सन्दर्भ : ११६औं देवकोटा जन्मजयन्ती
हुन त एकै व्यक्ति धेरै पटक जन्मेको कसैले विश्वास गर्दैन । महान प्रतिभा नेपाली भाषा-साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक जन्म एक पटक भयो । १९६६ साल कात्तिक २७ गते लक्ष्मीपुजाका दिन पण्डित तिलमाधव र अमर राज्यलक्ष्मीदेवीका तेस्रो छोराका रूपमा धोबीधारा, काठमाडौंँमा जन्मेका देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले पशुपति आर्यघाटको धर्मशालामा दिवङ्गत भए । उनको न्वारानको नाम तीर्थमाधव भए पनि बुबाआमाले लक्ष्मीको प्रसाद सम्झी लक्ष्मीप्रसाद राखेका थिए, तर लक्ष्मीप्रसाद नाम राखिए पनि उनी वास्तवमा सरस्वतीप्रसाद भए । देवकोटालाई पैसाको सदैव समस्या परेको थियो । उनको जीवन पैसाको अभावमा छट्पटीमै बित्यो ।
नेपाली भाषाका महान नाटककार बालकृष्ण समले देवकोटा तीनचोटी जन्मेको बताएका छन्– ‘शाकुन्तल’ महाकाव्यसँग, ‘मुनामदन’ खण्डकाव्यसँग र ‘पागल’ कवितासँग । भारतका महान लेखक राहुल सांकृत्यायनले देवकोटाको अति उच्च मूल्याङ्कन गर्दै उनलाई तीन भारतीय महान् लेखकहरूको समुच्च रूप भनेका छन् । भारतीय महापण्डित राहुल सांकृत्यायनले भनेका थिए– ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवावतारका रूपमा लिएको छु ।’ सांकृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा साहित्य, कला, भाषा, धर्म र दर्शनका मर्मज्ञ थिए । भनिन्छ– उनी १४ वटा भाषामा बोल्न सक्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिक मार्फत् जनसमक्ष पनि आए । उनी सफल साहित्यकार मात्र नभएर मानवीय करूणा, सहयोग, सद्भाव र ममताका खानी थिए भन्ने कुरा उनका बारेका चर्चा र किंवदन्तीहरू बताउँछन् । नेपाली भाषाका नाट्यसम्राट बालकृष्ण समले महिमामण्डित गरेका तीन काव्य नेपाली वाङ्गमयका महान कृति हुन् । नेपाली भाषा र साहित्यका महाकवि देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदान उच्च कोटिको मानिन्छ । विशेषगरी मुनामदनका लागि उनी सुप्रख्यात छन् । नेपाली वाङ्गमयका एक अद्वितीय र अनुपम प्रतिभाका रूपमा लक्ष्मीप्रसाद देवकोटाको अभ्युदय नेपाली साहित्यमा एक ऐतिहासिक अध्यायका रूपमा रहेको छ ।
राणा शासनको कालरात्रीमा धरती उज्यालो बनाउने दीपक थिए । चेतनाको दीप प्रज्ज्वलित गर्ने चिराग थिए उनी । देवकोटा बहुमुखी प्रतिभाशाली र विराट व्यक्तित्वका धनी महान लेखक थिए, जसले आफ्नो ५० वर्षको छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन । उनले लेखेको मुनामदन आज पनि नेपालमा धेरै बिक्री हुने पुस्तकको सूचीमा पर्दछ । त्रिभुवन विश्वविद्यालय स्थापना प्रमुख परिकल्पनाकार र पहलकर्ता देवकोटा शिक्षामन्त्री समेत भएका थिए ।
