Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘सामुदायिक विद्यालय अब्बल बनाउन राजनीति होइन, पठनपाठन आकर्षक बनाऔँ’
    अन्तरवार्ता

    ‘सामुदायिक विद्यालय अब्बल बनाउन राजनीति होइन, पठनपाठन आकर्षक बनाऔँ’

    कनकाई खबरBy कनकाई खबर२०७८ माघ २२, शनिबार ११:५३ गते8 Mins Read

    काठमाडौं  \ देशकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कुल। बेलायत भ्रमणबाट फर्केपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले आफ्ना छोरा–भतिजालाई प्रारम्भिक शिक्षा दिन थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भुइँतलामा वि.सं. १९१० आश्विन २७ गते दरबार हाइस्कुल स्थापना गरेका थिए।

    यही विद्यालयमा राणाले प्रारम्भिक तहको आधुनिक अंग्रेजी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका थिए। दरबारभित्र खोलिएको यो विद्यालय ३८ वर्षसम्म दरबारमै रह्यो। पछि वि.सं. १९४८ सालमा रानीपोखरीअगाडि दरबार हाइस्कुलका लागि छुट्टै भवन बनाइएको थियो।

    वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले उक्त भवन भत्कायो। छिमेकी मुलुक चीनले करिब ८५ करोड खर्चेर पुरानै स्वरूप देखिने गरी अत्याधुनिक नयाँ भवन बनाइदिएको छ। नयाँ भवनमा २०७७ माघ १८ गतेबाट पठनपाठन सञ्चालन भएको थियो। हाइस्कुलको नयाँ भवनभित्र (भानु मावि दरबार हाइस्कुल र रानीपोखरी संस्कृत मावि) गरी  दुईवटा स्कुल सञ्चालित छन्।

    अहिले कसरी पठनपाठन भइरहेको छ? किन त्यही विद्यालयमा अभिभावकहरूको आकर्षण बढ्यो ? कसरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिएला? यिनै विषयमा रहेर संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीसँग थाहाखबरकर्मी श्याम राईले गरेको कुराकानीको सम्पादित अंश : 

    देशको विकासमा धेरै लापरबाही भएका उदाहरण प्रशस्त छन्, तपाईंले दरबार हाइस्कुलको संरचना यस्तो आकर्षक बन्छ भन्ने सोच्नु भएको थियो ?

    यो देशकै पुरानो स्कुल र शिक्षाको जग हो। त्यसैले २०७२ पछि विद्यालय कसरी बनाउने भनी लामो बहस भएको र राज्यको पनि इज्जत जोडिएकाले ढिला होला तर आकर्षक बन्छ भन्ने विश्वास लिएको थिएँ।

    दुई विद्यालयमा भर्ना हुने विद्यार्थीहरूको चाप कस्तो छ, कति अध्ययनरत छन्?

    हाइस्कुलभित्र भानु मावि र रानीपोखरी संस्कृत मावि गरी दुईवटा स्कुल सञ्चालित छन्। भानुमा नर्सरीदेखि १० सम्म पढाइ हुन्छ। यसमा करिब ६ सय विद्यार्थी छन्। संस्कृतमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ। यसमा चार सय दुईजना विद्यार्थी यो वर्ष भर्ना भएका छन्। दुवै स्कुलमा गरी करिब ११ सय विद्यार्थी छन्। चाप त छ। धेरै विद्यार्थीलाई त झनै भर्ना नै लिएका छैनौँ। 

    अरू पनि थुप्रै विद्यालय छन्, दरबार हाइस्कुलमै अभिभावकको आकर्षण किन छ ?

