Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपाको अन्तरविरोध : प्रचण्डको ‘कोर्स करेक्सन’ कि ‘कन्फ्युजन’ ?
    राजनीति

    नेकपाको अन्तरविरोध : प्रचण्डको ‘कोर्स करेक्सन’ कि ‘कन्फ्युजन’ ?

    कनकाई खबरBy कनकाई खबर२०७७ श्रावण २५, आईतवार ११:५१ गते9 Mins Read

     तीर्थराज खरेल,

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरविरोध यति झांगिएर गएको छ कि यसको परिणति पार्टी विभाजन नै होला भनी अनुमान लगाउन सकिन्छ । पार्टीभित्रको अन्तरविरोधको अन्तर्य पत्ता लगाउन धौधौ परिरहेका बेलामा गालीगलौच हुँदै दोस्रो, तेस्रो पुस्ताका नेता हुँदै जिल्ला र तल्ला तहमा पनि अन्तरविरोध उत्रिन शुरु गरेपछि आम शुभचिन्तक र कार्यकर्तामा निराशा बढेको छ ।

    आम नेपालीले यो अन्तरविरोध व्यक्तिगत महत्वाकांक्षा र पदप्रतिको आशक्ति भनेर बुझिरहेका बेलामा अब त अन्तरविरोधलाई सिद्धान्तको लेप लगाउन पनि शुरु भइसकेको छ । व्यक्तिगत महत्वाकांक्षाबाट सृजित विवादलाई सिद्धान्तको माला पहिराउने आम नेपाली कम्युनिष्टहरुको साझा रोग हो ।

    शब्दावलीहरुको विमतिमा पार्टी विभाजनको दुश्चक्र खेप्नुपरेका दिनहरु बितेको पनि धेरै भएको छैन । फराकिलो रुपमा बुझ्दा हरेक अन्तरविरोध राजनैतिक र सैद्धान्तिक नै हुन्छन्, तथापि अहिले नेकपाभित्रको छिनाझप्टीलाई सैद्धान्तिकीकरण गरेबाट पुरानो रोगको पुनरावृत्ति भएको नै मान्न सकिन्छ ।

    तत्कालीन नेकपा (माओवादी) ले मार्क्सवाद, लेनिनवाद र माओवादको पथप्रदर्शनमा पददलित, भोकानांगा, शोषितपीडित, राज्यको मूलधारबाट अलग्गिएका, विकासको प्रवाहबाट वञ्चितीमा परेका उत्पीडितहरुका आवाज बन्ने दाबीसहित २०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्धको शुरुवात गरेको थियो ।

    जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, वर्गीय उत्पीडनमा परेका हेपिएका, दलिएका र विभेदको शिकार भई उपेक्षामा बाँचिरहेका जनतालाई मुक्ति दिलाउने उद्घोषका साथ प्रारम्भ भएको माओवादी आन्दोलन यतिबेला शान्तिपूर्ण चुनावी प्रतिष्पर्धाको राजनीतिमा रुपान्तरित भएको छ र बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्दै संसदीय व्यवस्थाको माध्यमबाट आमूल परिवर्तन हुन सक्ने विचारका साथ अघि बढ्ने उद्देश्य बोकेको जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक आधार मान्ने नेकपा एमालेसँग सहकार्य हुँदै त्यो सहकार्य नेकपामा बदलिएको छ ।

    माओवादी सशस्त्र संघर्षको लाइन छोडेर एमालेसँगको एकताप्रति प्रचण्डमा संशय उब्जेको हो ? पार्टीभित्रको अन्तरविरोध तीब्र भएको योबेलामा आफूले लिएको बाटोप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा पश्चाताप र ग्लानी भएको हो ?

