महिलाले समेत घर र बाहिर दुवै काम गर्नुपर्ने बाध्यता छ । महिलालाई देवीको नाम दिएर काम र जिम्मेवारी भने पेलाएर लगाउने प्रवृत्ति विरुद्ध बोल्नुपर्छ । लैंगिक समानताको अभ्यास हाम्रा घरको भान्साबाटै सुरुवात गरौैं । घर चलाउन दुवैको समान महत्व छ । दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास गरौं । यो काम पुरुषले गर्ने र उ काम महिलाले गर्ने भन्ने गलत भाष्यलाई तोडौं ।