    २०७२ पछि विद्यार्थी संख्या घटेको थियो। नयाँ संरचना बनेपछि शैक्षिक क्रियाकलापमा पनि सुधार गरेका छौँ। भानु माविले कक्षा ९ सम्म अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको छ।

    हामीले पनि कम्युटर, गणित लगायत विषयमा अंग्रेजी माध्यमबाट पढाएका छौँ। त्यसैले अंग्रेजी शिक्षाको झुकावले पनि विद्यार्थी भर्ना भए। मल्टिमिडिया प्रयोग गरेर पढाउँछौँ। अत्याधुनिक विज्ञान ल्याब छ। त्यसैले यहाँ विद्यार्थीको आकर्षण बढेको जस्तो लाग्छ।

    कुनै पनि विद्यालयमा विद्यार्थी र अभिभावक आकर्षण गर्न त्यहाँको संरचना पनि आकर्षक बनाउनुपर्ने कुरामा सहमत हुनुहुन्छ ? 

    शैक्षिक क्रियाकलापमा पहिला विद्यार्थीको नजर संरचनामै जान्छ। आकर्षक संरचना बनेपछि यहाँ धेरै भर्ना हुन आए। हामीले सबै लिएमा दुई हजार हाराहारी हुन्थ्यो। तर हामीकहाँ ११ सयभन्दा बढीलाई पढाउने क्षमता छैन। बेलैमा भर्ना बन्द गर्‍यौँ। त्यसैले विद्यार्थी तान्न संरचना पनि आकर्षक बनाउनुपर्नेमा म विश्वस्त छु।

    अरू सामुदायिक स्कुल र यहाँको पठनपाठन प्रणालीको तुलना गर्दा के कस्ता समानता र असमानता भेटाउनु हुन्छ ?

    सामान्यतया हामीले अरू विद्यालयले पढाएका विषय नै पढाएका छौँ। यसअतिरिक्त संस्कृत विषय पढाउँछौँ। यो विद्यालयमा पढ्नेले अन्त पढ्ने विषयहरू अंंग्रेजी, विज्ञान, सामाजिक पढेर पनि उसले आयुर्वेद, ज्योतिष जस्ता विषय पढ्न पाउँछन्।

    अरूमा नपाए पनि हामीमा त्यो सुविधा छ। अहिले सबै जातजातिहरू पनि संस्कृत पढ्ने गर्छन्। संस्कृत पढेमा भाषिक सुधार हुन्छ। ब्राह्मणले कर्मकाण्डका लागि मात्रै संस्कृत विषय पढ्ने हो भन्ने मान्यता हट्दै गएको छ।

    दरबार हाइस्कुलको आफ्नै ऐतिहासिक महत्त्व छ,अहिले भने यहाँ कस्ता वर्गका बालबालिका पढ्न आइरहेका छन् ? वर्गअनुसार र पहुँचले प्रभाव पार्छ कि पार्दैन ?

    शिक्षामा वर्ग र पहुँचले अवश्य प्रभाव पार्छ। अहिले जातीयभन्दा पनि वर्गीय रूपमा प्रभाव परिरहेको छ। वर्गीय आधारमा सबै विद्यार्थी विद्यालयको पहुँचमा आइपुगेका छैनन्। आउन नसकेपछि उसले अध्ययन गर्ने अवसर पाउँदैन। ती विद्यार्थीमा प्राविधिक विषय पढ्ने क्षमता भए पनि आर्थिक अभाव झेल्छ। पढ्ने अवसर गुमाउँछ। 

    पहुँचको आधारमा मात्रै दरबार हाइस्कुल भवनभित्र पढ्न पाउँछन् भन्छन् नि ?

    त्यो गलत हो। यहाँ पावर, जातीय र वर्गीयको आधारमा भर्ना हुँदैन। भोलिको दिनमा पनि त्यस्तो गर्ने उद्देश्य राखेका छैनौँ। पहिला भर्ना भएका जस्तोसुकै वर्गकालाई प्रवेश परीक्षा लिन्छौँ। पास भएकालाई पढाउँछौँ। भर्ना क्षमता सकिएपछि आउने विद्यार्थीहरू भर्ना हुन पाउँदैनन्। अहिले पनि सामान्य वर्गदेखि मध्यम हुँदै उच्च वर्गका छोराछोरी पढिरहेका छन्। 

    अहिले कोरोनाका कारण देशभरकै विद्यालय बन्द छन्। यस्तो विषम परिस्थितिमा यहाँका विद्यार्थीको अध्ययन प्रक्रिया कसरी अगाडि बढेको छ? 

