पर्यटन क्षेत्र कुनै पनि मुलुकको अर्थव्यवस्थाको एक मुख्य आधार हो । मनोरञ्जन वा दिल बहलाउने उद्देश्यले गरिने भ्रमण, घुमफिर गर्ने कार्य नै पर्यटन हो । यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । र यसको व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ ।
पर्यावरणीय पर्यटनको प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक–सांस्कृतिक सम्पदा नै हो । पर्यावरणीय पर्यटनको प्रमुख उद्देश्य भनेको पर्यटकीय स्थलको वातावरण, प्राकृतिक स्रोतको संरक्षण, स्थानीय संस्कार र संस्कृतिको जगेर्नाका साथै स्थानीयवासीको जीवनस्तर उकास्नु हो । पर्यावरणीय पर्यटनको प्रमुख आकर्षण भनेको प्राकृतिक विविधता, जीवजन्तु, वनस्पति तथा त्यहाँको धार्मिक–सांस्कृतिक सम्पदा नै हो ।
आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानी क्रमशः देशीय र बाह्य वा अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो । तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधानान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।
विशेषगरी एसियामा पर्यटन व्यवसायबाट चीन, भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुद पारेका छन् । नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ ।
झापा जिल्ला नेपालको सुदूर पूर्वको जिल्ला हो र यो सूर्योदयको जिल्ला हो । झापाको लगभग मध्य भाग भएर बहने पवित्र कनकाई नदीको किनारमा अवस्थित बन्द निषेधित शान्तिक्षेत्रको रूपमा सुपरिचित कनकाई नगर धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण क्षेत्र हो । धर्म र संस्कृति संरक्षण गर्न धार्मिक स्थलहरूले सघाउ पुर्याउँछन् भने पर्यटकीय स्थलहरूले पर्यटकहरूको मन लोभ्याई स्वदेशी तथा विदेशी मुद्रा आर्जन गर्न तथा स्थान विशेषको प्रचारप्रसारमा सघाउ पुर्याउँछन् ।
धार्मिक स्थलहरूले पनि पर्यटकहरूलाई आकर्षित गर्दछन् । यस्ता स्थलहरूको संरक्षण, सम्बद्धन र विकास गर्नु स्थानीय व्यक्तिहरूको कर्तव्य हो । पर्यटकीय क्षेत्रको विकासबाट स्थानीयको जीवनस्तरमा सुधारका लागि प्रत्यक्ष–परोक्ष सकारात्मक प्रभाव पार्दछ । सुकेडाँगी सामुदायिक वन पूर्व–पश्चिम राजमार्गको सुरुङ्गा चोकबाट करिब ३.५ किलोमिटर उत्तरतर्फ तराईको समथर भूभागदेखि चुरे पर्वत हुँदै इलाम जिल्लाको सिमानासम्म फैलिएको छ । यस वनको पूर्वतर्फ जामुनवारी, प्रजापति, दहीझोडा र जुकेखाडी सामुदायिक वनहरू, पश्चिममा कनकाई माई नदी, उत्तरतर्फ इलाम जिल्लाको ठूलो झोडा गाउँ, कुसुम खोला र सरस्वती सामुदायिक वन, र दक्षिणतर्फ कनकाई नगरपालिका वार्ड नं. २ को नम्बरी जग्गा पर्दछन् ।
यो वन जम्मा ७४२.३ हेक्टर भूभागमा फैलिएको छ जसमध्ये १४७ हेक्टर भूभाग इलाम जिल्लामा पर्दछ । यस वनलाई ५ ओटा ब्लकमा बाँडिएको छ जसमा ब्लक नं. ५ पुरै इलाम जिल्लामा पर्दछ । यस वन समूहमा जम्मा ६३१ घर उपभोक्ताहरू रहेका छन् । यस वन उपभोक्ता समूहलाई जिल्ला वन कार्यालय झापामा वि.सं. २०५२ असोज ६ गते दर्ता गरिएको हो । यस वन क्षेत्र अन्तर्गत धनुषकोटी धाम, कनकाई माईनदीको पूर्वी तटमा वनभोज स्थल र उद्यान, चुरे पहाडमा जगनपाण्डेको दरबारको भग्नावशेष आदि प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू अवस्थित छन् ।