    नेपाली जनताको सुखदुःखमा साथ दिने र अन्याय–अत्याचारको विरुद्धमा सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्ने कसम खाएका थिए माओवादीले जनयुद्ध शुुरु गर्दा । उनीहरुले जनयुद्ध शुरु गर्दा माओवादी नेताका गुरु मानिने तर जनयुद्धका विपक्षी मोहनविक्रम सिंहले माओवादीहरुलाई ‘क्यारिएरिस्ट’ अर्थात पदमा पुग्न अवसर खोज्ने भनेर आरोप लगाएका थिए ।

    पार्टीभित्रको अव्यवस्था, माओवादीभित्र पन्पिएको दम्भ र माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओको आदर्शबाट अघि बढेको दाबी गर्ने माओवादीको सादा जीवन र उच्च विचारको बद्ला सर्वसाधारण जनताभन्दा फरक ढंगको उच्च जीवन र व्यावहारिक पुष्ट्याइँबाट आफूले लिएको विचारलाई श्रेष्ठता प्रमाणित गर्न नसकेको माओवादीको अक्करिलो अवस्थाकै कारणले माओवादी आन्दोलन परिमार्जनसहित विश्रामको निम्ति तयार भएको कटु सत्य हो ।

    नेकपा (माओवादी केन्द्र) सांगठानिक रुपमा माओवादी आन्दोलनको मूल प्रवाह थियो । नेपाली कम्युनिस्ट आन्दोलन सारसंग्रहवाद र संशोधनवादबाट आक्रान्त भएको निष्कर्षसहित सत्ता कब्जा गर्न सुरु गरिएको त्यो जनयुद्ध विद्रोहको मूल नेता प्रचण्डकै शब्दमा माले वा एमाले र मोहनविक्रम सिंहको सुधारवादको विरुद्धमा समेत थियो ।

    उनले विर्सजनवादीको दर्जामा राखेको एमालेविरुद्ध समेत सुरु गरिएको अभियानले आज एक चक्र पूरा गरेको छ । नबुझेको कुरा के हो भने माओवादी आन्दोलन गलत थियो कि सही भन्ने प्रश्नको जवाफ दिन आज कसैलाई त्यति रुचिकर लाग्दैन । बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण आन्दोलनको बाटो अख्तियार गर्दै २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले) ले एकमना सरकार बनायो । तर त्यही बेला पुष्पकमल दाहालको नेतृत्वमा उनको पार्टीले नेपालमा जनयुद्ध उठानको अपरिहार्यतालाई औँल्याउँदै पार्टीको समग्र सैन्य योजना तय गरेको थियो ।

    प्रतिक्रियावादी सत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न अग्रसर जनयुद्धको बाटो सफल भएको हो वा त्यो बाटो सही नभएर स्वाभाविक रूपमा शान्तिपूर्ण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीसम्म आइपुगेको हो ? माओवादीले सुरु गर्ने विद्रोह झापा विद्रोहको झिल्को जस्तो अल्पकालीन होइन, सम्पूर्ण राज्यसत्ता ध्वस्त पार्ने आगोजस्तो हुने घोषणा उनीहरुले गरेका थिए ।

    दुई दशकपछि झापा विद्रोहका वाहकहरूले नेतृत्व गरेको एमालेसँग उनीहरुको एकता भयो । माओवादीको एमालेसँगको एकता दुई पार्टीबीचको सांगठानिक एकता बढी, वैचारिक एकता कम भएकै कारण आजको अवस्था देखा परेको हो ? माओवादी पार्टी लोकतान्त्रिक धारमा अवतरित भएको मानिएकोमा प्रचण्ड आज अलिक फरक ढंगबाट सोचिरहेका छन् कि भनेर शंका गर्ने ठाउँ देखा परेको छ ।

    जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेष गरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरेका थिए । त्यसलाई उनले जनताको बहुदलीय जनवादको रुपमा प्रस्तुत गरे ।

    बहुदलीय प्रतिष्पर्धालाई स्वीकारी संसदीय व्यवस्थामा भाग लिएर क्रान्तिको सहजीकरणका लागि क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जान सक्छन् भन्ने जबजको सार थियो । क्रान्तिपूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ र यसरी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा प्रतिक्रान्तिकारीबाट हुने अवरोध हटाउन बल प्रयोग गर्नुपर्ने हुन्छ भन्ने भण्डारीको जबजको सार हो ।