    स्कुल बन्द भए पनि अहिले वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गरिरहेका छौँ। कक्षा ११ र १२ लाई पढ्न केही समस्या छैन तर १२ मुनिका सबै विद्यार्थीमा मोबाइल नभएकाले यसमा चाहिँ समस्या छ। हामीले पहिलाको कोरोना महामारीमा अनलाइन कक्षाका लागि गरिबी तथा जेहेन्दार विद्यार्थीलाई मोबाइल वितरण गरेका थियौँ।

    फिर्ता लिएर फेरि वितरण गरेका छौँ। खोपको सुनिश्चिता गरिसकेकाले आगामी फागुनबाट भौतिक उपस्थितिमा सरकारले पढाउन दिन्छ कि भन्ने आशा छ। वैशाखसम्म कोर्स सकाउन सकिदैन। हामीले ६५ प्रतिशत कोर्स सकाएका छौँ। त्यसैले जेठबाट नयाँ शैक्षिक सत्र थाल्दा उत्तम हुन्छ। 

    अधिकांश सामुदायिक विद्यालय राजनीतिका कारण अस्तव्यस्त बनिरहेको देखिन्छ। कतिपय विद्यालय त बन्द हुने अवस्थामा छन्। सामुदायिक विद्यालयलाई स्तरीय बनाउन सुधारका बाटो केके हुन सक्छन् ?

    विद्यालय भनेको यस्तो संस्था हो जहाँ विद्यार्थीहरू नयाँ नयाँ ज्ञान आर्जन गर्छन्। यसमा विद्यालय,शिक्षक र अभिभावकमा जहिले पनि सहकार्य गरेन भने विद्यालय चलाउन गाह्रो हुन्छ। विद्यालय ज्ञान आर्जन थलोमात्र हुनुपर्छ। दबाब दिने र राजनीतिकरण गर्ने वातावरण भयो भने शैक्षिक अवस्था चकनाचुर हुन्छ।

    शिक्षा क्षेत्र अस्तव्यस्त हुनु भनेको देशकै भविष्य अन्धकारतिर जानु हो। त्यसैले अहिले विद्यालय अस्तव्यस्त हुनुको कारण राजनीतिकरण हो। शिक्षकहरू राजनीतिमा क्रियाशील हुनु हुँदैन। त्यस्तालाई सरकारले बर्खास्त गरी कडा कारबाही गर्नुपर्छ। नियम पनि बनाउनुपर्छ। यति गरेमा शैक्षिक गुणस्तर बढ्छ।

    याे स्कुलका समस्याहरू केके छन् ? काठमाडौं महानगरपालिकाबाट कस्तो सहयोग पाउनु भएको छ ?

    आकर्षक संरचनासँगै यहाँ पनि समस्या छ। स्थानीय तहकाे दायित्व भनेको विद्यालयको भौतिक, शैक्षिक अवस्था, आर्थिक लगायत व्यवस्थापन गर्नु हो। केही ऐनका कारण काम गर्न पनि समस्या छ। यो शैक्षिक संस्थाको जग हो। अर्को भौतिक संरचना बने पनि सञ्चालन गर्न समस्या छ। मुख्य त आर्थिक पाटोकै समस्या छ। यहाँ शिक्षकको तलब बाहेक वार्षिक रूपमा तीन लाख १७ हजार रुपैयाँ बजेट आउँछ।

