Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्रान्तिको सपना मृगमरीचिका र भुलभुलैया मात्र हो ?
    राष्ट्रिय

    क्रान्तिको सपना मृगमरीचिका र भुलभुलैया मात्र हो ?

    कनकाई खबरBy कनकाई खबर२०८० श्रावण २४, बुधबार १२:१४ गते8 Mins Read


    –तीर्थराज खरेल ,

    कल्पनाबाटै यथार्थ जन्मन्छ –कल्पना महाशक्ति हो । जोसँग कल्पनाशक्ति धेरै छ, ऊ शक्तिशाली आविष्कारक हुन सक्छ । कल्पनासँगै यात्रा पुरा गर्ने अठोट, बाटो स्पष्ट नक्सा र गन्तव्यमा पुगेपछि सफलताको घोषणा गर्नसक्ने ल्याकत पनि चाहिन्छ । कल्पना नै नहुनेसँग हुन्छ के ? खालि मान्छे भएर बाँचेको प्राणस्वरूप प्राण हुन्छ । बीसौं शताब्दीका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले यथार्थभन्दा कल्पना बढी शक्तिशाली हुन्छ भनेका छन् । कति कल्पना यथार्थमा रूपान्तरण हुन्छन् ? यो प्रश्नको उत्तर हरेक मान्छेले व्यक्तिगत रूपमा अलगअलग पाउँछ । कल्पना शक्तिको जीवनमा ठूलो भूमिका हुन्छ । आजसम्म हाम्रो जीवनमा कति कल्पना यथार्थमा परिणत भएको छ ? कल्पना कस्तो छ र कति समयसम्म हामीसँग रहन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । पानीका फोकासरीका कल्पनाले काम गर्दैन । जुन कल्पना शक्तिको रूपमा रूपान्तरित हुन्छ त्यसले जीवनमा क्रान्ति गर्छ । क्रान्तिले नवीन युग जन्माइदिन्छ । कल्पनाले विचार जन्माउँछ, विचारले यथार्थसम्म पु¥याउने काम गर्छ । डा. जोन हेजालिनले पनि कल्पनाको शक्तिसम्बन्धी धारणा यसरी व्यक्त गरेका छन्, ‘ब्रह्माण्ड एवम् हाम्रा चारैतिरका सबै कुरा मुलतः विचारबाटै उत्पत्ति भएका हुन् । क्वान्टम मेक्यानिजम्ले यसको पुष्टि गरेको छ ।’

    क्रान्तिले सत्यको खोजमा लाग्ने पे्ररणा दिन्छ । समस्याग्रस्त जीवनमा क्रान्ति नै आशाको पुञ्ज हो । वर्गविहीन, राज्यविहीन, शोषण, दमन र उत्पीडनमुक्त, समतामूलक समाज निर्माण हुन सक्छ भन्ने विश्वास नै क्रान्ति हो । तर हिजोका खाँटी क्रान्तिकारीहरू अहिले पद, पैसा, प्रतिष्ठा र परिवारको स्वार्थका पछाडि लागेका छन् । क्रान्तिका लागि सही विचार, त्यस अनुसारको सङ्गठन र त्यो सङ्गठनको नेतृत्व गर्ने योग्यता, क्षमता, दक्षता भएको एउटा प्रमुख व्यक्ति चाहिन्छ । क्रान्ति भनेको पुरानो राज्यसत्ताविरुद्ध लडेर नयाँ राज्यसत्ता स्थापना गर्ने हो । क्रान्ति अवधिमा नेतृत्व त्यसमा पनि मुख्य नेतृत्वले सबैभन्दा बढी जोखिम लिएको हुन्छ । तर जीवनबाट नै क्रान्तिको शुरुवात हुन्छ । जीवनमा घटित हुने क्रान्तिलाई हेर्दा यो प्राकृतिक र सहज लाग्छ । हाम्रो जीवन उत्सवले भरिएको छ । जन्मिदा पनि उत्सव, सफलतामा पनि उत्सव, बिहेमा पनि उत्सव, मर्दा पनि उत्सव । हाम्रो जीवन रंगीन फूलहरुले भरिएको छ । जन्मोत्सवमा फूलको माला, बिहेमा फूलको माला, सफलतामा पनि फूलको माला, स्वागतमा फूलको माला, बिदाइमा पनि फूलको माला, मृत्युपछिको अन्तिम बिदाइमा पनि फूलको माला । हाम्रो जीवन दीपहरूले भरिएको छ । पुष्पोत्सव, दीपोत्सव, जन्मोत्सव, मृत्योत्सव अनगिन्ति उत्सवहरूले भरिएको छ जीवन । तर पनि हामी बेलाबेलामा निराश हुन्छौ । जीवनको अस्तित्व जति सत्य हो, त्यति नै सत्य हो जीवनको मरणशीलता पनि । सफलता वा असफलता त सापेक्ष सोचाइ मात्र हो । यो संसारमा सफल को हो, असफल को हो ? पद, प्रतिष्ठा, पैसा, शक्ति, परिवार, स्वास्थ्य र समृद्धि क्षणिक हुन् ।