यस वनमा पाइने मुख्य रुखबिरुवाहरूमा साल, साज, कुम्बी, बोटधँगेरो सिसौ, खयर, कर्मा हुन् भने वनस्पतिहरूमा हर्रो, बर्रो, कुरिलो, अमला, सर्पगन्धा आदि रहेका छन् । त्यस्तै वन्यजन्तुहरूमा बाघ, भालु, बाँदर, मृग, मयुर, लुइँचे, हरिण, बँदेल आदि पाइन्छन् । यस क्षेत्रका युवायुवतीलाई खेलकुद क्षेत्रमा टेवा दिन दुई ओटा खेलमैदान पनि व्यवस्थापन गरिएको छ ।
स्थानीय कृषकहरूको सुविधाका लागि पशुपालनमा नश्ल सुधार गर्न समूहको कार्यालय परिसरमा उन्नत जातका राँगा, गोरु, बोकाहरू पनि व्यवस्था गरिएको छ । नेपालको झापा जिल्लाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन क्षेत्रभित्र कनकाई नदीकोतट र चुरे पर्वतको फेदीमा धनुषकोटिधाम अवस्थित छ ।
पवित्र कनकाई नदीको पूर्वी किनारामा दोमुखाको पूर्वी तटमा प्राकृतिक, धार्मिक र आध्यात्मिक गरिमाले ओतप्रोत भएर अवस्थित किराँतेश्वर महादेव धनुषकोटीधाम क्षेत्र चुरे पर्वतको काखमा रहेको छ । चुरेभावर प्रदेशको सिमान्त क्षेत्र र कनकाई नदीको किनारमा अवस्थित यो धामक्षेत्र प्रकृतिको अनुपम उपहार पनि हो ।
‘महाभारतकालमा पाण्डवहरूमध्ये अर्जुनले कनकाई नदी र आसपासको प्राकृतिक सुन्दरताबीच यसै ठाउँमा तपस्या गर्न थाल्नुभयो । सो तपस्याको प्रभावले देवलोक कम्पित हुँदा भगवान शिव किराँतको रूप धारण गरी अर्जुनको समीपमा पुग्नुभयो तर अर्जुनले शिवरूपी किराँतलाई नचिन्दा उनीहरूवीच लडाइँ शुरु भयो । लडाइँका क्रममा शिवले अर्जुनको गाण्डिव धनुको टुप्पो ‘धनुषकोटि’ आफ्नो शरीरमा विलय गराइदिनुभयो, तब आश्चर्यचकित भई अर्जुनले किराँतरूपी शिवलाई चिन्नुभयो र उनको शरणमा परी यसै स्थानमा किराँतेश्वर महादेवको शिवलिङ्ग स्थापित गरी पूजा गर्नुभयो ।’
महाभारतकालीन कथा
यो धार्मिक र पर्यटकीय दृष्टिले निकै प्रख्यात छ । पश्चिममा कलकल गर्दै निरन्तर बगिरहने कनकाई माईको आवाज, छेवैमा रहेको अति रमणीय वनको भित्री भागबाट आइरहेको चराचुरुङ्गीहरूको सङ्गीतले सदैव गुञ्जायमान रहिरहने यो धाम क्षेत्र बालक, वृद्ध तथा नौजवान सबैको लागि आध्यात्मिक शान्ति प्राप्तिको लागि एक उत्तम विकल्पको रूपमा रहेको छ ।
यो धाम ऋषिमुनिहरुको लागि जप गर्ने भूमि हो र भौतिक संसारदेखि टाढा रहेर सबै धर्मावलम्बीहरुले परमेश्वरको चिन्तन गर्ने भूमि हो । शान्त र रमणीय स्थानमा रहेको छ । यहाँ किराँतेश्वर महादेवको शिवलिब्ग स्थापित गरिएको छ जुन प्राकृतिक रूपमा चुरेभूमिबाटै प्राप्त गरिएको स्थानीयहरूको भनाइ रहेको छ ।
यस धामको नाम धनुषकोटि कसरी रहन गयो भन्ने सन्दर्भलाई महाभारतकालीन कथासँग जोडेको पाइन्छ । कथा यस प्रकार रहेको छ–‘महाभारतकालमा पाण्डवहरूमध्ये अर्जुनले कनकाई नदी र आसपासको प्राकृतिक सुन्दरताबीच यसै ठाउँमा तपस्या गर्न थाल्नुभयो । सो तपस्याको प्रभावले देवलोक कम्पित हुँदा भगवान शिव किराँतको रूप धारण गरी अर्जुनको समीपमा पुग्नुभयो तर अर्जुनले शिवरूपी किराँतलाई नचिन्दा उनीहरूवीच लडाइँ शुरु भयो । लडाइँका क्रममा शिवले अर्जुनको गाण्डिव धनुको टुप्पो ‘धनुषकोटि’ आफ्नो शरीरमा विलय गराइदिनुभयो, तब आश्चर्यचकित भई अर्जुनले किराँतरूपी शिवलाई चिन्नुभयो र उनको शरणमा परी यसै स्थानमा किराँतेश्वर महादेवको शिवलिङ्ग स्थापित गरी पूजा गर्नुभयो ।’