    यसमा पाठ्यपुस्तक, परीक्षा,मर्मत सम्भार नेट टेलिफोन लगायत सबै कुरा पुर्‍याउनुपर्छ। पाठ्यपुस्तकमै दुई लाखसम्म खर्च हुन्छ। वार्षिक रूपमा मसलन्दका लागि भनेर महानगरपालिकाले ३० हजार दिन्छ तर एक महिनामै ७० हजारसम्म बत्तीको बिल आउँछ। अरू हामीकहाँ स्रोत छैन। शुल्क पनि उठाउन मिल्दैन। जुन शीर्षक तोकिएको छ, त्यसमा मात्र खर्च गर्न मिल्छ।

    महानगरपालिकामा बजेटको अभाव छैन भनेर पटक–पटक प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ। त्यसैले हामीलाई दिने बजेट बढाउनुपर्छ भन्ने हाम्रो माग हो। शिक्षक दरबन्दीको पनि समस्या छ। कक्षा ११ र १२ कक्षा मा शिक्षकको दरबन्दी छैन। हामीले निजीबाट ल्याएर पार्ट टाइममा राखेर पढाइरहेका छौँ। यसका लागि ती कक्षाका विद्यार्थीहरूबाट वार्षिक ८ देखि ९ हजार शुल्क उठाउन बाध्य छौँ। 

    सहयोगको कुरामा अन्य स्कुलमा जे उपलब्ध हुन्छ,यहाँ पनि हुन्छ। संस्कृत विद्यालय नमुनाको रूपमा छनोट भएको छ। त्यसैले सरकारले गत वर्ष दुई लाख दियो भने महानगरपालिकाले यो वर्ष तीन लाख दिने भनेको छ तर पाएका छैनौँ। यस्ता सहयोग भने पाइरहेकै छौँ। यतिले मात्रै पर्याप्त हुँदैन। त्यसैले आर्थिक पाटोसँगै जनशक्ति दिए अझै यो विद्यालयको गुणस्तर बढ्ने थियो। 

    सामुदायिक विद्यालयलाई निजीभन्दा अब्बल बनाउनका विद्यालय, शिक्षक र अभिभावकहरूले के के कुरामा ध्यान पुर्‍याउनुपर्ला? तपाईंको अनुभव पनि समेट्नुस् है ?

    सामुदायिक र निजी विद्यालयको अन्तरमा अभिभावकले धेरै कुरा गर्नुपर्दैन। जुन निजी विद्यालयमा पढ्ने आफ्ना छोराछोरीको लागि जति चासो लिनु भएको छ, त्यस्तै गरी सामुदायिक विद्यालयमा पनि चासो लिनु पर्‍याे। विद्यालयमा आएर मेरा छोराछोरी कस्ता छन्? कसरी पढ्छन् भनेर वेला वेलामा आएर बुझिदिए र नियमित पठाए अभिभावकको भूमिका पुग्छ।

    हामीले नै कुनै गुनासो राख्न कार्यक्रम गर्दा तीनपटक सम्म फोन गर्दा पनि अभिभावक आउँदैनन्। शिक्षकको भूमिका भनेको यहाँ कक्षा नलिने, ठग्ने जस्ता नगरे पनि अरू विद्यालयमा त्यस्तो गरेको भेटिन्छ। शिक्षकहरु तालिम प्राप्त नै हुन्छन्। प्रअको पनि नेतृत्व राम्रो हुनुपर्छ। यसो भएमा निजीभन्दा सामुदायिक कमजोर हुँदैन। बरु धेरै राम्रो हुँदै जान्छ।

    अभिभावकहरूलाई जसरी हुन्छ निजीमै पढाउने होड छ, सरकारी तथा सामुदायिक विद्यालयप्रति आम सर्वसाधारणको विश्वास गुम्नुको मुख्य कारण के के हुन्? विश्वासको वातावरण कसरी बनाउन सकिएला?

