कनकाई खबर \ झापाको सुरुङ्गामा विद्यालयका प्रधानाध्यापक सहित शिक्षा सम्बद्ध व्यक्तित्वहरुलाई लक्षीत गरेर संचालन गरिएको पाच दिने भावातीत ध्यान शिविरबाट शिक्षा क्षेत्रका ६५व्यक्तित्व लाभान्वीत भएका छन् ।

‘शान्ति, आनन्द, समृद्धि, स्वास्थ्य र भौतिक सफलताका लागि ध्यान’ भन्ने नाराका साथ संकल्प प्रतिष्ठान नेपाल र नेपाल महर्षि फाउन्डेसनले शिविरको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले जानकारी दिए । झापामा आत्महत्या जस्ता नकारात्मक घटनाको अत्याधिक वृद्धि भएको हुँदा त्यस्ता घटना रोकथामका लागि संघिय सांसद एल.पी. साँवाको पहलमा महर्षि फाउन्डेसनसँग सहकार्य गरेर भावातीत ध्यान शिविर सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष प्रसाईँले बताए । शिविर समापनसँगै सहभागी सबैले अब हरेक दिन भावातीत ध्यानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।
ध्यान शिविरमा प्रशिक्षकको रुपमा रहेका विद्वान व्यक्तित्व माधव अर्याल सहित चेतना भुषालले सहजिकरण गरेका थिए । प्रमुख प्रशिक्षक अर्यालले मानिसमा हुने रोगको ९०प्रतिशत कारण तनाव र चिन्ता नै भएको अनुसन्धानबाट प्रमाणित भएको जानकारी दिदै भावातीत ध्यानले मनमा उत्पन्न हुने निराशा र नकारात्मक विचारलाई हटाउने दावी गरे ।
समाजमा आत्महत्या र मानसिक रोगको समस्या विकराल रुपमा बढिरहेको हुँदा यसलाई न्यूनीकरण गर्न ध्यान सबैभन्दा उपयुक्त समाधान भएको प्रशिक्षक अर्यालको भनाई थियो ।
शिविरको उद्घाटनका क्रममा संघीय सांसद एलपी साँवा लिम्बुले बिगत एक वर्षदेखि आफु पनि भावातीत ध्यानको अभ्यासमा रहेको जनाउँदै समाजमा शान्ति र समृद्धिका लागि ध्यान र ज्ञानको महत्वपूर्ण भूमिका हुने बताए ।
सांसद साँवाले झापामा चिकित्सक, शिक्षक र युवाहरु नै चरम डिप्रेसनका कारण आत्महत्याको शिकार भइरहेको प्रसंग जोड्दै भावातीत ध्यानले मानिसलाई तनावमुक्त जीवन जिउने कला सिकाउने धारणा व्यक्त गरे ।
नेपाल महर्षि फाउन्डेसनका अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले महर्षि महेश योगीद्वारा प्रवर्तित भावातीत ध्यान विधि बेद र विज्ञान दुबैबाट प्रमाणित रहेको बताउँदै विश्वका अधिकांश देशका ६०लाखभन्दा बढी मानिसले नियमित अभ्यास गरिरहेको जानकारी दिए ।
ध्यानले व्यक्तिको जीवनमा मात्र नभएर समाज र देशको शान्ति र समृद्धि स्थापनामा सहयोग पुर्याउने भएकाले फाउन्डेसनले हरेक मुलुकका एक प्रतिशत नागरिकमा भावातीत ध्यानको बानी बसाउने अभियान सञ्चालन गरिरहेको बाँस्कोटाले बताए ।
नेपाल महर्षि फाउन्डेसनले देशभर भावातीत ध्यान शिविर अभियान सञ्चालनका लागि हालै मात्र १५० जना प्रशिक्षक उत्पादन गरेको फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले जानकारी दिए ।
शिविरमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, सहायक प्रजिअ रुद्र न्यौपाने लगायतका सरकारी कार्यालयका प्रमुखहरु सहित विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको संकल्प प्रतिष्ठानका झापा संयोजक पदम कुवँरले जानकारी दिए ।
भावातीत ध्यान के हो ?
भावातीत ध्यान एक सरल, सहज, स्वाभाविक, प्रयासहीन एवं वैज्ञानिक पद्धति हो । यो कुनै पनि अवस्थामा आरामसँग बसेर गर्न सकिन्छ । ध्यानको यो विधि वेद र विज्ञान दुवैबाट प्रमाणित छ । विश्वभरका १३३ देशका २५० भन्दा बढी विश्वविद्यालयहरुमा ६०० भन्दा बढी वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुबाट प्रमाणित यो पद्धति विश्वभरमा ६० लाख भन्दा धेरै व्यक्तिहरुले नियमित रुपमा अभ्यास गरिरहेका छन् । यो ध्यान एकाग्रता (ऋयलअभलतचबतष्यल)या चिन्तन मनन तथा जप (ऋयलतझउबितष्यल) को विधि होइन ।
भावातीत ध्यानका विशेषताहरुः
१. भावातीत ध्यान सरल, सहज, स्वाभाविक तथा प्रयासहीन छ ।
२. यो क्रमबद्ध एवं वैज्ञानिक छ ।
३. यो शक्तिशाली एवं शीघ्र प्रभावकारी छ ।
४. भावातीत ध्यान सिक्न तथा अभ्यास गर्न खानपिन, रहनसहन तथा जीवनयापनमा कुनै परिवर्तनको आवश्यकता पर्दैन ।
५. भावातीत ध्यान जुनसुकै जाति, धर्म तथा विचारधारा भएका सबै देशका नागरिकले सजिलै सिकेर र यसको नियमित अभ्यासद्वारा लाभ उठाउन सक्दछन् ।
भावातीत ध्यानमा के हुन्छ ?