    कम्युनिष्ट आन्दोलनले धक्का खानुपर्ने मूल कारण सर्वहारा अधिनायकत्वप्रतिको गलत बुझाइ नै हो भन्ने उनको सोचाइ थियो । सर्वहारा अधिनायकत्वको प्रयोग गर्दा कम्युनिष्ट पार्टीको विपक्षमा कानुनतः कुनै शक्ति नहुनु र पार्टीभित्रको नेतृत्वको सोचाइको विरुद्धमा उभिन सक्ने गरी अन्तरपार्टी जनवादको अति कम अभ्यास हुने परिपाटी हुनुले कम्युनिष्ट मुलुकमा व्यक्तिगत पूँजीवादको ठाउँमा राजकीय पूँजीवादको विकास हुने खतरालाई कमरेड मदनले रसिया, चीन र पूर्वी युरोपको उदाहरण दिँदै प्रष्ट पारेका थिए ।

    प्रतिक्रान्तिको पक्षमा उभिएर जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई ध्वस्त गर्न चाहने विध्वंशकारी शक्ति बाहेक अन्य वर्ग र समुदायमाथि अधिनायकत्व लादेर मात्र क्रान्तिको निरन्तरता हुनसक्छ भनी ठान्नु विश्व कम्युनिष्ट आन्दोलनका इतिहासका भूलबाट सिक्न नचाहनु हो भन्ने उनको ठम्याइ थियो ।

    कम्युनिष्ट आन्दोलन र क्रान्तिका उच्चत्तम उपलब्धीलाई गैरकम्युनिष्टहरुले उपयोग गरी आफ्ना सिद्धान्त र समाज विकासका विविध क्षेत्रमा प्रयोगमा ल्याए भने पूँजीवादले विकास गरेका श्रेष्ठ विचार र सिद्धान्तलाई जनताको हितको निमित्त कम्युनिष्टहरुले आत्मसात गर्नुपर्ने विचार मदन भण्डारीको थियो ।

    कम्युनिष्टहरुले पनि आफू जनताबाट श्रेष्ठता कायम भएको पुष्टी गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र जनताबाट अनुमोदित भएपछि मात्र कम्युनिष्टले शासन गर्नुपर्छ भन्ने उनको स्पष्ट निष्कर्ष थियो । माक्र्सवाद जडसूत्र होइन, लेनिनको भाषामा मार्क्सवाद गतिशील सृजनात्मक विज्ञान हो । मार्क्सवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ ।

    जर्मन कवि गोथे भन्छन्–जीवनको रंग हरियो हुन्छ, सिद्धान्तको रंग खैरो हुन्छ । गोएथेको यो विचारलाई फ्रेडरिक एंगेल्सले आफ्ना रचनामा उद्धृत गरेका थिए । सिद्धान्त जीवनका लागि हो तर जीवन सिद्धान्तका लागि होइन । जीवन अघि बढ्दै जान्छ र त्यसलाई सिद्धान्तले पछ्याउँदै जान्छ ।

    तसर्थ मार्क्सवादद्वारा अनुप्राणित सृजनात्मक सिद्धान्तहरु फगत बन्द कोठाको खोपीमा राखिने मात्र पुजिने अलौकिक वस्तु हुन सक्दैनन् । ती त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ भन्ने भण्डारीको स्पष्टोक्ति थियो । क्रान्तिपूर्व क्रान्ति सम्पन्न गर्न सघाउ पुग्ने गरी क्रान्तिकारी सरकार बनाउन सकिन्छ । सुधारका काम गर्दै सामाजिक संघर्ष तथा तलको संघर्षलाई माथिको संघर्षसँग जोडी बलपूर्वक फड्को मार्ने र जनवादी क्रान्ति सम्पन्न गरी समाजवादमा प्रवेश गर्ने जनताको बहुदलीय जनवादको मूल मर्म हो । तर आजको नेकपा जनताको बहुदलीय जनवाद सम्बन्धमा स्पष्ट छैन ।