पछि यही स्थानमा मन्दिर स्थापित भयो । यस बाहेक हाल मन्दिर भएको स्थानबाट पश्चिम–उत्तरतर्फको खोल्सामा स्थानीय व्यक्तिहरूले दाउरा घाँस जाने क्रममा विभिन्न देवदेवताका आकृति झल्किने पत्थरहरू देखे । ती आकृतिहरूलाई दैवी महत्वका साथ भक्तजनहरूले भेटी चढाउन थाले । त्यसपछि सुकेडाँगी सामुदायिक वनका तत्कालीन कार्य समितिले २०६१ साल माघदेखि देव आकृतिहरू र भेटी व्यवस्थापन गर्न पहल सुरु गर्यो ।
सोही साल एक भव्य कार्यक्रम वीच भौगोलिक र ऐतिहासिक पृष्ठभूमिलाई आधार बनाई यस धामको नाम ‘श्री किराँतेश्वर महादेव धनुषकोटिधाम’ घोषणा गरियो र एक धार्मिक संस्थाको रुपमा २०६३ सालमा कानुनी रूपमा दर्ता पनि गरियो । यस धाममा २०६८ मा शिव महापुराण आयोजना गरिएपछि धामको गरिमा अझ बढेको छ । हाल यस धामले १०८ दीप प्रज्ज्वलन, धर्मशाला निर्माण, वृद्धवृद्धाको सम्मान, बोलबम व्यवस्थापन, खानेपानी र बिजुली व्यवस्थापन, वृद्धाश्रम निर्माण आदि कार्यहरू गर्दै आएको छ ।
धनुषकोटीधाम संस्थाको जन्मसँगसँगै यस धामक्षेत्रमा विभिन्न भवन र मठमन्दिरहरु आदि थपिँदै गएका छन्, जसले यस क्षेत्रलाई बृहत् प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठोस योजनासहित अघि बढ्न सबैलाई निरन्तर उत्प्रेरित गरिरहेछन् । यस क्षेत्रमा बृहत्तर गुरुयोजना बनाई त्यसको कार्यान्वयन गर्ने हो भने साँचो अर्थमा यस क्षेत्रले परिवर्तनलाई देख्न र अनुभूत गर्न पाउने आशा गर्न सकिन्छ ।
धनुषकोटीधाम क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न झापा विकास मञ्च र कनकाई क्षेत्र विकास संस्था जस्ता संस्थाहरू पनि लागीपरेका देखिन्छन् । यस ठाउँको प्राकृतिक तथा पर्यावरणीय सम्पन्नतालाई अक्षुण्ण राख्न र सो स्थानलाई पर्यटनको केन्द्र बनाउने कुरा चुनौतिपूर्ण छन् तर ती दुवैको सन्तुलन अति आवश्यक छ । हामीलाई प्राचीनता र आधुनिकता दुवै चाहिएको छ ।
धनुषकोटीधाम धार्मिक विकास संस्थाले अघि सारेका दीर्घकालीन गुरुयोजनालाई, स्थानीय निकाय कनकाई नगरपालिका, प्रदेश सरकार, नेपाल सरकार र सो अन्तर्गतका निकायहरूले ध्यान दिएर आवश्यक सहयोग गर्न आवश्यक छ । धनुषकोटीधाम क्षेत्रको विकासले सुरुङ्गा र कनकाई नगरको प्रतिष्ठा माथि उठ्ने र यसले समग्र झापाको आर्थिक, धार्मिक र सामाजिक गरिमामा श्रीवृद्धि हुने निश्चित छ ।
हाल उक्त ठाउँमा पुग्ने बाटोलाई कालोपत्रे गरिएको छ र पूर्वपश्चिम राजमार्गबाट टेम्पो वा सफारीमा १५ मिनेटमा सो ठाउँमा पुग्न सकिन्छ । पर्यावरणको संरक्षण गर्दै स्थानीय जनतालाई सहभागी गराउँदै धनुषकोटीधाम क्षेत्रको थप विकास गर्ने हो भने आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा असीम प्रगति सम्भावना छ र सरोकारवाला सबै पक्षको यसमा सकारात्मक योगदान आवश्यक छ ।