भावातीत ध्यानमा चञ्चल मन शान्त हुृृदै अत्यन्त सुक्ष्म स्तरबाट कार्य गर्न थाल्दछ । मन तथा विचारको अवस्था अनुसार हाम्रो शारीरिक अवस्था हुने भएकोले हाम्रो शरीरले पनि गहन विश्राम प्राप्त गर्दछ । शरीरले प्राप्त गर्ने गहन विश्रामले गर्दा मानव जीवनका विभिन्न क्षेत्रमा फाईदाहरु प्राप्त हुन सुरु गर्दछ ।
भावातीत ध्यानबाट हुने लाभहरु
नियमित रुपमा भावातीत ध्यान गर्नाले जीवनको प्रत्येक क्षेत्रमा पूर्णता प्राप्त हुन्छ । भावातीत ध्यानका लाभहरुलाई वैज्ञानिकहरुले आफ्ना परीक्षण तथा प्रयोगको माध्यमबाट निम्नानुसार प्रमाणित गरेका छन् ।
क) मानसिक क्षमताको विकास
१. तीक्ष्ण बुद्धि एवं गहन समझदारीको विकास हुन्छ ।
२. धेरै विषयवस्तुप्रति चिन्तन गर्ने शक्तिको विकास हुन्छ ।
३. स्मरणशक्तिको वृद्धिको साथै दुर्बलता, उत्तेजना एवं चिडचिडापन हटेर भावनात्मक सन्तुलन बढ्छ ।
४. सृजनशीलता, व्यावहारिक बुद्धिमत्ता तथा गणितीय क्षमतामा वृद्धि हुन्छ ।
ख) स्वास्थ्यमा सुधार
१. स्नायुप्रणालीमा गहन विश्राम उपलब्ध हुनाले तनाव विलीन हुन्छ । स्नायुप्रणाली शुद्ध हुन्छ । व्यक्ति आफ्नो ‘स्व’मा स्थित हुन्छ र पूर्ण स्वस्थ हुन्छ ।
२. रोग प्रतिरोध क्षमता बढ्छ । तम्बाकु, बिँडी, सिगरेट, रक्सी र लागु औषधको आदत बिस्तारै छुट्छ ।
३. मुटु तथा स्वासको गति एवं चयापचयको दर (ःभतबदयष्अि च्बतभ) मा कमी आई उच्च तथा न्यून रक्तचाप एवं मुटुरोगलाई बढी फाइदा पुगेको पाइएको छ ।
४. चिन्ता र नकारात्मक समस्याहरु समाधान (इन्जाइटी र डिप्रेसन) हुन्छ ।
ग) सात्विक आचरणको विकास
१. सहनशीलता बढ्छ ।
२. नैतिक परिपक्वताको विकास हुन्छ ।
३. अरुलाई सहयोग गर्ने भावना जागृत हुन्छ ।
४.व्यक्तिको आध्यात्मिक विकास हुन्छ ।
घ) पर्यावरणमा सकारात्मक प्रभाव पर्नुका साथै विश्वमा शान्तिको योगदान
१. कुनै पनि समाज तथा जनसङ्ख्याको १ प्रतिशत मानिसले मात्र भावातीत ध्यान गरेमा त्यस समाज तथा देशमा दुर्घटना कम हुन्छ, अस्पताल भर्ना हुने सङ्ख्यामा कमी आउँछ, आपराधिक घटनाहरु कम हुन्छन् र समाजमा भाइचाराको सम्बन्ध सुदृढ हुँदै सामन्जस्यतामा वृद्धि हुन्छ ।
२. समाज तथा देशको सामुहिक चेतनामा सहसम्बद्धता बढ्दै सात्विकतामा वृद्धि हुन्छ ।
३. जसरी हामीले कुनै हरियो वनको कल्पना गर्दा त्यहाँ वनका प्रत्येक रुख हरियो हुनु पर्दछ, त्यसैगरी विश्व शान्ति स्थापनाको लागि प्रत्येक व्यक्ति शान्त हुनु जरुरी हुन्छ । भावातीत ध्यानले प्रत्येक व्यक्तिलाई प्रकृतिको असीमित शान्तिको क्षेत्रमा स्थापना गर्ने हुँदा विश्व शान्तिको लागि प्रत्येक व्यक्तिले योगदान गर्न सक्छन् ।
भावातीत ध्यान कसका लागि
भावातीत ध्यान ती सम्पूर्ण व्यक्तिहरुको लागि हो , जो पूर्ण शारीरिक एवं मानसिक स्वास्थ्यको लागि इच्छुक छन्, जो तनाव एवं चिन्ताबाट मुक्त भएर जीवनमा प्रगति, विकास, सुख, शान्ति सन्तुलनका अभिलाषी छन् । भावातीत ध्यान पूर्ण रुपमा शारीरिक एवं मानसिक स्वास्थ्य विकास चाहनेहरुको लागि हो ।
