रसुवा–नुवाकोटको विपद्ले टुहुरा बनाएकामध्ये ५ बालबालिकाको
शिक्षा, स्वास्थ्य र भविष्यको जिम्मेवारी लिने घोषणा
…राहत दिएर मात्र मन शान्त भएन, अब बालबालिकाको भविष्य बनाउन चाहन्छु -गजुरेल
कनकाई खबर /विपद्ले घरको छानो मात्र होइन, कतिपय बालबालिकाको जीवनबाट अभिभावकको छायासमेत खोसिदिन्छ । रसुवा–नुवाकोट क्षेत्रमा केही दिनअघि आएको विनाशकारी बाढी तथा पहिरोले ठूलो मानवीय क्षति पुर्याइरहेका बेला, त्यसै विपद्का कारण अभिभावक गुमाएर सहारा खोजिरहेका बालबालिकाका लागि झापाको कनकाई–३, सुरुङ्गाबाट एउटा मानवीय आवाज उठेको छ ।
सुरुङ्गा बजारस्थित होटल क्विनका सञ्चालक तथा सामाजिक व्यक्तित्व विजय गजुरेलले बाढीपहिरोमा अभिभावक गुमाएर अनाथ बन्न पुगेका बालबालिकामध्ये पाँच जनालाई आफ्नो अभिभावकत्वमा लिएर संरक्षण गर्ने घोषणा गरेका छन् । उनले ती बालबालिकाको शिक्षा–दीक्षा, पालनपोषण, स्वास्थ्य उपचार तथा भविष्य निर्माणको जिम्मेवारी आफ्नै सन्तानसरह बहन गर्ने इच्छा सार्वजनिक गरेका हुन् ।
गजुरेलको यो घोषणा सामान्य राहत सहयोगभन्दा फरक र दीर्घकालीन प्रकृतिको रहेको पाइन्छ । विपद्का बेला खाद्यान्न, कपडा, नगद तथा अन्य सामग्री वितरण गरेर तत्कालीन आवश्यकता पूरा गर्न सकिए पनि अभिभावक गुमाएका बालबालिकाको जीवनमा उत्पन्न हुने दीर्घकालीन अभाव पूर्ति गर्न निरन्तर संरक्षण आवश्यक हुन्छ । यही आवश्यकता महसुस गर्दै आफूले पाँच बालबालिकाको जिम्मेवारी लिन चाहेको गजुरेलले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै गजुरेलले बालबालिकालाई सुरक्षित घर, गुणस्तरीय शिक्षा, आवश्यक स्वास्थ्य सेवा र सम्मानजनक भविष्य प्रदान गर्ने आफ्नो चाहना रहेको बताएका छन् । उनको भनाइमा विपद्का पीडितलाई सहयोग गर्ने चाहना केवल तत्कालीन राहतमा सीमित छैन । अभिभावकविहीन बन्न पुगेका बालबालिकालाई जीवनको नयाँ बाटो देखाउने उनको उद्देश्य रहेको छ ।
प्रधानमन्त्री राहत कोषमा सहयोग गरेपछि पनि रोकिएन सेवाको हुटहुटी
गजुरेलले यसअघि नै बाढी, पहिरो तथा प्राकृतिक विपद्ले प्रभावित नागरिकका लागि राहतस्वरूप १ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरिसकेका छन् । उनले प्रधानमन्त्री राहत कोषमार्फत समेत आफ्नो सहयोग प्रदान गरेका थिए ।
तर राहत रकम उपलब्ध गराएपछि पनि आफूले सामाजिक दायित्व पूरा भएको महसुस नगरेको गजुरेलको भनाइ छ । विपदमा परेका परिवार र अभिभावक गुमाएका बालबालिकाको अवस्था सम्झिँदा थप केही गर्नुपर्ने भावनाले आफूलाई निरन्तर घचघच्याएको उनले बताएका छन् । त्यही मानवीय भावनाबाट प्रेरित भएर उनले पहिलो चरणमा पाँच जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।
सञ्चारमाध्यम र सांसदलाई सहजीकरणका लागि अपिल
गजुरेलले आफ्नो चाहना पूरा गर्न सञ्चारमाध्यम, पत्रकार, जनप्रतिनिधि तथा माननीय सांसदहरूलाई समेत सहयोग र सहजीकरणका लागि सार्वजनिक अपिल गरेका छन् । रसुवा–नुवाकोट क्षेत्रमा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको वास्तविक पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गराउन उनले आग्रह गरेका छन् ।