    सरकार गिराउने, पार्टी फुटाउने अभ्यास विगतमा कम्युनिष्टहरुले पनि गरिसकेकै हुन्, तर फल के पाए ? उही निराशा, उही पेलाइ र उही विसर्जन । केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन भनेर निष्कर्ष निकाल्ने हो र पार्टी अस्तव्यस्त भयो भनेर भन्ने हो भने दोष प्रधानमन्त्रीको थाप्लोमा मात्र जाँदैन ।

    सरकारले गरेका सबै काम प्रशंसनीय छन् र जनपक्षीय छन् भनेर कसैले पनि दावी गर्न सक्दैन, तर प्रम ओलीले प्रचण्डलाई सत्ता हस्तान्तरण गरेनन् भने नेकपाको एकीकृत भविष्य धरापमा पर्ने राजनीतिक अवस्था विकसित हुँदैछ ।

    प्रचण्ड, माधव, झलनाथ र नारायणकाजीको समीकरणले नेकपाभित्रको हिजोको शक्ति सन्तुलनलाई परिवर्तन गरेको छ । यस्तो समीकरणको प्रभाव देशभित्र मात्र नभएर प्रवास र विदेशमा पनि फैलिएपछि नेकपाको भविष्यमा अनेकौं प्रश्नहरू जन्मिन थालेका छन् ।

    बाह्य शक्तिको आवरणमा ओलीलाई मनोवैज्ञानिक त्रासमा राख्ने र नेकपाको अन्तरिम विधानको खिलाफ हुने गरी अल्पमत र बहुमतको खेलमा प्रधानमन्त्रीको भविष्य सुरक्षित गर्ने प्रचण्डको प्रयासले आगामी केही महिनाभित्रै देखिने गरी नेकपामा ठूलो विभाजनको बीउ रोपिदिएको छ ।

    दृश्य तथा अदृश्य अनेकौं शृंखलाहरू पार गरेर पार्टी एकतासम्म पुगेको नेकपाको निर्माणबाट पूर्वएमालेलाई उल्लेख्य लाभ थिएन, तर माओवादीलाई भने एकताको बहुआयामिक लाभ थियो ।

    तर, एकताको सन्देश जिल्लास्तरसम्म पनि नपुग्दै र कतिपय जनवर्गीय संगठनहरु केन्द्र, प्रदेश र स्थानीय तहमा नबन्दै प्रचण्डको कदम शक्ति आर्जनतर्फ र घाम जत्तिकै देखिने गरी अस्तित्वमा रहेको पूर्वएमालेभित्रको अन्तरविरोधमा खेलेर केपी ओलीलाई एक्ल्याउने तर्फ मोडिएकोले अहिलेको विषम परिस्थिति आएको ओली पक्षको बुझाइ छ ।

    ‘राज्यसत्ता बाहेक अरू सबै भ्रम हो’ कमरेड माओको उद्धरण आत्मसात गर्दै दीर्घकालीन सशस्त्र संघर्षको थालनी गर्ने पुष्पकमल दाहाल नेतृत्वको पार्टीले अन्ततः आफ्नो जनयुद्धको तेइसौँ वार्षिकोत्सवकै हाराहारीमा नेपालमा माओवादको कुशलतापूर्वक अवतरण गरेको थियो ।

    आफ्नो पार्टीबाहेक अस्तित्वमा रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादको हिमायती ठहर गर्दै बाइस वर्षअघि दाहालले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यका साथ दीर्घकालीन जनयुद्ध सुरु गरेका थिए ।

    अन्ततः बाइस वर्षपछि उनले सर्वप्रथम आफ्नै विगतका निष्कर्षहरूमा गम्भीर आत्मसमीक्षा गरी ‘कोर्स करेक्सन’ गरेको आभास दिलाएका थिए ।

    तर, आज फेरि रि–कोर्स करेक्सनको चरणमा उनी पुगेका हुन् वा यो केबल आडम्बर मात्र हो ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जन्मको राजनीतिक क्षेत्रफल जति नै ठूलो भए पनि यसको बहुआयामिक प्रभावको जोडघटाउमा गल्ती भएमा हुने पार्टी विभाजन नै हो, जसको तयारी बडो धुमधामका साथ भइरहेको आभास हुन्छ ।