    हजारौं लाखौं वर्षअघिका भीमकाय डायनोसर, म्यामथ हात्ती आदि आज केबल इतिहास भएका छन् । समयका सामु ती सबै तुच्छ भएका छन् आज । तर केही मानिस सदैव बाँचिरहन्छन् मानव इतिहासमा । परिवार, समाज, राष्ट्र र मानवजातिका लागि केही गर्ने मरेर पनि अमर हुने र सदैव मानवजातिको मनमष्तिष्कमा बाँचिरहने सत्य हो । जीवन आशा र निराशाको सङ्गम हो । जीवनको लक्ष्य के हो ? मानवताको सेवा हो कि आफ्नो जीवनमा सुख हो ? जीवन के हो ? यी प्रश्नका उत्तर धर्मपिच्छे फरक छन्, राजनीतिपिच्छे फरक छन्, जातपिच्छे फरक छन् र देशपिच्छे फरक छन् । जीवनका तनावबाट मुक्ति, दुःखबाट मुक्ति मानव मात्रले खोजेको मुक्ति हो । हामी विशुद्धता चाहन्छौं, हाम्रा तमाम समस्याबाट उन्मुक्ति चाहन्छौ हामी । हाम्रा गलत संस्कारहरुलाई कायम राखेर, हामीभित्रका विकृतिलाई कायम राखेर मुक्ति कसरी सम्भव छ ? धर्मका नाममा, जातिका नाममा, संस्कृतिका नाममा, राष्ट्रियताका नाममा र राजनीतिका नाममा हामी गलत संस्कार पछ्याउन अभिषप्त छौं, हामी गलत कुरालाई ठीक हो भन्न विवश छौं । आफ्नो सम्प्रदायको नेताले गलत भने पनि ठीक, अर्को सम्प्रदाय वा दलको नेताले सही भने पनि गलत, आफ्नो धर्मका गुरुले गरेको गलत काम पनि सही, आफ्नो संस्कृतिमा भएका गलत प्रथा पनि ठीक भन्न हामी अभ्यस्त छौं । संसारमा ज्यादै थोरै मानिस छन्, जो मर्ने बेलामा आफूले जीवनमा गरेका कामबाट सन्तुष्ट हुन सकुन् र भन्न सकुन् मानवताका लागि मैले सकेको काम गरें । मानिसमा अनन्त सम्भावना हुन्छ, उनीहरूका कल्पनाशक्तिबाट निसृत अनन्त योजना हुन्छन्, तर ती पूरा गर्न ऊ असमर्थ हुन्छ, किनभने ऊ आफूभित्रका, आफ्ना समाजभित्रका र आफ्ना पहुँचभित्रका कुसंस्कारले ग्रस्त हुन्छ र अभिषप्त छ फोहोर बोकेर हिँड्न । मानिस बुझ्दैन–आफूसँग दुर्गन्ध बोकेर जतिसुकै टाढा गए पनि गन्हाउन छोड्दैन ।

    क्रान्ति भनेको आमूल परिवर्तन हो, यो क्रमिक सुधार होइन, यो फड्के बदलाव हो । मानिसले बद्लिएको संसारमा रूपान्तरण हुन जसरी जरुरी छ, त्यसरी नै समाज बदल्न आमूल रूपान्तरण अति आवश्यक छ । यसका लागि आफूभित्र आगो बाल्न जरुरी छ । आफूभित्रका दम्भ, अहङ्कार, अभिमान, लोभ, चुक्ली, षडयन्त्रका धुस्नोलाई आगो झोस्न जरुरी छ । आफूभित्रका पुराना, सडेगलेका कुसंस्कारलाई जलाउन जरुरी छ । नयाँ मानव बनेर मात्र नयाँ संसार बन्न सक्छ । सदैव पुरातन र नुतनका बीच संघर्ष चलिरहन्छ । गलत संस्कारलाई आगो लाउन त्यति सजिलो छैन, जति भन्न सजिलो छ । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदो हो त नेपालीहरूले आज बेग्लै सुन्दर नेपालमा बस्न पाउँने थिए । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदो हो त १० वर्षे वर्गसङ्घर्षरूपी भट्टीबाट खारिएका भनी विश्वास गरिएका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट मुलुकले अहिलेको भन्दा कता हो कता बढी प्राप्त हुने थियो होला । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदो हो त झापा आन्दोलनको पृष्ठभूमिबाट राजनीति यात्रा शुरु गरेका र त्यसकै कारण १४ वर्षसम्म जेल बसेका पूर्व प्रधानमन्त्री केपी ओलीबाट मुलुकले पाउने यति मात्र हुने थिएन । गलत संस्कारलाई आगो लगाउन सजिलो हुँदो हो त लोकतन्त्रका मसिहा ठान्नेहरूबाट लोकतन्त्रकै गला रेटिएको टुलुटुलु हेर्न हामी विवश हुने थिएनांै ।