बालबालिकाको संरक्षणसँग जोडिएको विषय अत्यन्त संवेदनशील भएकाले सम्बन्धित सरकारी निकाय तथा बाल संरक्षणसम्बन्धी संस्थासँग आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गरेर मात्रै आफ्नो अभियान अघि बढाउने उनको धारणा छ । उनले सार्वजनिक अपिलमार्फत सम्बन्धित निकायसम्म सूचना पु¥याउन सञ्चारकर्मी तथा सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
कोरोना कहरदेखि बाढीपहिरोसम्म अग्रपङ्क्तिमा गजुरेल
गजुरेलको सामाजिक सक्रियता भने यो पहिलोपटक होइन । कोरोना महामारीका बेला होस् वा विभिन्न समयमा देशका विभिन्न भूभागमा आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्—उनले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएका छन् ।
विपद्का बेला पीडितको पीडा आफ्नै पीडाजस्तो महसुस गर्दै सहयोगका लागि अघि सर्ने उनको स्वभावका कारण स्थानीयस्तरमा उनको सेवाभावको चर्चा हुँदै आएको छ । पछिल्लो समय पाँच बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणाले उनको सामाजिक सेवाको दायरा अझ फराकिलो बनाएको देखिन्छ ।
राहत वितरण गरेर तत्कालीन समस्या समाधान गर्नेभन्दा अभिभावक गुमाएका बालबालिकाको जीवनसँगै जोडिएर शिक्षा, स्वास्थ्य, पालनपोषण र भविष्य निर्माणमा सहयोग गर्ने उनको घोषणालाई मानवीय सेवाको दीर्घकालीन उदाहरणका रूपमा लिन सकिन्छ ।
एउटा घर, एउटा विद्यालय र एउटा भविष्यको सपना
विपद्ले अभिभावक गुमाएका बालबालिकाका लागि सबैभन्दा ठूलो आवश्यकता केवल आर्थिक सहयोग नहुन सक्छ । उनीहरूलाई सुरक्षित वातावरण, आत्मीयता, शिक्षा, स्वास्थ्य सेवा र भविष्यप्रतिको भरोसा आवश्यक हुन्छ ।
गजुरेलको घोषणाको मूल भावना पनि यही देखिन्छ—विपद्ले खोसेको अभिभावकको स्थान त कसैले लिन सक्दैन, तर अभिभावक गुमाएका बालबालिकालाई जीवनमा फेरि सुरक्षित आधार र भविष्यप्रतिको आशा दिन सकिन्छ ।
उनले पाँच बालबालिकालाई आफ्नै सन्तानसरह संरक्षण गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य र भविष्यका लागि जिम्मेवारी लिने इच्छा व्यक्त गरेका छन् । सम्बन्धित निकायसँग आवश्यक समन्वय भएर यो अभियान अघि बढ्न सके यसले विपद्पछि अभिभावकबिहीन बनेका बालबालिकाका लागि नयाँ आशाको ढोका खोल्न सक्ने देखिन्छ ।
गजुरेलको यो घोषणाले राज्यको जिम्मेवारीसँगै सक्षम नागरिकको सामाजिक उत्तरदायित्वलाई समेत बहसमा ल्याएको छ । प्राकृतिक विपद्का बेला सरकार र सामाजिक संघसंस्थाको सहयोग आवश्यक हुन्छ नै, तर संकटमा परेका नागरिकका लागि व्यक्तिगत तहबाट उठाइने मानवीय कदमले पनि ठूलो अर्थ राख्न सक्ने बताइएको छ ।
विपद्का पीडितलाई नगद सहयोग गरेर मात्रै नरोकी अभिभावक गुमाएका बालबालिकाको भविष्यसँग जोडिने गजुरेलको इच्छाले समाजमा सहयोगको नयाँ संस्कार विकास गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
विपद् आउँदा सहयोग गर्ने हात धेरै होऊन्, तर अभिभावक गुमाएका बालबालिकाको भविष्य सम्हाल्ने मन अझ धेरै बनोस्—गजुरेलको घोषणाले यही मानवीय सन्देश दिएको पाइन्छ ।