देवकोटामा ब्रिटिस कविहरू जोन किट्स्, पी.बी.शेली र विलियम वर्ड्स्वर्थको प्रभाव परेको थियो । उनी बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे, उनी सदैव कल्पनामा हराइरहेका पाइन्थे । रूपरेखा, भानु, रचना जस्ता साहित्यिक पत्रिकाले देवकोटाका विशेषाङ्क निकालेर देवकोटालाई चिनाए र उनले लगाएको ऋणको थोरै भए पनि तिर्न कोशिस गरे ।
भनिन्छ – देवकोटामा कालिदास, भवभूति र श्रीहर्षको छनक पाइन्छ । सर्वसाधारण नेपालीका नजरमा देवकोटा मुनामदनका श्लोकहरूमार्फत नेपाली समाजकै लोकप्रिय कवि दरिन्छन् ।
मुनामदनमा देवकोटाको जीवनदर्शन मानवतावादी छ । मानिसको उपकार, सेवा र भलाइमा विश्वको भलाइ छ भन्ने उनको सन्देश छ । उनले मानवताका लागि अमर सन्देश दिने कविताहरू रचना गरे ।
अर्को जन्म मानिएको “पागल” कवितासँग हो ।
राणा शासनको निरङ्कुश शासनका बेला एकातिर गरिबीको मार अर्कोतिर ऐशआरामको चमत्कार देख्दा देवकोटा पनि क्रान्तिकारी बन्न बाध्य बनेका थिए र उनी क्रान्तिकारी बनेका पनि थिए । वर्गीय असमानताले उनको हृदय छियाछिया हुन्थ्यो । ‘पागल’ कवितामा उनले तत्कालीन विसङगति, शोषण, अन्याय, पाखण्डप्रति विद्रोह बोलेका छन् । इलामेली कवि विष्णु नवीनले ‘सत्य कुरा बोल्ने पागल हुन्छ वा सत्य बोल्न पागल हुनुपर्छ’ भने झैं देवकोटा पनि दुनियाँका नजरमा पागल लाग्थे ।
कट्टर देशभक्त आफ्नो देश, पूर्वीय सभ्यता, संस्कृति, भाषा र परम्परागत वैभवप्रति उनी अत्यन्त आस्था प्रकट गर्छन् । “शाकुन्तल” महाकाव्य कालिदासकृत शास्त्रीय संस्कृत नाटक “अभिनव शाकुन्तलम्” बाट प्रेरित रहेको मानिन्छ । यसमा कल्पनाको उडान, विराट भावभूमि, व्यापक पटकथा र आकर्षक भाषाशैली पाइन्छ । पाँच दर्जनभन्दा बढी कृतिको रचना गरी नेपाली साहित्य भण्डारमा अत्युच्च योगदान पुर्याउने महाकवि देवकोटाले रचना गरेका शाकुन्तल, सुलोचना, महाराणा प्रताप, प्रमिथस, पृथ्वीराज चौहान, वनकुसुममध्ये सर्वोत्कृष्ट महाकाव्यमा शाकुन्तल नै हो । प्रस्तुत महाकाव्यमा देवकोटाले परोक्ष शैलीमा सामाजिक आदर्शको सूचना दिएका छन् । राजा दुष्यन्तले शकुन्तलालाई गरेको तिरस्कार देखाएर देवकोटाले आफ्नो देशका शासकलाई सतर्क गराएका छन् । उनले किसानको नयाँ प्रसङ्ग जोडी सरलता र अतिथि सत्कार गर्ने नेपाली जातीय परम्पराको राम्रो चित्रण गरेका छन् । दुष्यन्त र शकुन्तलाको वादविवाद, शिष्य शार्ङ्गरव र दुष्यन्तको भनाभन, विश्वामित्रको तपोभङ्ग गर्न उद्यत स्वर्गलोक र त्यहाँको विलासीपन, शकुन्तलाको सरलता, शकुन्तलालाई घर पठाउने क्रममा कण्व ऋषिले दिएको मार्मिक अभिव्यक्ति आदि सबै जसो प्रसङ्गभित्र नेपाली सामाजिकता झल्किएको छ ।
महाकवि देवकोटा स्वदेश तथा विदेशका नेपाली भाषा–साहित्यप्रेमीहरुको लागि आजपर्यन्त आकर्षणका केन्द्र बनिरहेका छन् । सदासर्वदा नेपाली साहित्यकाशमा उज्ज्वल नक्षत्रको रूपमा चम्किरहने देवकोटा महाकाव्यकार हुन्, महाकवि हुन् र नेपाली जनताका हृदयबाट कहिले पनि नहराउने उच्चस्तरीय प्रतिभा हुन् । उनले अझै कति शताब्दीसम्म नेपाली भाषीमाझ अमिट छाप छोडिरहनेछन् ।