    पहिला निजी विद्यालय नभएका वेला सामुदायिक विद्यालयले शिक्षाको भार धानेको थियो। त्यतिखेर शिक्षामा समानता थियो। अहिले भने निजी विद्यालय खुलेपछि शुल्क लिएर पढाउन थालिए। अभिभावकमा भित्री मनमा निजीमा नपढाइ सामुदायिकमा पढाए भने म कमजोर देखिन्छु भन्ने मनोविज्ञान पाइन्छ। सामुदायिकमा पढाउनु भनेको नपढाए सरह हो भन्ने ठान्छन्।

    अंग्रेजी माध्यममा पढाएर विदेश पठाउने उद्देश्य पनि उनीहरूमा छ। त्यसैले आमसर्वसाधारणको विश्वास घटेको हो। अर्को कुरा सामुदायिक विद्यालयमा चरम राजनीति भएकै हो। हुनेखाने वर्गकाले आफ्ना छोराछोरी निजीमा लगेपछि सामुदायिकमा पढ्ने भनेको निम्न वर्गका बालबालिका हो। शिक्षकले उनीहरुलाई टेरेनन्। हेप्ने प्रवृत्ति पनि पक्कै भएको हो। शिक्षकहरूले नै सामुदायिकमा छोराछोरी नपढाएर निजीमा पढाउँछन्। त्यसैले विश्वा गुमेको हो।

    तर, पछिल्लो समयमा सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पढाउन थालेका छन्। त्यसो त यहाँ पनि गत सालको हेर्दा यो वर्ष ८५ प्रतिशत नयाँ विद्यार्थी निजीबाट आएका छन्। सामुदायिकमा पनि अंग्रेजीको विश्वासको वातावरण बन्दै गएको छ। अझै विश्वासको वातावरण बनाउन  सरकारले कडिकडाउ गर्नैपर्छ। शिक्षकलाई आफ्नो काम कर्तव्यप्रति प्रतिबद्ध गराउनु नै पर्छ। अभिभावकलाई पनि चेतना दिनै पर्छ। यसो गरेमा निजी भन्दा सामुदायिक कम छैन भन्ने देखाउन सकिन्छ।

    अन्तमा अझ आफ्नो विद्यालय स्तरीय बनाउन कस्तो योजना बुन्नु भएको छ ?

    यो नेपालको गरिमामय संस्था हो। यहाँ दुईवटा विद्यालय सञ्चालनमा छन्। यहाँ आएपछि सबै विद्यार्थीले नर्सरीदेखि १२ सम्म नै पढ्न्न पाऊन् भन्ने मेरो चाहना हो। यसका लागि दुईवटा विद्यालय गाभेर दुईवटा धारमा पढाउन पनि सकिन्छ। त्यसैले नर्सरीदेखि १२ सम्म पढ्न पाउने वातावरणको व्यवस्था गर्न पहल गरिरहेको छु। हामीले कक्षा ११ र १२ मा प्राविधिक धार पढाएका छैनौँ।

    यी तहमा व्यवस्थापन, शिक्षा र संस्कृत मात्रै पढाएका छौँ। आगामी वर्षबाट अब विज्ञान पनि पढाउँछौँ। यसलाई देशकै नमुना विद्यालय बनाएर विश्वको जुनसुकै बजारमा विद्यार्थी जान सक्ने वातावरण बनाउँदै छौँ। यसमा सरकारको पनि सहयोग आवश्यक छ। अहिले शिक्षामा सरकारको पर्याप्त लगानी छैन। संविधानअनुसार निःशुल्क शिक्षा दिने भए योजना बनाएर नै विद्यालयलाई बजेट बढाउनुपर्छ। थाहा खबर डटकमबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा क्षेत्र नंं. ५ बाट ओली र ४ बाट साँवा सहित तीन जनाको नाम सिफारिस

    २०८२ पुष १९, शनिबार १७:४२ गते

    असंवैधानिक सरकार विरुद्ध एमालेको खबरदारी

    २०८२ पुष ८, मंगलवार २१:२२ गते

    विश्व ध्यान दिवसमा सुरुङ्गामा भव्य कार्यक्रम

    २०८२ पुष ६, आईतवार २३:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.