    सामान्यजनको बुझाइमा प्रचण्डले भारतको साथ लिएर ओलीलाई विस्थापित गर्न र प्रधानमन्त्री बन्न चाहन्छन्, यसको पछि अर्कोपटक कम्युनिष्टको बहुमत नआउने मनोविज्ञानले काम गरेको हुन सक्छ र केपी ओलीको व्यक्तित्वको बढोत्तरी भएको भनी एक प्रकारको चिन्ता पनि हुन सक्छ ।

    अचम्म लाग्छ, हुबहु त्यही प्रयोग दोहोर्‍याउन प्रचण्ड फेरि तम्सिएका छन्, जुन प्रयोग उनले केही वर्ष अघि गरेका थिए । यो इतिहासको संयोग हो कि ठट्टा, प्रचण्डको दोस्रो प्रयोगको निशानामा अहिले पनि केपी ओली नै छन् । ओली कति राष्ट्रवादी हुन्, यसको मापन गर्न गाह्रो छ, तर उनी निश्चय नै प्रचण्डभन्दा कम राष्ट्रवादीचाहिँ होइनन् ।

    नयाँ संविधानको निर्माणपछि राजनीतिक रूपमा माओवादी आन्दोलनको औचित्य समाप्त भएको थियो । जबकि, त्यसको वैचारिक विघटन धेरै अघि नै भइसकेको थियो । पूर्वएमालेसँग भएको पार्टी एकतापछि यसको विधिवत विघटन भयो ।

    तर, प्रचण्डको केही दिनका अभिव्यक्तिको गम्भिर अध्ययन गर्दा उनी आजको नेपालको अवस्थालाई चीनको सन् १९५८ पछि चिनियाँ कम्युनिष्ट पार्टीमा भएको दुई लाइन संघर्षसँग मिलेकोे छनक दिन्छन् । उनी अब नेपाल समाजवादी बाटोमा कि पूँजीवादी बाटोमा भनेर प्रश्न गर्छन् ।

    महान सर्वहारा सांस्कृतिक क्रान्तिअघिको ‘ग्रेटलिप फर्वार्ड’ को अवस्था हो अहिले नेपालमा ? हामी साँच्चै नै समाजवादको चरणमा छौं ? अर्को पक्षले क्रान्तिको विसर्जन गर्न लागेको र दलाल नोकरशाही पूँजीवादको फूलबारी बनाउन लागेको उनको आरोप छ ।

    तर, प्रचण्डलगायत सबै प्रिय ‘क्रान्तिकारी’ नेताहरुले बुझ्नुपर्ने कुरा के हो भने अहिलेको नेपालको सत्ता कम्युनिष्ट पार्टीको होइन, सरकार मात्र कम्युनिष्टको हो । नेकपा कति मात्रा र तौलको कम्युनिष्ट हो भन्ने अर्कै प्रश्न हो ।

    माओवादीको विलय एमालेसँग भएपछि प्रचण्डको राजनीतिक व्यवस्थापन स्थायी भएको मानिएको थियो । तर, आजको कम्युनिष्टहरुको दुई तिहाइको शक्तिलाई कम्युनिष्ट शासन स्थापनाको रुपमा बुझेमा मुलुकमा फेरि रक्तपात र हिंसाको शुरुवात हुनेमा शंका छैन ।

    नेकपा विभाजनको दुश्चक्रमा फस्यो र मुलक अस्थिरताको भुँवरीमा रुमलिन अभिषप्त भयो भने त्यसको सम्पूर्ण दोष र अपजस नेताहरुमा जान्छ, कार्यकर्तामा जाँदैन । एकता जोगियो भने त्यसको जस नेताहरुलाई मात्र जाँदैन, एकता रक्षा गर्न आम कार्यकर्ता र शुभचिन्तकहरुको दबाब र शुभेच्छाको पनि अहम् भूमिका हुनेछ ।

    (झापा  कनकाई नगर निवासी खरेल प्राध्यापन पेशामा आवद्ध छन्)साभार ः अनलाइन खबर बाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.