    मानवमुक्तिको प्रमुख आधार क्रान्ति हो । क्रान्ति भनेको आमूल रूपान्तरणका लागि आफूभित्रका बन्द ढोकाहरु खोल्नु हो । आफूभित्र नुतनताको प्रवेश गराउनु भनेको आफूभित्र आगो बाल्नु हो, आफूभित्र दीप जलाउनु हो, आफूभित्र फूल फुलाउनु हो । आमूल परिवर्तन सम्भव नभए पछि मानिस क्षणिक मुक्तिमा लाग्छ । त्यो हो मनोरञ्जन । मनोरञ्जनले मानिसलाई बदल्ने होइन, वर्तमान यथार्थलाई केही समयका लागि भुलाउने हो । मनोरञ्जनमा सरिक हुनु भनेको आफ्ना चिन्ता, सरोकार, वेदना र दर्दलाई केही समय पर धकेल्नु हो । मानव सभ्यता भनेको नयाँको खोजी मात्र होइन, मनोरञ्जनको व्यवस्थापन पनि हो । मानिस आफ्ना दुःख बिर्सन चाहन्छ । मनोरञ्जन अस्थायी समाधान हो । पुरातन, रुढीग्रस्त राज्यव्यवस्थाले सृजेका अङ्कुशले च्यापिएको मानव सभ्यता मानवको अमानवीकरणको नग्न यथार्थको भुँवरीमा छ र यस्तो विषम परिस्थितिमा क्रान्ति फगत सपना लाग्छ, विद्यालय र विश्वविद्यालयका डिग्री धारण गरेर पनि अशिक्षित रहेको समाजको कारुणिक दृश्यमा अक्करिला चट्टानी उकालोको बिम्ब भेटिन्छ । मानिस चेतनसँग डराउँछ, अवचेतनका लागि र आफूलाई भुल्नका लागि मनोरञ्जनको शरणमा जान्छ । गीत, नृत्य, फिल्म, यौन, रक्सी यी सबै आफूलाई भुल्न गरिन्छन् र नजानिँदो गरी चेतनको विलोप र अर्धचेतन वा अवचेतनको प्रविष्टि हुन्छ हृदयमा र कमजोर हुन्छ मस्तिष्क । हुन त कलालाई समाज परिवर्तनको अचूक हतियारको रूपमा पनि लिइन्छ ।

    समस्त विश्वका लागि आलोचकीय दृष्टिकोण राख्नु भनेको रुढीवादी समाजको कोपभाजनमा पर्नु हो । गरिँदै आएको कामभन्दा, सोचिँदै आएको विचारभन्दा फरक दृष्टिकोण राख्दा समाजमा रहेका परम्परावादी ताकतको सुखसयलमा धक्का पुग्छ र क्रान्तिको आगो निभाउन पुरातन राज्यसत्ताका हिमायतीहरू लागिपर्छन् । फरक बोल्नेहरू साङ्ग्लामा बाँधिन्छन्, देशनिकाला गरिन्छन् र उनका सपनाहरू थिल्थिल्याइन्छन् । आम मानिस निद्रामा हिँड्ने हुन्छन् र थोरै मात्र सार्थक सपना देख्छन् । परिवर्तनका लागि जिजसले सपना देखे, गौतम बुद्धले सपना देखे र श्रीकृष्णले सपना देखे । जतिबेला उनीहरूले सपना देखे, राज्यसत्ता उनीहरूको विरुद्धमा उभियो । जतिबेला उनीहरू समाजमा स्थापित भए, तब उनीहरूलाई देवत्वकरण गरियो, मूर्तिमा उनीहरूलाई अवतरित गरियो, जडतामा उनीहरूलाई ढालियो र उनीहरू केबल पारम्परिक रुढीका रूपमा उभ्याइए । उनीहरू आफूलाई भगवान नबनाऊ भन्दै गए, तर उनीहरू पुजिँदै गए, फलस्वरूप हर उत्सव, हर पर्व र हर मौसममा उनीहरूको चित्र सजाइयो । उनीहरूको भनाइ के हो भन्दा पनि उनीहरूको पुजा गरियो, धर्मका पुस्तकको पुजा गरियो । पुस्तक पुस्तक नभएर पुजिने वस्तु भयो । संसारको परिवर्तनका लागि योगदान गर्नेहरूलाई मनोरञ्जनका मुख्य पात्रका रूपमा जोडियो ।


    हृदय र मस्तिष्क दुवैले परिचालित हुन्छ मानव । सुख्खा, बेरसिलो र हाँसो बेगरको मात्र जीवन हुन्छ भन्ने होइन । धर्म विरुद्धमा, राजनीति विरुद्धमा, यथास्थिति विरुद्धमा र मानव जातिको सम्पूर्ण अमानुषी विगतको विरुद्धमा उभिएर जब आवाज मुखरित हुन्छ, मानवजाति आमूल रूपान्तरणको बाटोमा लाग्छ, तर जब मनोरञ्जनको बाटोमा लाग्छ, तब ऊ क्षणिक उन्मुक्तिको लागि क्रियाशील भएको हुन्छ । तब त मानव जातिको इतिहास मनोरञ्जनको इतिहास हो, स्वतन्त्रता प्राप्ति हेतु सङ्घर्षको इतिहास हो र आत्मसम्मानको लागि बिना शर्त गरिएको परिवर्तनप्रतिको उत्कट चाहनाको इतिहास हो । के गरोस्–मानिस तुच्छतामा रमाइरहेको छ, तर रमाउनु नै जीवन हो । जीवन छोटो छ, रमाएर जीवन बिताउनु जीवनका दुःखबाट मुक्तिको सजिलो उपाय हो । तर यसबाट सम्पूर्ण मानवजातिको मुक्ति सम्भव छैन । जीवन सुन्दर छ, यसलाई असुन्दर बनाउने त समाज हो, समाजलाई कुरूप बनाउने हाम्रो समाजमा रहेका गलत संस्कार, सोच, विचार र व्यवहार नै हुन् । मानवजातिले सम्पूर्णतामा मुक्ति खोजेका हुन् । अलिकति खेलतमासा, अलिकति हाँसो, अलिकति मनोरञ्जन नै जीवन भएको छ अहिलेका लागि । यो संसार फूलबारी हो, जहाँ सयौं थरी फूलहरु खिलखिलाउँछन् र सुगन्धसहित आनन्द छर्छन् वातावरणमा । यदि सुन्दर, मनमोहक वातावरण बिगारिन्छ भने कमजोरी त बगैंचाको होइन, दोष त फूलहरुको पनि होइन ।

    हाम्रो देश यतिबेला आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, हिसाबले चरम सङ्कटमा धकेलिएको छ । तपाईं–हामी प्रस्ट रूपमा अनुभव गर्न सक्छौँ—नेपालमा अहिले देखिएको ध्रुवीकरण, कानुनलाई हातमा लिने प्रवृत्ति, प्रेसमाथि आक्रमण, मानिसमा देखिएको निराशा, राजनीतिक शक्ति सडकमा भिडन्त गर्नसक्ने सम्भावना, महिलामाथि हिंसा र अत्याचार, सरकारी कोष दुरूपयोग र अकल्पनीय भ्रष्टाचार र आर्थिक अपराध शृंखलाले नेपाल सफल क्रान्तिको प्रतीक्षामा छ भन्ने कुरालाई सङ्केत गर्छन् । क्रान्तिकारीहरू निरन्तर समाजलाई अग्रगमनतर्फ डो¥याउने बाटोमा हुन्छन् । क्रान्ति सफल भएको दिन श्रमजीवी जनताका लागि खुसी, उत्साह र गौरवको दिन हो । वास्तवमा क्रान्तिको नेतृत्व गरेर यसलाई गन्तव्यसम्म पु¥याउने साहस र हिम्मत क्रान्ति चाहनेसँग नै हुन्छ । तसर्थ क्रान्ति भुलभुलैया होइन, यो मृगमरीचिका होइन, यो त घाम जत्तिकै यथार्थ हो । क्रान्ति टुहुरो हुँदैन । क्रान्तिका सारथिले धोका दिए र उनीहरू क्रान्ति विरोधीमा बदलिए पनि क्रान्ति जारी हुन्छ । नयाँ सारथिले क्रान्तिको लगाम समातेर देश, जनता र मानवजातिका लागि क्रान्तिलाई अघि बढाउँछन् । क्रान्ति मृगतृष्णा होइन र यो मानवजातिको कहिल्यै पुरा नहुने भ्रान्ति पनि होइन ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.